काठमाडौं , २ फागुन।

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

मानभवनस्थित एक घरमा जारी बैठकले पार्टी एकताबारे ठोस निर्णय गर्ने बताइएको छ ।

एकता संयोजन समितिको बैठक अघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टाछुट्टै बैठक बसेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले आआफ्नो पार्टीमा गरेको ब्रिफिङ अनुसार लगभग सहमति जुटेको छ ।

पार्टी एकतापछि दुई नेताको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

नेताहरुलाई ब्रिफिङ गर्दा ओलीले द्वि-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डले सहअध्यक्ष भनेका छन् ।

द्वि-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

आफूहरुबीच आलोपालो प्रधानमन्त्री हुने लगभग सहमति भएको दुबै नेताको ब्रिफिङ छ । साथै प्रधानमन्त्री नभएको नेताले पार्टी बैठकहरुको अध्यक्षता गर्नेछन् ।

माओवादीका एक नेताले भने, ‘दुई ढाई वर्षभित्र महाधिवेशन हुन्छ ।’

आजको बैठकले पार्टी एकता गर्ने सहमति भएको घोषणा गर्नसक्छ । साथै विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here