ट्राफिक नियम पालना नहुँदा बढे दुर्घटना

meropati

काठमाडौंँ, १९  कात्तिक । नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन् । यस वर्षको दशँै, तिहार, नेपाल संवत् र छठ पर्व त्यस्ता दुर्घटनाबाट अछूतो रहन सकेनन् ।
दोलखाबाट काठमाडौंँ आउँदै गरेको बा. २ ख ७२४६ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकस्थित सुकुटेमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा १७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना भएको केही समयअघि म्याग्दीको बिम भीरमा ग. १ ज २४३६ नम्बरको मिनी बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइतेको उद्धार गरिएको छ । बस भीरको बीचमा रूखमा अड्केको थियो ।
चाडपर्व मनाएर गन्तव्य फर्किंदै गरेको बेलामा भएका यस्ता दर्दनाक तथा पीडादायी दुर्घटनाले चालकको लापरबाही कि यात्रुको नियति भन्ने कुरालाई प्रस्ट पारेको छ । प्रहरी अधिकारीका अनुसार अधिकांश दुर्घटना चालक र यात्रुको कमजोरीका कारण हुने गरेका छन् ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्दा भार थाम्न नसकी, ‘ब्रेकफेल’ भएर बारम्बार यस्ता दुर्घटना हुने गरेको दाबी प्रहरी अधिकारीको छ । यी दुई घटना हुनुभन्दा चार दिनअघि मेलम्चीबाट काठमाडौँ फर्किंदै गरेको बा. ५ ख ५०७० नम्बरको बस साँखुमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु र २४ जना घाइते भए । दशैँ र तिहार मनाएर फर्किंदै गरेका यात्रुले खचाखच भरिएको बस सिन्धुपाल्चोक–काठमाडौंँ सीमा जरसिंहपौवाको ओरालोमा भारी लोडका कारण चिप्लिएर पल्टिँदा यतिको क्षति भएको प्रहरीको अनुसन्धानले देखाएको हो । सो दुर्घटना भएको २४ घण्टा नबित्दै महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना. ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु ३४ जना घाइते भएका छन् ।
मानवीय क्षति हुने गरी भएका यी दुई बस दुर्घटनाको रगत सुक्न नपाउँदै आइतबार पुनः सिन्धुपाल्चोकको सुकुटेमा भएको भयानक दुर्घटना पनि क्षमताभन्दा बढी यात्रुको भार थेग्न नसकेर नदीमा पल्टिएको अनुमान गरिएको छ । करिब ३८ सिट क्षमता भएको बसमा ७० जनाभन्दा बढी यात्रु सवार थिए । चाडबाडको बेला हुने यस्ता दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएका छन् ।
तर, उल्लिखित दुर्घटनाले सम्बन्धित निकायको त्यो अभियानलाई निरर्थक बनाइदिएको छ । बस दुर्घटनामा ट्राफिक प्रहरी र चालक दुवैको कमजोरी देखिन्छ । ट्राफिक नियम पालना गर्ने गराउनेको कमजोरीले दुर्घटना भएको दाबी प्रहरीको छ । नेपाल प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, गोँगबु नयाँ बसपार्क र काठमाडौँ महानगरपालिकालगायतका निकायले यसपटकको चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन उत्कृष्ट चालकलाई सम्मान र बसपार्कहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल दुर्घटनाका विभिन्न कारणमध्ये चालक र यात्रुको लापरबाही मुख्य देखिएको बताउनहुन्छ । चालकलाई पैसा कमाउनुपर्ने, यात्रुलाई गन्तव्य नपुगी नहुने भएकाले ‘ओभरलोड’का कारण पनि बस दुर्घटना हुने गरेको उहाँले स्पष्ट पार्नुभयो ।चाडबाडको बेला ट्राफिक नियम पालना नहुँदा दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालको भनाइ छ । “चालक मात्र के, कतिपय सचेत नागरिक पनि सवारी नियमको वास्ता गर्दैनन”, उहाँले थप्नुभयो, “सवारी साधनको अवस्थादेखि चालकको लापरबाही र यात्रु सचेत नभइदिँदा यस्ता दुर्घटना हुने गरेका हुन् । ” यो समाचार आजको गाेरखापत्रमा देवबहादुर कुँवरले लेखेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: