चिच्याएर वर माग्ने मेला तीन दिनसम्म सञ्चालन हुने

meropati

मिलन विश्वकर्मा
पाल्पा, २० कात्तिक ।
यो वर्ष सत्यवती बजैको मेला तीन दिनसम्म हुने भएको छ ।

कात्तिक २४ देखि २६ गतेसम्म सत्यवती बजैको मेला सञ्चालन हुने भएको हो । जुन मेलाका अवसरमा चिच्याएर वर माग्ने गरिन्छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर रानाले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।



जिल्लाकोे तिनाउ गाउँपालिका—४, कोलडाँडास्थित सत्यवती बजैको मन्दिर तथा तालमा यो मेला लाग्ने गर्दछ । यहाँ चिच्याएर बर मागे पुरा हुने किंवदन्ती छ । बजै कान नसुन्ने बहिरी भएको र मध्यरातमा चिच्याएर बोले मात्रै सुन्ने र मनोकांक्षा पुरा गरिदिने धार्मिक मान्यता रहेको पाइन्छ। बजैसँग आएर बर मागे आफुले आँटेताकेको कुरा पुरा हुने विश्वासले पनि यहाँ बर माग्नेहरुको भीड लाग्ने गर्दछ । यहाँ पहिलो पटक आएका भक्तालुहरु चिच्याएर वर मागेको सुन्दा आश्चर्यचकित हुन्छन् ।

यो वर्षको मेलामा तीन लाखभन्दा वढी भक्तालु आउने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुभयो । उहाँका यो वर्ष राम्रो जोग परेकोले भक्तालुहरु बढ्ने अनुमान गरिएको हो । कात्तिके पूर्णीमाको दिन विशेष मेला लाग्ने गर्छ । भक्तालुको सुरक्षाका लागि ट्राफिक व्यवस्थान र सुरक्षा व्यवस्थामा विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।

धर्मका अनुयायीहरु आफ्नो मनको चाहना पुरा होस् भन्दै भाकल गर्ने र मनोकांक्षा पुरा भएपछि मेडो लिएर पुजा गर्न आउने गर्दछन । यहाँ कुखुरा, बोका, परेवाको समेत बलि दिने गरिन्छ ।

समुन्द्री सतहबाट झण्डै १४ सय मिटरको उचाईमा अवस्थित यो ताल पहाडको भु—वनोटले पनि निकै सुन्दर देखिन्छ । सिद्धार्थ राजमार्गबाट कम्तिमा दुई घण्टा उकालो बाटो पैदल हिडेर पुग्न सकिने यो तालमा वर्षेनी कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ ।

पौराणिक परम्परा अनुसार दक्ष प्रजापतिकी छोरी महादेवकी पत्नी सतिदेविको नामबाट यस तालको नाम सत्यवती भन्ने गरेको किम्बदन्ती छ । मानव समाज शास्त्रीय दृष्टिकोणले मातृ प्रधान समाज व्यवस्था अनुरुप माता वा माइको नामबाट यस तालको नाम सत्यवती माई वा सत्यवती बजै रहन गएको बुझिन्छ । काठमाण्डौमा माततीर्थ, गुह्वेश्वरी जस्ता देविस्थानले महत्व पाएजस्तै पाल्पामा यस सत्यवती बजैले महत्व पाउँदै आएको छ । झण्डै पाँचसय मिटरमा फैलिएको यस ताल वरीपरी घुमेर बर माग्दछन् ।

वर्षमा एक पटकमात्र नभई यहाँ सदावहार धार्मिक पर्यटक आउने गरि विकास गर्ने योजना रहेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो । मेला वयवस्थापनको लागि स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: