Uncategorized

स्थिरताप्रति किन अपच

काठमाडौं ,१८ कार्तिक । मुलुकमा आमजनताद्वारा अत्यधिक बहुमतले सत्तामा पु¥याएको नेकपाको सरकार छ । त्यस सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीको कार्यकाल भर्खर दुई वर्ष पुग्दै छ । अस्थिरताबाट वाक्कदिक्क भएका जनता निर्धारित समयसम्म ढुक्कसँग एउटा सरकार चल्ने भयो भनेर सबै आ–आफ्नो काममा लागेका छन् । उनीहरू पाँच वर्षसम्म सरकारले वाचा गरेका कामका उत्तरपुस्तिका अवधि पूरा भएपछि मात्र जाँच्ने सुरसारमा छन् । उता, केही सीप नलागेर झिँगेदाउ थापी सरकारसँग निहुँ खोज्दै स–साना घटनालाई हावादारी ठुल्ठूला काण्डका रूपमा प्रस्तुत गर्नुपर्दा प्रतिपक्षलाई कम्ती हैरान छैन ।
मुलुकको इतिहासमा पहिलोपल्ट अहिले कानुन यस्तो पनि हुँदोरहेछ भन्ने ठानेर आममान्छे दङ्ग परिरहेछन् । कानुनले सानामाथि शासन गर्छ र ठूलाले कानुनमाथि शासन गर्छन् भन्ने डिस्कोर्स (मान्यता) भत्किँदो छ । नेपालमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण बन्यो भनी अरूले नै भनिरहेछन् । विश्व बैङ्कले सात प्रतिशतको आर्थिक वृद्धि नेपालले हासिल ग¥यो भनी नगरा बजाएकै छ । लोडसेडिङबाट मुक्ति पाएर बिजुली बेच्ने अवस्थामा मुलक पुगेको छ । नेपाल भूपरिवेष्ठित मुलुक हुनाको दीर्घरोग सन्चो भएर ‘भूजडित’ मुलुकका रूपमा तङ्ग्रिँदै छ । भारत र चीन नेपाललाई सहयोग गर्ने प्रतिस्पर्धामा लागेको कुरो तत्तत् देशका र नेपालका सरकार एवम् राष्ट्रप्रमुखहरूको भ्रमणका सन्दर्भमा भएका सन्धि–सम्झौता र समझदारीहरूले बोलेकै छन् । यसरी छिमेकी दुई ढुङ्गा पग्लेर ‘बीचको तरुल’को सिञ्चाइमा संलग्न हुँदै छन् । विश्वमा नेपालको शान बढ्यो भन्ने धेरैले मानेकै छन् । तर पनि कुन्नि किन हो र कसले चिमोटेर हो, बेलाबेला बुरुक्क उफ्रने र उत्तिखेरै फुरक्क पर्ने, कुनाकुनामा बसेर स्थिर सरकारको शान्त तलाउमा ढुङ्गा हान्न खोजेर काल्पनिक अस्थिरता निम्त्याउनेखालका एकाघरभित्रका समाचार डिजिटल र प्रिन्ट मिडियामा पढ्नुपरेको छ । यसबाट पाँच वर्षसम्म ढुक्क भएका जनताको बेलाबेला ढुकढुकी बढाएर स्थिर सरकारको विरुद्ध अपचका झुसिला डकार किन निकालिँदै छ भन्ने प्रश्न पेचिलो बनेको छ ।
देश प्राकृतिक र साँस्कृतिक दृष्टिले आफैँ समृद्ध छ । भौतिक दृष्टिले समृद्ध पार्छु भनेर आउनेहरूमध्ये यसअघि धेरैले मुलुकको समृद्धिको पानी चोरेर राति–राति आफ्नै र आफ्ना नाताकुटुम्बका बाँझा टारहरूलाई सिञ्चित गरी समृद्ध तुल्याए । लोकतन्त्रको रूखलाई भ्रष्टाचारको ऐँजेरुले खर्लप्पै खायो । अहिलेका प्रधानमन्त्रीले आफ्नो सम्पूर्ण सम्पत्ति राज्यका नाममा समर्पण गर्नुहुन्छ । सरकारी सम्पत्ति दोहन गर्नेहरूको दोहोलो काढ्न कम्मर कस्नुभएकै छ । भ्रष्टाचारविरुद्ध उहाँ नै लाग्नुभएको छ । उहाँलाई तिनले भ्रष्टाचारी देखिरहेछन्, जसका चस्माको लेन्स नै भ्रष्टाचारी छ, जो आफू ऐनाका अगाडि उभिन प¥यो भने थरथरी काम्छन् । अन्याय, दण्डहीनता, हत्या, अपराध एउटा परम्परा र क्रमशः संस्कृतिको रूपधारण गर्ने अवस्थामा पुगेको मुलुकमा अलिकति कानुनले आफैँ काम गर्न खोज्दा कतिपय ‘हाइप्रोफाइल’हरूमा बेचैनी र छटपटीका तापक्रमको पारो किन चढ्छ ? के उनीहरूलाई कतै आफ्नै अतीतले तर्साइरहेको त छैन ?
इँटाभट्टामा मान्छेलाई जिउँदै पोल्ने र त्यसैका आडमा लोकतन्त्रलाई धरधरी रुवाउँदै शासन गर्ने पोलतन्त्रलाई हाम्रा आदरणीय नेताहरूले पनि कतै मलजल पो गरिरहेका थिए कि ? नत्र रौतहटको फरहदवामा जतिबेला इँटाभट्टामा उपचारको बहानामा बेहोश बनाई मानिसलाई जिउँदै डढाइँदै थियो, जतिबेला गौरकाण्डको कुख्यात घटनामा तीन दर्जनजति व्यक्तिको वीभत्स रूपमा लखेटीलखेटी थिचेर मारी नरबलि दिइएको थियो, त्यतिबेला ती घटनाका पीडितहरूका आँसुले उहाँहरूलाई किन छोएन ? पीडितका पक्षमा हाम्रा अहिलेका आदरणीय नेता, जो त्यतिबेला पार्टीका कमान्डरहरू हुनुहुन्थ्यो, डरले हो वा स्वार्थले हो किन बोल्नुभएन ? अझै उहाँहरू तिनै पीडकका रूपमा आरोपितसँगै कैयौँपटक सहभोज गर्दा त्यसमा मृतकका रगत र पीडितका आँसुको गन्ध आयो कि आएन ?
हो, द्वन्द्वकाल (२०५२ देखि ०६२) का मुद्दाहरू १२ बुँदे सम्झौता र सत्यनिरूपण मेलमिलापअनुरूप हुने होलान् नै, ती घटना उक्किने हुन् कि भन्ने त्रास मान्नु आफ्नै छायाँसँग आफैँ तर्सनु हो । त्यसलाई सल्टाउन र द्वन्द्व व्यवस्थापन गर्न भनेर शान्तिप्रक्रिया बिसाइएकै हो क्या र ! तर, द्वन्द्वोत्तरकालमा पनि त्यसभन्दा भयावह यस्ता हत्या भएका छन्, जो अत्यन्त बर्बर र वीभत्स छन् । के त्यस्ता घटना पटक–पटक दोहोरिँदा घटनामा संलग्नलाई सधैँ छाती फुकाएर हिँड्न दिन मिल्छ ? तिनलाई न्यायको कठघरामा उभ्याउन पर्दैन ? आफैँले बनाएको संविधान र कानुनका हातखुट्टा बाँधेर हिँड्न नदिई, अपराधीहरूलाई रजगज गर्न दिन मिल्छ ? संविधान र कानुनले तातेताते गर्न थाल्दा र आममानिसमा कानुनी राज्यको आभास हुन थाल्दा बेमौसममा अवाञ्छित समीकरणका भूतहरू किन सल्बलाउँछन् ?
सबैलाई थाहा भएकै कुरा हो, दक्षिण छिमेकमा पचासौँ वर्षदेखि भाजपालाई हाँक्दै र डो¥याउँदै ल्याउनुभएका वरिष्ठ नेता अडवाणी, जोशी, सिंह र गडकरीहरू कनिष्ठ नेता नरेन्द्र मोदीको नेतृत्वमा चुनावी समरमा होमिए । मोदीकै चामत्कारिक नेतृत्वबाट विजय प्राप्त गरेपछि सबैले उहाँलाई कनकन नगरी र निहँु नखोजी सहयोग गरेकै छन् । यहाँ भने सरकार बनेको पर्सिपल्टदेखि प्रतिपक्षकै जागिर धरापमा पार्नेगरी आफ्नै सरकारविरुद्ध अँध्यारा कोठाभित्र कानेखुसी गर्ने र भोलिपल्ट मिडियाभरि छरपस्ट पार्ने अनि हाम्ले भनेकै होइन भनेर कान समाउने केटाकेटीपारा पनि अनौठै छ । यसो गरेर आदरणीय नेताहरूले अनुभव, नेतृत्व र क्रान्तिमा खारिएर आएको भनिएको इस्पाते छविलाई पीपलपाते छविमा अनुवाद किन गरिरहेका होलान् ? चुनावी समरमा विजयको सुनामी ल्याउने प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारको समृद्धिको सपनालाई उडाउनेहरूसँग कुम जोड्न किन मन लागेको होला ?
प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा उडाउनेहरू आज नारायणी र कोसीमा मोटरबोट (जहाज) तथा समुद्रमा नेपाली ध्वजावाहक जहाज (कन्टेनर) चल्ने स्थिति आएपछि भने मौन छन् । प्रधानमन्त्रीको शैक्षिक योग्यतामा प्रश्न उठाउनेहरू अन्तर्राष्ट्रिय फोरम र नेपालको लगानी सम्मेलनमा उहाँको दमदार भाषण सुनेपछि अवाक् छन् । अमेरिकी सहायक विदेशमन्त्रीको ‘नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा व्यापक सुधार आएको’ भन्ने कथन, विश्व बैङ्कको ‘नेपालमा लगानीको उपयुक्त वातावरण सिर्जना भएको’ भन्ने डुइङ बिजनेस रिपोर्ट छ । चालु आर्थिक वर्षमा व्यापार घाटा घट्दै गएका सूचकाङ्क एवम् कानुन सानालाई मात्र होइन, ठूलालाई पनि त्यत्तिकै लाग्दै गरेका र आमजनतासँग सरोकार राख्ने ओपिडी सेवा निःशुल्क, स्वास्थ्य बीमा, सामाजिक सुरक्षाजस्ता तमाम कार्यबाट उहाँको सुशासनको सपना पूरा हुँदै गरेको छनक त पाइएकै छ । यस्ता कार्यको सूची निकै लामो छ । तर, प्रतिपक्ष र केही त्यस्ता व्यक्तिहरू जो लामो समयको सङ्क्रमणकालमा अनेक तिकडमद्वारा अर्थोपार्जन गरेका, निरन्तर सुविधाभोग गरेका तथा अवसरको प्रचुर उपभोग गरेकाहरूलाई यो पचेको छैन । स्थिर सरकारले कानुनको दायरामा ल्याउन खोज्दा तिनीहरूले सरकारका हरेक कदमलाई नकारात्मक नजरले हेर्ने तथा पद प्राप्त गर्न नपाउँदाका कुण्ठासमेत पोखेर सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रमको तुवाँलो छर्ने काम जारी छ । त्यो क्षणिक तुवाँलो विकासका रक्तिम किरणहरू उदाउन थालेपछि स्वतः बिलाएर जाने नै छ, जसका अभिलक्षणहरू क्रमशः देखिँदै छन् ।
आफ्ना पालामा दिन कटाएर मानो पचाउनेहरूमध्ये केहीले अहिले खत्तम भयो र देशै डुब्न लाग्यो भनी कुण्ठा पोखेर रूखमा बसी आफू बसेको हाँगो काट्ने मुर्ख कालिदास बन्ने गल्ती नगर्दा बेसै हुन्थ्यो । जनताले पाँच वर्ष चलाउन दिएको म्यान्डेटलाई खुरुखुरु मानेर ‘हाम्रो पालो आउनुपर्छ’ भन्दै लाखे ननाच्दा पो उपयुक्त हुन्थ्यो कि !
हाम्रा प्रधानमन्त्री एकोहोरो काममात्रै गर्नुहुन्छ र पार्टीका नेतालाई भेटै दिनुहुन्न भन्ने गुनासो निकै चर्को छ । त्यति जाबो गुनासो त कुनै तरिकाले सम्बोधन गरिदिनुभए पनि हुन्थ्यो । आफ्नैलाई यसरी भेटै नदिएर अलि निष्ठुरी हुनुभयो भन्ने आरोप र रिसको घाउ बल्झिएला कि भन्ने भय पनि त्यत्तिकै छ । हुन त उहाँलाई भेट्न नपाएर गुम्सिएको रिस उहाँलाई भेटेपछि आफंँ समन (ढुस) भइहाल्ने हो । फेरि प्रधानमन्त्री बिरामी भएकाले र धेरै जनसम्पर्कबाट टाढै बस्न परेकाले भेट्न नसकिएको हो भने सचिवालयका सदस्यमार्फत पार्टीका नेताहरूसँग महिनामा एकपल्ट फोनमै कुरा गर्न सम्भव भए त्यसो गर्न सके हुन्थ्यो । त्यसो गर्दा पार्टी नेताहरूलाई सरकारले गरेका राम्रा कामको खुलेर प्रचार गर्न अलि खुराक पनि पुग्थ्यो ।
अन्त्यमा, स्थिर सरकारलाई हेर्ने अस्थिर आँखा जाँच गरी उपयुक्त लेन्स लगाऔँ । आफू जुन ठाउँमा छौँ, त्यस ठाउँको कर्तव्य पूरा गरौँ । अपच भए धपेडी बन्द गरेर आराम गरौँ, बेकारमा झुसिलो डकारेर आफ्नो स्वास्थ्य र मुलुकको स्थिरताको सुगन्धित वतावरण दुर्गन्धित नपारौँ ।-

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: