मुख्य समाचार

सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर

काठमाडौँ, २४ कात्तिक । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

“नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,” गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, “संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा आँैल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुुलै कमजोर छैन, बरु अब्बल छ ।”


advertisement

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था र खुला सिमानाको सुरक्षा संवेदनशीलताप्रति सरकार गम्भीर छ । अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले विमानस्थल अध्यागमन सुरक्षा जाँच अबको एक महिनाभित्र प्रविधिबाट हुन लागेको बताउनुभयो । “स्वदेशमै निर्मित ‘नेपाली पोर्ट सिस्टम (सफ्टवेयर)’ जडान हँुदैछ, मानवीय कमीकमजोरी छन् भने पनि अब प्रविधिले औँल्याउने छ, बाहिरी हल्लाको पछि लाग्नुभन्दा आन्तरिक सुरक्षा व्यवस्था मजबुत तुल्याउन सक्रिय छौंँ,” उहाँले भन्नुभयो ।

अध्यागमन सुरक्षा व्यवस्था मान्छेले होइन, प्रविधिले गर्ने भएकाले ढुक्क हुन आग्रह गर्दै उहाँले नियतवस गरिने मानवीय कमीकमजोरीबाहेक प्राविधिक तथा सुरक्षा कमजोरी नरहेको दाबी गर्नुभयो । सरकारले अमेरिकी पाइसेज सफ्टवेयरको सट्टा स्वदेशी पोर्ट सिस्टम राख्ने तयारी गरेको हो ।

“अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन जस्तो सुरक्षा अवस्था कमजोर छैन तर पनि यो विषयलाई गम्भीर रूपमा लिएका छौंँ,” नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखे्रल भन्नुहुन्छ, “विमानस्थलको सुरक्षा सुधारका लागि आगमन र प्रस्थान कक्षमा सुरक्षा जाँच बढाउन जरुरी छ ।”

नेपाल पर्यटन वर्ष–२०२० अघि नै यो कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । उहाँका अनुसार पास वितरणमा कडाइ तथा व्यक्ति डाटा रेकर्ड प्रविधि छिट्टै जडान गर्नुपर्ने देखिन्छ । उहाँले भन्नुभयो, “सुरक्षा चासो राख्नु स्वाभाविक हो तर बुँदागत कमीकमजोरी नऔँल्याउँदा सत्यता देखिएन ।”

त्यस्तै नेपाल–भारतबीचको खुला सीमा आतङ्कवादी समूह घुसपैठका लागि सहज भएको उल्लेख गरिए पनि यसमा नेपालका तर्फबाट कुनै कमजोरी नभएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठको भनाइ छ । भारतसँंग सीमा जोडिएका १०७ नाकामा सशस्त्र प्रहरी खटाइएको छ ।

ती नाकाहरूको केन्द्रबाट नै अनुगमन गर्न सकिने गरी ‘अत्याधुनिक पीटीजेड’ सीसी क्यामेरा जडान गरिएको छ, उहाँले भन्नुभयो, “तीबाहेक अन्य स–साना नाकाबाट हुने घुसपैठ नियन्त्रण गर्न समस्या छ । नेपाल र भारतबीचको जस्तो खुला सीमा विश्वका अन्य देशले अपनाएको पाइँदैन ।”

भारतीय सीमामा तैनाथ सुरक्षा निकायसँग समन्वय गरी सूचना आदानप्रदान गरिरहेका छौँ, शङ्कास्पद गतिविधि देखिएमा नियन्त्रणमा लिने कार्य भइरहेको छ, उहाँले थप्न्नुभयो, “खेत पारि घर वारि भएको अवस्था छ, पर्खाल र ढोका नभएको घर जस्तै अवस्था छ ।”

अमेरिकी विदेश मन्त्रालयले यही कात्तिक १५ गते सार्वजनिक गरेको आतङ्कवादी समूह विभिन्न मुलुकको सुरक्षा अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन–२०१९ ले नेपाललाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहको घुसपैठ र आश्रय स्थल हुनसक्ने भनी चासो देखाएपछि अधिकारीहरूबाट यस्तो प्रतिक्रिया आएको हो । विशेषगरी नेपाल–भारत खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुरक्षा अवस्थालाई दर्साउँदै अन्तर्राष्ट्रिय आतङ्कवादी समूहको सहजै घुसपैठ र लुकेर बस्नसक्ने समस्या आँैल्याइएको छ ।

कमजोरी भए सुधार जरुरी

नेपाल प्रवेशको मुख्य द्वार विमानस्थलमा मानवीय नियतका कमीकमजोरी हुने गरेका अधिकारीहरू स्वीकार गर्छन् । त्यसबाहेक अन्य किसिमको आपराधिक घुसपैठको सम्भावना भने कम देखिन्छ । वायोमेट्रिक (व्यक्तिगत डाटा रेकर्ड) प्रविधिको अभाव छ । अनुहार हेरी व्यक्ति चिन्नुपर्ने अवस्था छ ।

भीआईपी÷भीभीआईपीका नाममा सुरक्षा संवेदनशीलतामा समस्या देखिन्छ । पास वितरणमा अनियमितता देखिएको छ । विमानस्थलभित्र खोलिएका रेस्टुराँ तथा पसल सञ्चालक, कामदार र आफन्तको सहज पहुँचलाई सुधार गर्नुपर्ने अधिकारीहरूको भनाइ छ ।

नेपाल–भारत खुला सीमा दुई देशको साझा समस्या हो । यसको नियन्त्रणका लागि विमानस्थलमा सुरक्षा सतर्कता र प्रविधिको प्रयोग बढाएसँगै नाकाहरूमा दुवै देशका सुरक्षा निक(ायबीच सूचना आदानप्रदान, सहकार्य र समन्वय बढाउन जरुरी भएको जनाकारहरूको भनाइ छ ।

पूर्वसचिव शङ्कर कोइराला आतङ्कारीको सीमा, जात, धर्म केही नहुने भएकाले आश्रयस्थल बन्न सक्दैन भन्ने अवस्था नभएको बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “आतङ्कवाद विश्वभर फैलिएका कारण समयमा नै सतर्क हुन जरुरी छ । नेपालको सुरक्षा अवस्थालाई जुन किसिमले चित्रण गरिएको छ, त्यसमा सत्यता छैन । नेपालको सुरक्षा संयन्त्र त्यति कमजोर देखिँदैन । अत्याधुनिक प्रविधिको प्रयोग अनिवार्य छ ।”

अन्तर्राष्ट्रिय आपराधिक समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले समन्वय र सहकार्य गरिरहेको सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी बताउनुहुन्छ । विमानस्थल सुरक्षाका लागि म्यानुअलभन्दा प्रविधिको प्रयोग बढाउन जरुरी भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “नेपाल–भारत खुला सीमा नियन्त्रणका लागि घेरबार नै हो । सिमाना गाउँ वारि, खेत पारि भएसँंगै रोजीरोटी र चेलीबेटीसँंग जोडिएकाले अलि समस्या नै छ । सीमामा दुईवटै देशका सुरक्षाकर्मीले उच्च निगरानी राख्नुपर्छ । काठमाडौँको बोली बोकेर सीमामा घेरबार गर्ने सम्भावना हँुदैन,” पूर्वडीआईजी ठकुरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: