के हो बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?

meropati

काठमाडौँ, २८ कात्तिक  । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ ।

विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन् ।



पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’ हुनसक्ने जानकारी दिनुभयो । कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने सुझाव उहाँको छ ।

“अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन,” उहाँले थप्नुभयो, “हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पु¥याउन सक्छ ।” जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ । अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन् । बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ ।

डा. शाक्यका अनुसार आमाको दूध नछाड्दै उनीहरूलाई शिशु कक्षामा पु¥याइन्छ । एक कक्षामा पुग्दा नपुग्दै उनीहरूलाई ट्युसन कक्षामा भर्ना गरिन्छ । कोचिङमा पठाइन्छ । खेल्ने, रमाउनेभन्दा पनि आमाबुवाको इशाराअनुसार चल्ने भएका कारण यस्तो समस्या देखेको उहाँले बताउनुभयो । ‘बच्चालाई बच्चा बन्न दिनुपर्ने’ सुझाव दिँदै उहाँ भन्नुहुन्छ,

“बच्चासँग बिताउने, बगैँचामा खेल्ने, साथमा रमाउनुपर्छ । हामीले यस्तो कार्य नगरेका कारण बच्चाहरू ‘मुड स्विङ’को समस्याले ग्रस्त हुने पनि डा. शाक्य बत(ाउनुहुन्छ ।

बालविशेषज्ञ कुमुदी भट्टले पनि बच्चालाई बच्चा बन्न दिनुपर्ने सुझाव दिनुहुन्छ । हामीले जस्तो काम गर्नुपर्ने, विद्यालयमा ९० प्रतिशत नै लिएर आउनुपर्ने, खेल्न नदिने र पढ्नुपर्छ जस्तो दबाबले धेरै मानसिक समस्या निम्त्याउन सक्छ । उहाँका अनुसार बच्चाको दिमाग सबैको तेज नै हुनुपर्छ भन्ने जरुरी छैन, पढाइमा कम प्रतिशत ल्याउँदैमा त्यो बच्चा प्रतिभा नभएको भन्न मिल्दैन ।

“बच्चालाई दबाब होइन, संस्कार र साथको आवश्यकता हुन्छ,” भट्टले थप्नुभयो, “हामीमा पनि कार्यालय र घरको काममा दबाब भयो भने पक्कै पनि मानसिक समस्या आउनसक्छ, त्यसैले बालबालिकालाई दबाब दिने काम गर्नु हुँदैन ।” यसैगरी हर्मोनल परिवर्तन कारण पनि यस्तो समस्या आउन सक्ने मानसिक चिकित्सक रिचा अमात्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतमा बच्चाको १३÷१४ वर्षमा हर्मोनल परिवर्तन हुन्थ्यो । अहिले १०÷१२ वर्ष नपुग्दै हर्मोनलमा परिवर्तन देखिन थालेको छ । यो उमेरमा उनीहरूलाई आफूभित्र हर्मोनल परिवर्तन भइरहेको थाहा हँुदैन । आफ्नो शारीरिक परिवर्तन कसरी र किन हुँदैछ भन्ने कुरा थाहा पाउँदैनन् । यही कारण उनीहरू आफैँसँग दुःखी हुने जानकारहरूको भनाइ छ ।

डा. शाक्य भन्नुहुन्छ, “हरेक बच्चा ‘मुड स्विङ’मा भिन्नाभिन्नै तरिकाले प्रतिक्रिया जनाउँछन् । कति बच्चालाई धेरै रिस उठ्छ । कति बच्चा उदास हुन्छन् । कोही खानेकुरा खाएको खायै गर्छन् भने कोही खान मन गर्दैनन् । मुड स्विङका सिकार बच्चा एक्लै रहन रुचाउँछन् ।

शान्त ठाउँको खोजी गर्छन् । मोबाइल वा फोनमा बढी समय बिताउन मन गर्छन् भने साथीहरूसँग मिलजुल गर्न हच्किन्छन् । मुड स्विङको सिकार भएका बच्चालाई कसरी सम्हाल्ने त ? अभिभावकका लागि यो एक जटिल प्रश्न हो । डा. शाक्य भन्नुहुन्छ, “मुड स्विङ भएको वा नभएको लक्षण पत्ता लगाएर उचित किसिमको उपचार विधि खोज्नुपर्छ । यस्ता बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निराश तुल्याएर, डर देखाएर होइन, एकदमै प्रेमल वातावरण दिएर सुधार गर्न सकिन्छ । उनीहरूलाई प्रेम र विश्वासको आवश्यक हुने उहाँले बताउनुभयो ।

मुड स्विङका क्रममा बच्चालाई बढी समय दिनुपर्ने जानकारी दिँदै डा. शाक्यले भन्नुभयो, “बच्चासँग खेल्ने, रमाउने गर्नुपर्छ । उनीहरूलाई आफ्नो कुरा सुनाउने होइन बरु उनीहरूको कुरा सुन्ने प्रयास गर्नुपर्छ ।” मनोचिकित्सकका अनुसार घरको माहौल राम्रो राख्ने प्रयास गर्ने तथा बच्चाको अगाडि लडाइँ झगडा नगर्नाले पनि यस्तो समस्याको समाधान हुने जानकारी दिनुभयो । डा. शाक्य स्पष्ट पार्नुहुन्छ, “बच्चा थाकेको बेला वा रिसाएको बेला जबर्जस्ती आफ्नो कुरा नराखौँ । जब उनीहरू सहज अनुभव गर्छन्, तब प्रेमपूर्वक उनीहरूसँग कुरा गर्न सकिन्छ ।”  यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: