बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

meropati

मिलन विश्वकर्मा
पाल्पा, ४ मंसिर । जिल्लाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ । बुधबार एक समारोहकाबीच प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उप–प्रमुख मीरा मरासिनीले घोषणा गर्नुभएको हो ।

उहाँले मानिस स्वस्थ र सवल नभएसम्म मुलुकको विकास नहुने बताउनुभयो । त्यसैले जन्मने बच्चा र आमाको स्वास्थ्य ठीक भए आफु र राष्ट्रको निम्ती केहि योगदान दिन सक्ने उहाँले बताउनुभयो । जीवन र मरणको दोसाँधमा रहेर सुत्केरी हुनुपर्ने बाध्यता हटाउनको लागि ग्रामिण भेगमा सुविधासम्पन्न सेवा पुग्नुपर्ने उप–प्रमुख मरासिनीको भनाई छ। गर्भवती भएदेखि सुत्केरी हुँदासम्म र त्यसपछि बच्चालाई कसरी हुर्काउने हो भन्नेबारे अझैपनि अधिकांश महिला सचेत छैनन् उहाँले भन्नुभयो महिला र पुरुष दुवैलाई सचेतीकरण गर्नुपर्छ ।



मानिसको जीवन सुरक्षित नहुदासम्म भौतिक विकासले कुनै अर्थ नराख्ने बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदिले बताउनुभयो । सेवासुविधाको पहुँचबाट टाढा हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अझैपनि गाउँघरमा छ उहाँले भन्नुभयो महिला जनप्रतिनिध आइसकेपछि केहि समस्या समाधान हुन थालेका छन् । यद्यपि प्रसवपीडामा छट्पटाउने आमा र बच्चाको जीवन सुनौलो बनाउने काममा राज्य गम्भीर हुनुपर्छ ।

नेपाल सरकारले तोकेको विभिन्न सूचक पूरा गरी बगनासकाली गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो । उहाँले गतवर्ष गाउँपालिका भरीका कूल तीन सय ७१ महिला विभिन्न स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको बताउनुभयो । उहाँका अनुसार तानसेनस्थीत यूनाइटेड मिसन अस्पतालमा एक सय ८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा एक सय १४, जिल्ला अस्पताल पाल्पामा तीनजना जना, मदनपोखरा स्वास्थ्य चौकीमा नौ जना, गाउँपालिका भित्रको चापपानी स्वास्थ्य चौकीमा २१, खानीछाप स्वास्थ्य चौकीमा ११ जना, नायरनमतलेस स्वास्थ्य चौकीमा सातजना, अन्य जिल्ला तथा विदेशमा गरी २६ जना गरी तीनसय ७१ जना संस्थागत सुत्केरी भएका हुन् ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनको लागि एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकल अनुसार चार पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी दुइसय २५ चक्की आइरन खाएको हुनुपर्ने, गर्भावस्थामा पि.एम.टि.सि.टि. सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिडि खोप दुइ पटक लगाएको हुनुपर्ने, सुत्केरी पश्चात प्रोटोकल अनुसार आमा र बच्चाको जाँच हुनुपर्ने, पुर्ण संस्थागत सुत्केरीको निरन्तरताको लागि स्थानीय निकायको निश्चित योजना हुनुपर्ने हुन्छ । यी सबै मापदण्ड पूरा गरेर गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।

विगत एक वर्षदेखिको निरन्तर प्रयासले यो अभियान सफल भएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्यालले बताउनुभयो । यो अभियान सम्पन्न गर्नको लागि २० लाखभन्दा बढी रकम खर्च भएको उहाँले बताउनुहुन्छ । गाउँपालिका भित्र चापपानी स्वास्थ्यचौकी, नायरनमतलेस स्वास्थ्य चौकी र खानीछाप स्वास्थ्य चौकीमा वर्थिङ सेण्टर अर्थात प्रसुती गृह सञ्चालन भइसकेका छन् उहाँले भन्नुभयो यो आर्थिक वर्षमा यम्घाको दरपुक सामुदायिक स्वास्थ्य इकाइ र दर्लमडाँडा स्वास्थ्य चौकीमा प्रसुती गृह सञ्चालन आउने छन् । प्रसुती गृहलाई थप व्यवस्थीत बनाउने योजना सहित अगाडि बढेको अध्यक्ष बश्यालले बताउनुभयो ।

गाउँपालिकाको चापपानी स्वास्थ्य चौकीबाट एम्वुलेन्स सेवा सञ्चालनमा छ । गाउँपालिका भित्रका कुनैपनि विरामीलाई न्यून शुल्कमा एम्बुलेन्स सेवा दिइन्छ । भने संस्थागत सुत्केरी भएका महिलालाई भाडास्वरुप नगद ५ सय दिने गरिएको छ । गत वर्षदेखि प्रदान गरिदै आएको एक हजार, नेपाल सरकारले दिने २८ सय र भाडा वापत गाउँपालिकाले दिने ५ सय गरी चार हजार तीन सय उपलब्ध गराएका छौ अध्यक्ष बश्यालले भन्नुभयो साथै कपडासहितको एक थान झोला समेत दिएका छौं ।

पछिल्लो समयमा स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर निकै प्रभावकारी अभियान सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय स्थानीय तहसँग समन्वयय गरेर स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम संचालन गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उचित मात्रामा पोषणयुक्त खानेकुराको अभावले बच्चाहरु कुपोषित हुने गरेकोले यसको अभाव पूर्ती गर्ने खालका कार्यक्रम सञ्चालन गर्न नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले सुझाव दिनुभयो । स्थानीय सरकारले थालेका कतिपय अभियानले खरबारीमा घाँस काट्दै गर्दा बच्चा जन्माउनु पर्ने बाध्यता टरेको छ यो राम्रो कुरा हो उहाँले भन्नुभयोे जन्मिएका बच्चा र आमा पूर्णरुपमा स्वस्थ गराउनेतर्फ राज्यको ध्यान जानुपर्छ ।

कार्यक्रममा नेकपा बगनासकाली गाउँपालिकाका अध्यक्ष हरिप्रसाद पाठक, नेपाली काँग्रेसका यमलाल तिमिल्सेना, राप्रपाका कपिल ढुंगाना, गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, वडा नम्बर ३ का अध्यक्ष टिकाबहादुर थापा, चन्द्र माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज तिमिल्सेना, महिला स्वास्थ्य स्वयमसेवीका पेमा बश्याल, बाल सञ्जालका कोषाध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन फोकल पर्शन तथा बालबालिका शाखाका प्रमुख मनोज आचार्यले गर्नुभएको थियो । यसअघि ¥याली समेत निकालिएको थियो ।

बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषण हुने मध्य तेस्रो हो । यसअघि जिल्लाका पूर्वखोला गाउँपालिका र रम्भागाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: