काठमाडौं, १ फागुन। 

चुनाव लगत्तै पार्टी एकता गर्ने उद्घोष गरेका एमाले र माओवादी केन्द्रले चुनाव सकिएको झन्डै तीन महिनापछि पार्टी एकता गर्ने सहमति गरेका छन् ।नेतृत्वको विषयमा कुरा नमिल्दा एमाले र माओवादी केन्द्रको एकता  नहुने होकी भन्ने विषयमा अन्यौल बढेको थियो । सोमबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ललितपुरको मानभवनमा माओवादी निकट एक व्यापारीको घरमा भएको घण्टौँको छलफलमा पार्टी एकताको खाका तय भएको हो ।

दुई अध्यक्षबीच द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएपछि पार्टी एकीकरण हुने पक्का भएको हो । भर्खरै सम्पन्न भएको तीन तहको चुनावमा गठबन्धन गरेर चुनावमा गएको एमाले र माओवादी केन्द्रको बहुमत रहेको छ । छलफलमा सरकार गठन र पार्टी एकीकरण सँगसँगै अगाडि बढाउने सहमति भएको माओवादी निकट नेताले जानकारी दिनुभयो ।

यस्ता छन् एमाले माओवादी एकीकरणका सहमति

प्रतिनिधिसभा चुनावमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनको प्रदेश र राष्ट्रियसभामा पनि बहुमत रहेको छ । बहुमत प्राप्त दलको नेता भए पनि यी दुई पार्टीबीच एकता भैनसकेकोले ठूलो दलको नेता प्रधानमन्त्री हुने प्रावधान छ । त्यसै अनुसार पहिला प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने सहमति दुई दलका नेताले गरेका छन् । संघीय नेपालको पहिलो प्रधानमन्त्री केपी ओली हुँदा गठबन्धनको नभएर बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने ओलीले तयारी गर्नुभएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको नेतृत्व प्रचण्डले गर्ने । साढे २ वर्ष सरकारको नेतृत्व ओलीले गरेपछि प्रधानमन्त्री अर्को साढे २ वर्षका लागि प्रचण्ड हुने र एकीकृत पार्टीको नेतृत्व केपी ओलीले गर्ने वा दुवै जना सह–अध्यक्ष हुने ।

  • एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने । अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउने ।
  • स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने ।
  • जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै टुंगो लगाउने अन्य विषयलाई महाधिवेशनबाट टुंगाउने ।
  • पार्टी एकीकरणलाई भव्य बनाउने, एकीकरण कार्यक्रममा एमाले र माओवादीका ५ लाख कार्यकर्ता उतार्ने ।

दुई पार्टीका अध्यक्षबीच सोमबार भएको यो छलफलपछि दुवै अध्यक्षले आन्तरिक छलफल पनि गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले ओलीसँगको सहमति बारे माओवादी नेता जर्नादन शर्मा र रामबहादुर थापासँग सोमबार नै छलफल गर्नुभएको थियो भने केपी ओलीले पनि आफूनिकट केही नेतासँग छलफल गर्नुभएको थियो । छलफललाई मूर्त रुप दिनको लागि मंगलबार पनि दुई अध्यक्षबीच छलफल हुने एमाले माओवादीका नेताहरुले जनाएका छन ।

संसदमा पहिलो र तेस्रो स्थान रहेको पार्टी एकीकरणको कानुनी प्रावधान 

असोज १७ गते काठमाडौंको राष्ट्रियसभा गृहमा भएको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले कानुनी अडचनका कारण एउटै पार्टी भएर चुनावमा जान नसकेको घोषणा गरेका थिए । अहिले पनि एमाले र माओवादीलाई पार्टी एकीकरण गराउन कानुनी अडचन फुकाउन नै पर्छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७४ का प्रावधान पूरा गरेपछि मात्रै दुई पार्टी कानुनी रुपमा एउटै हुनेछन् ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरु एक–आपसमा  एकीकरण हुन सक्ने व्यवस्था गरिएको छ । दफा १० अनुसार पार्टी एकता गर्ने सम्झौता भएको ४५ दिनभित्रमा एकीकृत पार्टीको विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ ।

अर्को बाटोबाट पनि पार्टी एकीकरण गर्न सकिने ऐनमा उल्लेख गरिएको छ । जुन व्यवस्था अनुसार केन्द्रीय समितिबाट अख्तियार पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिको निर्णयको आधारमा पनि निवेदन दिन सकिन्छ । यसरी निवेदन दिँदा कुन राजनैतिक दल कुन दलमा गाभिने र एकीकृत पार्टीको नाम के हुने भन्ने विषय स्पष्ट खुलाइएको हुनुपर्ने व्यवस्था रहेको छ ।

आवश्यक जाँचबुझ गरेर प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र दिनेछ । त्यसलगत्तै राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनि रुपमा दुई दलको हैसियत एकीकृत नयाँ पार्टीको हैसियतमा हुनेछ । एकीकरण हुन चाहने दलले प्रक्रिया पूरा गरेमा आयोगले ‘फास्ट ट्रयाक’बाट हप्ता दिनभित्र पनि निर्णय गर्न सक्ने भएकाले एमाले र माओवादी ‘नेपाल कम्युनिष्ट पार्टी’को हैसियतमा फागुनको दोस्रो हप्तासम्मा सरकारमा सहभागी हुन सक्ने देखिएको छ ।

नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’को अध्यक्ष वा सहअध्यक्ष के मा सहमति गर्ने भन्ने विषयमा मंगलबार दुई पार्टीका अध्यक्ष छलफलमा बसेर अन्तिम निर्णय लिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here