Uncategorized

बुद्धिजीवी किन मन पराउँदैनन् प्रधानमन्त्री ओली ?

धेरै नेतामा जस्तो ओलीमा पनि एउटा कमजोरी छ– आफ्नो आलोचनालाई सहज रुपमा नलिने। उनी आफ्नो आलोचना गरिएको सानोतिनो सन्दर्भलाई पनि निकै ख्याल गरिरेहका हुन्छन्। पत्रिकामा प्रकाशित समाचार, लेख तथा सडकका भाषण गरिएका विषयमा समेत अपडेट भइरहेका हुन्छन्। र, सार्वजनिक कार्यक्रम तथा संसद्‌मा बोल्ने अवसर पाउँदा त्यसको प्रतिवाद गर्छन्।

नेपाली बुद्धिजीवीका बारेमा पनि ओलीको खासै सकारात्मक धारणा छैन। उनको अभिव्यक्ति सुन्दा उनलाई बुद्धिजीवी पटक्कै मन नपर्ने अनुमान गर्न गाह्रो पर्दैन। कारण, उनले बुद्धिजीवीबारे सकारात्मक बोलेको सुन्न मुस्किल छ।


advertisement

उनी बुद्धिजीवीलाई कहिले ‘फर्सी / फर सी’ सँग तुलना गर्छन् भने, कहिले मुसासँग। उनी बुद्धिजीवीलाई कठैबरी, माया लाग्छ भन्ने जस्ता व्यंग्य पनि प्रयोग गर्छन्। सरकारबाहिर कुनै अमुक दलको अध्यक्षको हैसियतले मात्रै होइन, प्रधानमन्त्री भइसकेको अवस्थामा पनि उनको पूर्वाग्रह जारी नै छ। केही दिनअघि पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले बुद्धिजीवीहरुलाई विवेक कहाँ लगेर कतिमा बन्धक राखेको भन्न समेत भ्याए।

पहिलोपटक प्रधानमन्त्री हुँदा उनले बुद्धिजीवीले आफूलाई हैरान बनाएको सार्वजनिक रुपमै भनेका थिए। ०७३ जेठ ६ गते राजधानीमा आयोजित प्रेस चौतारी नेपालको महाधिवेशन उद्‌घाटन समारोहमा सम्बोधन गर्दै त्यतिबेला समेत प्रधानमन्त्री रहेका ओलीले आफ्ना कुराले बुद्धिजीवीहरु छटपटाएको बताएका थिए। उनले थपेका थिए– बुद्धिजीवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी। उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ।

त्यसपछि पनि उनले बुद्धिजीवीको आलोचना गर्न छाडेका छैनन्। नेपाल लाइभले उनै ओलीको केही भाषणमा प्रयोग भएको बुद्धिजीवीको प्रसंगहरुलाई सम्झिने प्रयास गरेको छ:

सन्दर्भ एकः 
तत्कालीन नेकपा एमालेले २०७३ फागुन २१ देखि ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ सुरु गरेको थियो। तर, अभियानकै क्रममा फागुन २३ मै मलेठ घटना घट्न पुग्यो। मधेस विद्रोही मनोदिशामा रहेको बेला एमालेले त्यसरी कार्यक्रम गरेर मधेसलाई झनै उत्तेजित बनायो भनेर आलोचना भयो। त्यसरी आलोचना गर्ने बुद्धिजीवीलाई ओलीले आलोचना गरे। सोही अभियानपछि चैत ९ गते काठमाडौं आयोजित धन्यवाद कार्यक्रममा ओलीले बुद्धिजीवीलाई आलोचना गरे। कार्यक्रममा उनले भनेका थिए–

‘हामी दुई नम्बर प्रदेशमा अभियान चलाउँछौं। अझ प्रभावकारी ढंगले सञ्चालन गर्छौं। एमालेको अभियानलाई पस्न दिन्नौं भन्ने अराजनीतिक, अलोकतान्त्रिक अपराधिक जुन प्रवत्ति छ, लोकतन्त्रमा त्यो प्रवृत्ति मान्य र स्वीकार्य हुन सक्दैन। केही ‘सो कल्ड’ बुदधिजीवीहरु, अरुले खुवाइदिएको ट्याब्लेटले बोलेका कुरा हुन्, तिनीहरु भन्ने गर्छन्– ‘नजाऊ भनेपछि किन जाने?’

बिचराहरु! ती बुद्धिजीवीहरु देखेर माया लाग्छ। त्यसैकारण मैले भनेको हो, बुद्धिजीवी बिग्रियो भने ‘श्रीमान गम्भीर’ लेख्न थाल्छ। त्यही बुद्धिजीवी सप्रियो भने ‘यो नेपाली शीर उचाली’ भनेर लेख्न थाल्छ। हेर्दाखेरी कोहीकोही बुद्धिजीवी ‘फर सी’ मात्रै छन्।

एउटा अमेरिकनले यहाँ रत्नपार्कमा ठूलो फर्सी देखेछ। अनि किन्न खोजेछ। के हो यो भनेपछि अब पम्पकिन भन्ने त बेच्ने मान्छेलाई थाहा थिएन; फर्सी भन्यो। उसले भन्यो– ए ‘फर सी’।

उसले लिएर गयो। हावासावा नआउनेगरी जतनसँग सिसाको फ्रेममा राखेछ। अलि पछि बाहिरैसम्म गन्ध आउन थाल्यो। के हुन थाल्यो भनेर यसो छोइहेरेको भित्रभित्र खत्तमै भइसकेछ। अनि उसले बुझेछ, एज! मलाई भन्न त भनेको थियो (फर सी), मैले छोएँ। छोएपछि प्वाल पर्‍यो। प्वाल परेपछि खत्तम हुँदो रहेछ। त्यसकारण उसले फर सी  (हेर्नका लागि) भनेको रहेछ भन्ने सोचेछ।
नेपालमा पनि ‘फर सी’ बुद्धिजीवीहरु छन्। फर्सी बुद्धिजिवीहरु चलाउनका काम छैन, छाड्दिनुहोस्।

ती बुद्धजिवीहरु कहिले स्वस्तीश्री गिरिराज चक्र चुणामणी लेख्छन्, कहिले श्रीमान गम्भीर नेपाली लेख्छन्। त्यो मजदूर किसानले लेखेको होइन है। त्यो बुद्धिजिवीले लेखेको हो, तपाईंहरुले याद गर्नुस् है। स्वस्तीश्री गिरिराज चक्र चुडामणी नरनाराणात्य विविध विरुदवली…तपाईँहरुले बुझ्नुभो यो के भनेको? सबै पढेलेखेकै हुनुहुन्छ यहाँ तर, बुझ्नुभएन। भनेपछि, यो सानोतिनो बुद्धिजिवीले लेखेको होइन।’

सन्दर्भ दुईः
२०७५ बैशाख १० गते तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजीवीको आलोचना गर्न भ्याए। त्यहाँ उनले बुद्धिजीवीलाई मुसासँग तुलना गरे। उनले भने–

‘जो लेखेर जीविका चलाइरहेका छन्, त्यो राम्रो हो। तर, कतिपयले लेखेको देखेर मलाई नमज्जा लाग्छ। मुसाले दाँतमा धार लगाइराखेन, केही काटिरहेन भने त्यसको दाँत लामो हुन्छ। त्यसले चाहिएको बेला केही काम गर्दैन। त्यो बांगिएर काम नलाग्ने हुन्छ। त्यसैले मुसाले दाँतमा धार लगाउन, छोट्याउन, तेजिलो बनाइराख्नका लागि काटिरहनुपर्ने हुन्छ।

त्यसले तपाईंको घरको कपडा काट्छ। तर, नोक्सान गर्न भनेर काटेको होइन। बिचरा उसले आफ्नो दाँतमा धार लगाउँछ। थाङ्ना कपडा काटिदिए हुन्थ्यो नि, माइती जानेको साडी काटिदिन्छ, ससुराली जानेको सुट काटिदिन्छ। त्यसले बुझ्दैन किनकि त्यो मुसा हो।

तर बुद्धिजीवीले दाँतमा धारै लगाउनको निम्ति देशलाई नोक्सान पार्नेगरी किन धार लगाउने? रारा ताललाई महेन्द्रताल भन्दिएको छ। महेन्द्र जन्मिनुभन्दा लाखौं करोडौं वर्षअघि रारा ताल थियो। कठैबरी।

विकासको कुरा गर्ने केपी ओलीले? विकासको कुरा त महेन्द्रले पनि गरेका थिए। यो महेन्द्रपथमा गएकै हो। अचम्म लाग्छ। खालि सहानुभूति राख्न सकिन्छ त्यस्ता बुद्धिजीवीलाई।

बाबुआमाले कस्ता राम्रा-राम्रा तर्क गर्ने, राम्रो-राम्रो विश्लेषण गर्ने, कस्तो विद्वान बनाउँला भनेर कलेज र विश्वविद्यालयमा छोरो पठाए। छोरो त विकास भनेको महेन्द्रीय विकास पो हुन्छ, विकास भनेको महेन्द्रपथ भयो पो भन्छ। सर्टिफिकेट लिएको छ विश्वविद्यालयको तर भन्छ त्यसो। अब बाआमा पनि छक्क पर्ने भएनन्। हेर खर्चको नाश!’

सन्दर्भ तीनः
गत साउन ७ गते काठमाडौंको सभागृहमा आयोजित पुष्पलालको ४० औं स्मृतिसभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गरेका थिए। झण्डै ७० मिनेट बोलेका उनले धेरैजसो समय कांग्रेस, डा केसी र उनका समर्थकलाई गाली गर्न भ्याए। त्यही घानमा परे बुद्धिजीवीहरु। उनले दुईवटा प्रसंगमा बुद्धिजीवीको आलोचना गरे। उनले भनेका थिए–

‘केहीकेही विद्वान बुद्धिजीवीहरु देखेर फेरि पनि माया लाग्छ मलाई। कठैबरी! घरपरिवारले तिनका लेखहरु पढेर कति जिस्काउँदा हुन्। कति धिक्कार्दा हुन्? माया पनि लाग्छ तिनको मलाई। तिनको बाध्यता के हो सधैं नराम्रै कुरा लेख्नुपर्ने? अचम्म लाग्छ।

म बहसका लागि उहाँहरुलाई आग्रह गर्न त सक्दिनँ। किन सक्दिनँ भने उहाँहरु धेरै विद्वान हुनुहुन्छ। उहाँहरुले धेरै ठाउँमा आफ्नो विद्वताको बखान पनि गर्नुभएको छ। अहिले मैले भनेका कुराहरुलाई उहाँहरुले उखान टुक्का भन्नुहुन्छ।

यत्रायत्रा विद्वानलाई मैले कसरी बोलाउनु? आमन्त्रण गरौं बहसका लागि? तर यदी उहाँहरु ईच्छा गर्नुहुन्छ भने बहसका लागि आउनुभए हुन्छ। हामी बहसका लागि तयार छौं।

केही महान बुद्धिजीवी देखेर अचम्म लाग्छ। कठैबरी! यतिसाह्रो विवेक कहाँ लगेर कतिमा बन्दक राखेको? कसरी बन्दक हुन्छ, यति साह्रो विवेक? सही कुरा त अलिकति गर्नसक्नु पर्‍यो नि!’

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: