भुवनपोखरीको ‘रैनादेवी न्वागी मेला’ सकियो

meropati

मिलन विश्वकर्मा
पाल्पा, १० मंसिर । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गामा जारी ‘रैनादेवी न्वागी मेला’ मंगलबार सम्पन्न भएको छ ।

सोमबार र मंगलबार दुइ दिनसम्म मेला चलेको थियो । प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले पाँचजना कन्यालाई दहि र चामल खुवाएर न्वागी मेलाको समापन गर्नुभएको थियो ।



उहाँले धर्म, सँस्कृतिसँग जोडिएको न्वागी महोत्सवको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । रैनादेवी मन्दिर रहेको स्थान धार्मिक, साँस्कृतिक, पर्यटन र प्राकृतिक सौन्दर्यताको धनि रहेको भन्दै उहाँले यो ठाउँको विकासको लागि गुरुयोजना बनाएर अगाडि बड्न आग्रह गर्नुभयो । प्रदेश सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

जनताले बचाएको यहाँको पूरानो सँस्कृतिलाई जनताको सरकारले पनि सहयोग गर्नुपर्ने सोही क्षेत्रबाट निर्वाचित प्रदेश साँसद तुलाराम घर्तिमगरले जोड दिनुभयो । अर्का प्रदेश साँसद बीरबहादुर रानाले गाउँघरमा लुकेर रहेका ऐतिहाँसिक महत्व बोकेका सँस्कृतिको जगेर्ना गर्ने दायित्व सरकारको भएको बताउनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्रको विकासको लागि तीन तहकै सरकारको सहयोग आवश्यक पर्ने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी र पत्रकार सेनानी मेघराज शर्माले जिल्लाको सुदुरपश्चिममा पर्ने रैनादेवी मन्दिरको संरचनागत विकास र प्रचार प्रसार गर्न सके सिंगो जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

मेलाको अवसरमा मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गरिएका थियो । प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ । यहाँ वर्षौंदेखि नयाँ चामलको न्वागी खाने र रैना नाम गरेकी देवीलाई चामल चढाएको दिनको सम्झनामा विशेष मेला लाग्ने गर्दछ । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष भेषराज पन्थीले बताउनुभयो । न्वागी खाएपछि यहाँ नयाँ चामल प्रयोगमा ल्याउन चलन छ ।

मेला सम्पन्न गर्नको लागि गाउँपालिकाले एकलाख आर्थिक सहयोग गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो । उनका अनुसार मेला सम्पन्न गर्नको लागि वर्षेनी आर्थिक अभाव हुन्छ । यद्यपि केहि मन भएका व्यक्तिहरुले दिएको सहयोगले जेनतेन मेला सम्पन्न हुने गरेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीको सभापतित्वमा भएको कार्यक्रममा जोगलाल नेपालीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मारुनी नाच समेत प्रस्तुत गरिएको थियो । मेलामा सयौ भक्तालुहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: