‘बोक्साबोक्सी’ भन्दै सामाजिक बहिष्कार

meropati

दोलखा , ८ मंसिर । जिल्लाको दुर्गम स्याखु गाउँमा सामाजिक बहिष्कारमा परेपछि एक दम्पती सुरक्षा खोज्दै सदरमुकाम चरिकोट आएका छन् । स्याखु टोल सुधार समितिको भेलाले ‘बोक्सा–बोक्सीको’ आरोप लगाउँदै गाउँबाट निकालिदिने, कथित ‘इन्द्रजाल’ किताब उपलब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेपछि उनीहरू गाउँ छाड्न बाध्य भएका हुन् । काठमाडौंबाट जेठा छोरा भाजुराम श्रेष्ठ आएर उद्धार गरी शनिबार चरिकोटको एक होटलको कोठामा राखिएका बिगु गाउँपालिका–५ स्याखुका ५८ वर्षीय रत्नबहादुर श्रेष्ठ र ५७ वर्षीया कृष्णकुमारी श्रेष्ठले भने, ‘गाउँका एक सय १३ जना सहभागी भेलाले दबाब दिएर बोक्साबोक्सी भएको स्विकार्न ल्याप्चे थिच्न लगायो ।’ पाँच पन्नाका तीन एजेन्डामा गरिएको निर्णय र चार घण्टा लामो अडियोसहित उत्तरको सिँगटी प्रहरीचौकीमा उजुरी दिएपछि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ पक्राउ परेका छन् । धामीझाँक्री गर्ने र नेतृत्व गर्नेसहित नौ जनाविरुद्ध उजुरी दिइएको पीडितका छोरा भाजुरामले जानकारी दिए । निवेदनका आधारमा सोधपुछ चलिरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रत्नबहादुरका १४ वर्षीय कान्छा छोरा सचिनले गोप्य रूपमा रेकर्ड गरेको चार घण्टा लामो अडियोमा ‘मेरो बाउ मार्ने’, ‘मलाई बिरामी बनाउने’ र ‘बस्तुभाउ मार्ने’ तिमीहरू हौ भनेर गाली गरिएको सुनिन्छ । रेकर्डमा पीडित रत्नबहादुरले ‘आमा, छोराहरू कसम मैले हैन’ भनेका छन् । ‘मंसिर १ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म हामीलाई बोक्साबोक्सी भनेर यातना दिइरहे,’ रत्नबहादुरले भने ।



सदरमुकाम चरिकोटबाट करिब ६० किलोमिटर उत्तरमा पर्ने स्याखुका यी दम्पतीलाई समितिले बिहे, भोजलगायत कार्यमा समेत प्रतिबन्ध लगाएको छ । यातनाको पीडाले दुवै जना रुँदा पनि आफूहरूलाई नछाडेको कृष्णमायाले गुनासो गरिन् । सामाजिक बेइज्जतीपछि समितिले गरेको निर्णय नम्बर १ मा लेखिएको छ, ‘यस गाउँ बस्ने रत्नबहादुर श्रेष्ठ आफ्नो मनमानी कुनै ठाउँमा गएर तलमाथि गरेमा हामी एक सय १३ जनाको घरधुरी जिम्मेवार हुनेछैन भनी आजको टोल सुधार समिति र अन्य बुद्धिजीवी अभिभावक बसी निम्न छलफल गरी ल्याप्चे लगाउन लगाएको ।’

यस्तो घटना ‘जघन्य अपराध’सरह भएको वडाअध्यक्ष मधुकर गुरुङले बताए । मानिस पक्रिएर सिँगटी प्रहरीचौकी ल्याएपछि मात्र आफूले घटनाबारे जानकारी पाएको उनको भनाइ छ । ‘रत्नबहादुर दम्पतीमाथि अन्याय भएको पाएँ,’ उनले भने । मंसिर ३ गते गाउँकै नाति पर्नेको बिहेमा समेत वरपरका सबैलाई बोलाइँदासमेत आफूहरूलाई सहभागी हुन नदिइएको रत्नबहादुरले बताए । ‘जोडिएको घरमा भइरहेको नातिको बिहेमा जान नपाएपछि घरभित्रबाट चियाएर हेरिबस्यौं,’ कृष्णकुमारीले भनिन् ।

यसअघि उनीहरूलाई गाउँलेले तीन पटकसम्म यातना दिएको पाइएको छ । लिखित रूपमै बुबाआमालाई गाउँनिकाला गर्न लागेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको छोरा भाजुरामले बताए तर यसअघि छोराहरू नभएका बेला गाउँ नजिकको लोटुङस्थित प्रहरीचौकीमा लिखित उजुरी दिँदा उल्टै गाली गरेरे फर्काएको कृष्णकुमारीले बताइन् । पीडित दम्पतीका माइला छोरा नर्वे र काइँला छोरा जापानमा छन् । कान्छा छोरा सचिन मात्रै सँगै छन् ।

यस्ता छन् आरोप

टोल सुधार समितिको बैठक राख्नुका तीन कारण देखाइएको छ । झाँक्रीले कथित ‘खड्गदशा’ फाल्न स्थानीय प्रेमबहादुर गुरुङको घरमा भोग दिएको भालेबाट रगत नआउनुमा ‘रत्नबहादुरले भेदेर’ भन्ने आरोप लगाइएको छ । दोस्रो, गएको पूर्णिमाको अघिल्लो दिन देवीस्थान मेलामा गएका रत्नबहादुरले सगुनका रूपमा लगेको रक्सीको बोतलको बिर्कोमा राखिएको फूल उल्टो गरिएको र त्यो ‘बोक्सा’ले मात्रै यसो गर्छ भन्दै धामीले आरोप लगाएका थिए । ‘हामीलाई बिगार्न यस्तो गरेको’ भन्दै धामी आफूमाथि खनिएको रत्नबहादुर बताउँछन् ।

तेस्रो कारण, पूर्णिमाको भोलिपल्ट रीता श्रेष्ठ झाँक्रीका रूपमा काँप्न नसक्नुमा पनि रत्नबहादुर कारण रहेको आरोप लगाइएको छ । प्यारालाइसिसका कारण वीर अस्पतालमा एक जना गाउँलेको मृत्यु भएको विषयमा समेत समितिले आकस्मिक बैठक डाकेर रत्नबहादुर दम्पतीलाई यातना दिएको अडियो रेकर्डबाट पुष्टि हुन्छ ।

लिखित निर्णयको प्रस्ताव नम्बर २ मा ‘स्याखु बस्ने रत्नबहादुर र कर्णबहादुर मगरले इन्द्रजाल किताब पढी आएको र किताबलाई दसपन्ध्र दिनमा धामीझाँक्री समूहमा बुझाउने, नबुझाएमा फेरि त्यसैगरी भेला राख्न टोलसुधार समिति र अन्य बुद्धिजीवी, अभिभावक बसी निर्णय गरियो’ भनिएको छ । उपस्थित प्रतिलिपिमा वडा सदस्य लयबहादुर श्रेष्ठको पनि नाम छ तर उनले सही गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: