अब आलमदेवी मन्दिर हुलाक टिकटमा अंकित हुने

meropati

मिलन विश्वकर्मा
स्याङ्जा, २० कात्तिक ।
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित आलमदेवी मन्दिर अब हुलाक टिकटमा अंकित हुने भएको छ ।

कालिगण्डकी गाउँपालिका–३ आलमदेवीस्थित आलमदेवी मन्दिर अंकित हुलाक टिकट यहि कात्तिक २२ गतेदेखि प्रयोगमा आउने भएको हो । आलमदेवी मन्दिरको प्रांगणमा आयोजना हुने एक कार्यक्रमकाबीच नेपाल सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले टिकटमा टाँचा लगाउनु हुने छ । लगत्तै आलमदेवी मन्दिर अंकित टिकट प्रचलनमा आउने छ ।



कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याल, प्रधानसेनापति पूर्णचन्द्र थापा, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेल, नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेशमीराज पाण्डे, सञ्चार सचिव महेन्द्रमान गुरुङ लगायतको उपस्थिति रहने कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

देशैभरीमा १ सय मध्य गन्तव्यस्थलमा परेको धार्मिक पर्यटकीय महत्व बोकेको आलमदेवी मन्दिर हो । यहाँ आयोजना हुने यो कार्यक्रमले आलमदेवी मात्र नभई सिंगो गाउँपालिकाको विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो। साथै महत्वपूर्ण यो कार्यक्रमलाई प्रभावकारी बनाउन सिंगो गाउँपालिकावासीलाई आग्रह गर्दछु उहाँले भन्नुभयो ।

कात्तिक २२ गते विहान ८ः३० बजे हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिं रानाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: