मालपोत कार्यालय पाल्पामा अनलाइन सिस्टम नचलेपछि सेवाग्राही मर्कामा

meropati

मिलन विश्वकर्मा
पाल्पा, २० कात्तिक । जिल्ला मालपोत कार्यालय पाल्पामा अनलाइन सिस्टमले काम नगरेपछि सेवाग्राही मर्कामा परेका छन् । जग्गा नामासारी गर्न, पास गर्न, रोक्काजस्ता काम लिएर आएका सेवाग्राहीहरु रित्तै घर फर्कन बाध्य भएका हुन् ।

गएको १५ गतेदेखि जग्गा नामसारी गर्न कार्यालयमा धाएपनि अहिलेसम्म काम नभएको बगनासकाली गाउँपालिका–१ पिप्लका ७२ वर्षीय चुरामणी पाण्डेले गुनासो गर्नुभयो । तानसेन नगरपालिका–१२ लुहुङमा बस्ने छोरी सिता गैह्रेको नाममा रहेको जग्गा उहाँले आफ्नो नाममा नामसारी गर्न आउनुभएको हो । छिमेकी २ जना साँक्षीरोहबरमा बस्ने सहित ४ जना पटक पटक आउँदासमेत काम नहुँदा उल्टै खर्च मात्र भएको उहाँले बताउनुभयो ।



दुइ दिनसम्म बस्दापनि कार्यालयबाट आफ्नो काम नभएको जिल्लाको सुदुरपश्चिममा पर्ने रैनादेबी छहरा गाउँपालिका– ३ भुवनपोखरीको छचुवाका रामबहादुर कुमालले बताउनुभयो । सोमबार तानसेनस्थित मालपोत कार्यालयमा जग्गा पास गर्न आएका कुमाल सोमबार दिनभरी बस्दा पनि काम नभएपछि निरास हुँदै घर फर्किनुभएको छ ।  जग्गा पास गर्न साँक्षीरोहबरको लागि छिमेकी ५ जना लिएर आएको छु, आउने जाने गाडीभाडा, होटलमा खाने बस्ने सबै खर्च आफैले बेहोर्नुपर्छ उहाँले भन्नुभयो हिजो एकछिनमा कम्प्युटरको नेट चल्छ भनेका थिए दुइ दिनसम्म पनि काम हुन सकेन्् । गाउँको जग्गा पास गर्ने हो । जग्गा खरिद गर्नभन्दा पनि पास गर्नको लागि खर्च धेरै लाग्ने भया उहाँको गुनासो छ ।

जिल्ला मालपोत कार्यालय पाल्पामा गएको भदौ २९ गतेदेखि अनलाइन सिस्टमबाट काम गर्न थालिएको थियो । तर यो सिस्टमले राम्रोसँग काम नगरेपछि यहाँका सेवाग्राही मर्कामा परेका हुन् । सुरुसुरुमा कर्मचारीले अनलाइनको सिस्टम नै चलाउन जानेन् । जसले गर्दा टाढा टाढाबाट आएका सेवाग्राही काम नभएपछि फर्किन बाध्य थिए ।

तर कात्तिक महिनाको पहिलो हप्तादेखि भने अनलाइन सिस्टमले राम्रोसँग काम नगरेको सहायक कम्प्युटर अप्रेटर राजीव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सोमबार र मंगलबार दुइ दिनसम्म ५० जनाभन्दा वढी सेवाग्राहीको फाइल अड्किएको छ ।

भूमी व्यवस्था तथा अभिलेख विभागको केन्द्रिय कार्यालयले यो सिस्टम जडान गरेको हो । माथिबाट आएको निर्देशन बमोजिम आफुहरुले अनलाइन सिस्टमबाट काम थालेको मालपोत कार्यालय पाल्पाका निमित्त प्रमुख रमेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सुविसु कम्पनीको इन्टरनेटमाफर्त यो अनलाइन सिस्टम सञ्चालनमा छ । तर राम्रोसँग काम गर्दैन् ।  पटक पटक सिस्टममा समस्या आइरहन्छ उहाँले भन्नुभयो हाम्रो कार्यालयबाट सुविसुको कार्यालयमा खबर गर्दा समेत सुनुवाई भएको छैन् । जडान गरेदेखि राम्रो काम नगरेको यो सुविसु अनलाइनको विकल्प खोज्न समेत माथि आग्रह गरेको निमित्त प्रमुख न्यौपानेले बताउनुभयो । विभागले जे भन्छ हामीले त्यहि गर्ने हो उनले थपे हातले गर्ने सबै काम गरिन्छ। अनलाइनको काम नहुँदा कार्यालय समय कुर्सीमा बसेर वित्ने गरेको छ ।

मालपोत कार्यालय पाल्पाका प्रमुख मदन बहादुर जिसी मंगलबार पनि कार्यालयममा थिएनन् । उहाँले हाजिरी खातामा घरविदा लेख्नुभएको छ । कार्यालय आएका छैनन् । आफु जग्गा नामसारी गर्न आउदाको कुनै पनि दिन यो कार्यालयमा हाकिम भेटिदैनन् पिप्लेका चुरामणी पाण्डेले भन्नुभयो अन्य कर्मचारीले नेटले काम गरेको छैन भोली आउनुस भनेर पठाउने गर्छन् ।

मंगलबार कार्यालयमा प्रमुख नभएको र आफुहरुको काम पनि नभएको भन्दै यहाँ आएका सेवाग्राहीले कार्यालय घेरेका थिए । उनीहरुले तालाबन्दी गर्ने तयारी समेत गरेका थिए । दुइ महिना पुग्दा समेत समस्या समाधान नगरेर प्रमुख जिसीले लापरवाही गरेको सेवाग्राहीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: