माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना बनाउन ५१ अर्ब लगानीको सम्झौता

meropati

काठमाडौँ, १६ कात्तिक । रसुवामा निर्माण हुने २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा लगानीका लागि ९ वटा लगानीकर्ता र आयोजना प्रवर्द्धक कम्पनीबीच वित्तीय सम्झौता भएको छ । आयोजनामा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अगुवाइमा ४५ करोड ३० लाख डलर अर्थात् ५१ अर्ब १८ करोड रुपैयाँ रकम लगानी गरिने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक ई र दातृ निकायका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।



लगानी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाको निर्माण सुरु हुने प्रवर्द्धक कम्पनीले जनाएको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार अबको ६ महिनाभित्र आयोजनाको निर्माण कार्य सुरु हुनेछ। निर्माण सुरु गरेको ५ वर्षभित्र आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य छ। आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ। आयोजना ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजीबाट निर्माण गर्न लागिएको हो।

आयोजनामा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले ३ करोड ९६ लाख, कोरियाली निर्यात-आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडिबी) ले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन्।

यस्तै सीडीसी ग्रुप (सीडीसी) को २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) को १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन (प्रोपार) को १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्ड (ओएफआईडी) को १ करोड ३२ लाख डलर ऋण लगानी रहनेछ।

द बैंक अफ न्युयोर्क मेलनले ‘अफसोर एकाउन्ट’ र नेपाल इन्भेस्टमेन्ट बैंकले ‘अनसोर एकाउन्ट’ बैंकका रूपमा काम गर्ने वित्तीय सम्झौता समारोहमा जानकारी दिइयो। प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदमा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमार्फट राष्ट्रिय प्रणालीमा जोडिनेछ।

नेपाल सरकार र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो। नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच १४ माघ २०७४ विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो। आयोजनाका लागि प्राधिकरणले व्यावसायिक विद्युत् उत्पादन भएको मितिले दस वर्ष वा ऋण चुक्ता अवधि जुन अघि हुन्छ सोहीसम्मको लागि डलरमा पीपीए गरेको हो। उक्त अवधिपछि नेपाली मुद्रामै भुक्तानी हुनेछ।

प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाम र वर्षायाममा क्रमश ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा खरिद गर्नेछ। स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि पाउने व्यवस्था गरिएको छ। प्राधिकरणलाई विदेशी मुद्रा विनिमय जोखिम परे वा नपरे पनि कम्पनीले आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको १४ वर्षदेखि २६ वर्षसम्म ३ अर्ब २६ करोड ५४ लाख युनिट निःशुल्क ऊर्जा दिनेछ। यसको लागत करिब ५ अर्ब ६५ करोड हुने प्राधिकरणको अनुमान छ।

डेलिम इन्ड्रस्ट्रियल कम्पनी लिमिटेड र क्येर्योङ कन्ट्रक्सन इन्ड्रस्ट्रियल कम्पनी लिमिटेडको संयुक्त उपक्रमले इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा आयोजनाको निर्माण गर्नेछ। अहिले आयोजनाको निर्माणपूर्वका कार्यहरू प्रवेश सडक, कार्यालय तथा आवास गृह निर्माण, त्रिशूली नदीमा बेलिब्रिज राख्नेलगायतका कार्य भइरहेको आयोजनाको प्रवर्द्धक कम्पनीले जनाएको छ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिमा कोरियन कम्पनीहरू कोएनको ५० प्रतिशत, डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, आईएफसीको १५ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत सेयर लगानी रहेको छ। साथै आयोजना प्रभावित स्थानीय जनताका लागि अधिकतम १० प्रतिशत सेयर लगानी सुनिश्चित गरिएको छ।

आयोजनाका लागि मुख्य संरचनाका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको प्रवर्द्धक कम्पनीले जनाएको छ । ७६ हेक्टर सरकारी जग्गा, १५ हेक्टर विभिन्न ट्रस्टको स्वामित्वमा रहेको जग्गा, ७ रोपनी निजी जग्गा गरी १०५ हेक्टर जग्गा अधिग्रहण गरिएको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइन र टावर राख्ने जग्गा अधिग्रहण बाँकी छ । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: