डोलराज वि.क
पाल्पा, ३० असोज । नेपाल एक कृषि प्रधान देश हो । कृषिका लागि नेपालमा चाहिने हावा पानी सुहाँदो छ । हावा, पानी, ठाँउ र माटो अनुसार यँहाका धेरै जिल्लाहरुलाई पकेट क्षेत्रको रुपमा समेत विकसित गरिएको छ । पाल्पा जिल्लालाई पनि कृषिमा धेरै जनघनत्व आत्मनिर्भर रहेको जिल्लाको रुपमा लिन सकिन्छ । कृषिबाटै मानिसले जीवीको पार्जन मात्र नभै अम्दानीको मुख्य स्रोतको रुपमा पनि लिन सकिन्छ भन्ने एउटा राम्रो उदाहरण बनेका छन् पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाका मामा भान्जा कृषिफर्मका कृषक हरि बहादुर बारघरे र दिपक बयम्बु ।
विगत १ वर्षदेखि २ जना मिलेर सामूहिक टमाटर खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आफ्नै खेर गईरहेको १० रोपनी क्षेत्रफल जग्गामा ३० वटा प्लाष्टिक टनेल भित्र ३ हजार टमाटरका बोट लगाएर खेती सुरु गरेका बारघरेले अहिले एक सिजनमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
उनीहरुको बारी भरीनै कतै पाकेका कतै पाक्ने अवस्थामा रहेका टमाटर लटरम्म देख्न सकिन्छ । उनको तरकारी बारीमा छिरेपछि टमाटरसँगै खुर्सानी, भेण्डी लगायतका विभिन्न जातका तरकारीले मनमोहक बनाउछ । केही समय विदेश बसेका सारुले अब स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचका साथ ४ लाख ५० हजारको लागतमा आफ्नै भान्जासँगको सहकार्यमा समूहिक टमाटर खेती सुरुवात गरेका हुन् । टमाटर उत्पादन भएपछि पनि बजारको कुनै समस्या नहुने । कहिले काही स्थानीय बजारमै बिक्री हुने र होलसेलमा तानसेन, आर्यभञ्याङ्ग साथै बुटवल, स्याङ्जा, पोखरासम्म आफ्नो उत्पादन पठाउने गरेको हरि बहादुर सारु बताउछन् । फर्ममा ६ जनाले अप्रत्यक्षरुपमा रोजगारी समेत पाएका छन् । गाउँपालिकाको सहयोग र केही आफ्नै लगानीमा उनले तरकारी खेती सुरु गरेका हुन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका अरु किसान समेत टमाटर खेती तर्फ आकर्षित भएका छन् । गाउँपालिकाबाट तरकारी खेतीको लागि आधारभूत तालिम लिएका युवा कृषक दिपक बयम्बुले पनि यहि टमाटर खेतीमा आफ्ना मामा हरि बहादुर बारघरेलाई सघाउने गरेका छन् । कडा मिहेनत र परिश्रम गर्ने हो भने आफ्नै गाँउठाउमै राम्रो आम्दानी गर्न सकिने भन्दै कृषिमै आफु पनि लागी परेको र पैसा कमाउन भनेर विदेश धाउन नपर्ने दिपकको भनाइ छ ।
पूर्वखोला गाँउपालिका जल्पा २ मा वडाले आफ्नो वडालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषि सम्बन्धी विभिन्न तालिम, गोष्टी, किसानलाई आवश्यक प्राविधिक सहयोग समेत दिदै आएको छ । कुनै पनि कृषकहरुलाई आवश्यक सामाग्री र प्राविधिक सहयोग गर्दै आएको वडा कार्यालयले यो फर्मको लागि ३० वडा प्लाष्टिक टनेल निमार्णलाई प्लाष्टिक र विरुवा रोप्नको लागी प्लाष्टिक मल्चीङ्ग र प्रविधिक सहयोग साथै सिचाईको लागि पानिपोखरी समेत निर्माण गरेको वडा अध्यक्ष निर बहादुर सारुको भनाइ छ । टमाटर खेतीबाट राम्रो आयआर्जन हुन थालेपछि यस पेसामा धेरै कृषक साथै स्थानीय सरकारको समेत चासो बढ्दै गएको छ । उनीहरुले सुरु गरेको तरकारी खेती अहिले गाउँपालिकामै नमुना बनेको छ । गाँउपालिकाले पनि निर्वाह मुखी कृषि नभई व्यवसायी मुखी कृषि बनाउदै गएको छ ।
विदेशको खाडीमा पसिना बगाएर पैसा कमाउनु भन्दा आफ्नै गाँउ ठाँउमा मेहेनत गरेर सोचे भन्दा राम्रो आम्दानी गरेपछि विदेशको पैसा यँही नेपालमै बसेरै कमाउन सकिदो रहेछ भन्ने एउटा राम्रो उदारणीय फर्म बन्न सफल भएको छ मामा भान्जा कृषि फर्म जल्पा । यसरीनै अन्य गाउँठाउँका मानिसहरुले यो फर्मको सिको गरेको खण्डमा केहीमात्रामा भएपनि कृषिमा आत्मनिर्भर बढाउन सकिने
थियो ।
प्रतिकृया दिनुहोस