पाल्पामा सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मानित

meropati

पाल्पा, ३० असोज । रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थामा आवद्ध रहेका ७५ वर्षमाथिका ज्येष्ठ नागरिलाई संस्थाको १२ औं वार्षिक साधारणसभाको अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले बुधबार उनिहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा माधवप्रसाद उपाध्याय, लीलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना, लोकबहादुर क्षेत्री, टेकबहादुर श्रेष्ठ, तेजप्रसाद ढकाल, डिलनारायण श्रेष्ठ, देवकला बस्याल, सुकबहादुर कुमाल र देवबहादुर मल्ललाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।



त्यस्तै उत्कृष्ट बाल बचततर्फ जङ्सङ थापा, वर्षा अधिकारी, असल ऋणीतर्फ दिलकुमारी पुलामी, देवराज पङ्गेनी तथा नियमित असल बचतकर्ता खेमकुमारी सारुमगर, श्रीकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

सो अवसरमा प्रदेशसभा सदस्य खनालले ज्येष्ठ नागरिक समाजका अग्रणी व्यक्तित्व भएकाले उहाँहरुको आशीर्वाद लिएर सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा जोड दिनुपर्छ उनले भने ।

पर्याप्त उत्पादन नगरेसम्म गाउँ समृद्ध नहुने हँुदा नाफामुखी नभएर उत्पादनमुखी काम गर्नुपर्नेमा पनि उनले जोड दिए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सहकारीले जनताको आयस्तर बढाउने खालका काम गर्नुपर्ने बताउँदै रामपुर नगरपालिकाले नगरको पूर्वाधार विकासमा जोड दिएको जानकारी दिए ।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले असार मसान्तसम्म तीन हजार ८९६ शेयर सदस्यसँग रु ३७ करोड २३ लाखको पूँजीसहित आफ्ना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीले रामपुर नगरपालिकाका १० वटै वडा, निस्दी गाउँपालिकाको वडा नं १, २, ३ , ४ र ५ र पूर्वखोला गाउँपालिकाको वडा नं १ मा सेवा दिँदै आएको छ । विसं २०६५ मा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भई यो पूर्वी पाल्पालाई कार्यथलो बनाएर काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: