अर्घाखाँचीको नरपानी : एकै ठाउँमा दुई महिनामा तीन दुर्घटना, २५ को मृत्यु

meropati

अर्घाखाँची, १३ मंसिर । अर्घाखाँचीको नरपानीमा साढे दुई महिनामै तीन दुर्घटना भएका छन् । २५ जनाले ज्यान गुमाएका छन् । धेरै घुम्ती तथा साँघुरो सडकमा लगातार भएको दुर्घटना र ठूलो मानवीय क्षतिको कारण खोज्ने प्रयास भने भएको छैन । बुधबार १९ जनाको ज्यान गयो, १८ घाइते भए । यसअघि २० कात्तिकमा नरपानी सडकखण्डमै कार दुर्घटनामा तीनजनाको मृत्यु र दुई घाइते भएका थिए । त्यसको ठीक एक महिनाअघि २० असोजमा लंका यातायातको स्कार्पियो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने ६ घाइते भएका थिए ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्क र कपिलवस्तुको गोरुसिंगे जोड्ने सडक ६८ किलोमिटर छ । पूरै कालोपत्रे भए पनि साँघुरो भएकाले सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक निर्माणका लागि दिउँसो बन्द गर्ने सडक अपराह्न ४ बजेपछि मात्रै खोल्ने गरिएको छ । त्यसैले धेरै यात्रु राखेर स्पिडमा गाडी कुदाउने प्रतिस्पर्धा चलेको स्थानीय विष्णु न्यौपाने बताउँछन् ।



साँघुरो घुम्ती सडकमा ओभर स्पिड गर्दा नै बुधबार नरपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी प्रकाश विष्ट बताउँछन् । ‘बुधबार जहाँ बस दुर्घटना भएको सडक साँघुरो छ । यस क्षेत्रमा बढी नै गाडी दुर्घटना हुन थालेपछि सडक फराकिलो बनाउन सुरु भएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर काम अघि बढ्दै छ । तर, बुधबार कटान गर्न बाँकी रहेको ठाउँमा बस दुर्घटना भएको थियो । दुर्घटनास्थल सन्धिखर्कबाट बुटवलतर्फ आउँदा अलि–अलि उकालो पनि पर्छ । त्यहाँ तुषारो पनि धेरै पर्छ । जसले गर्दा सडक चिप्लो हुने समस्या छ,’ डिएसपी विष्टले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा बायाँबाट जानुपर्ने बस दायाँतर्फ गएर दुर्घटना भएको छ । यसले गाडी स्पिड भएको र मोडमा नमोडिएको देखिन्छ ।’

चौराहा अस्पतालमा उपचाररत घाइते विष्णुबहादुर अधिकारी भन्छन् दुई बल्ड्याङ पल्टेपछि झ्यालबाट उछिट्टिएर रूखमा अडिएछु 
म सन्धिखर्क बगैँचाबाट चढेको हुँ । नरपानी आउनै लाग्दा बसको चालकतर्फको चक्का सडकबाहिर गएको देखेँ । त्यसपछि बस पल्टिने भयो भन्ने मलाई लाग्यो । नभन्दै चालकले बसलाई मोड्दा पछाडिको चक्का पनि सडकबाहिर गएको देखेँ । अब बस पल्टिने भयो, ज्यान जाने भयो भन्ने मनमा लाग्यो । बस पल्टियो, आँखा चिम्म गरेँ । भगवान्को नाम लिएँ ।

दुई बल्ड्याङ पल्टेपछि झ्यालबाट उछिट्टिएछु कि के हो, जंगलको रूखमा अडिएको रहेछु । साथमा भएको एउटा ठूलो मोबाइल भेट्टाइनँ । ज्याकेटकोे गोजीमा राखेको सानो मोबाइल भेट्टाएँ । मोबाइल भेट्टाए पनि कसलाई फोन गर्ने मेसो नै आएन ।

एकछिनपछि आमाको नम्बर सम्झेलगत्तै फोन गरँे । आमालाई घटना बताएपछि उहाँले आफन्तहरूलाई फोन गर्नुभएछ । केही समयपछि उद्धार गर्न गएकाहरूले मलाई देखेर निकाल्नुभयो । उपचारका लागि यहाँ ल्याउनुभएको हो । शरीरका विभिन्न भागमा दुखेको छ । यहाँ उपचार त भइरहेको छ, तर मसँग भएका झोलादेखि विभिन्न सामान छैनन् । भोलि डिस्चार्ज गर्ने भन्ने सुनेको छु । कसरी पैसा तिर्ने भनेर तनाव भएको छ । उपचारको पैसा लाग्दैन भनेर कसैले भनेका पनि छैनन् ।

घाइते अंकित थापा भन्छन् अगाडिको गाडीलाई छलाउन खोज्दा बस खस्यो 
म जनता राउत माविमा अध्ययनरत छु । कक्षा ९ को परीक्षा सकेर फर्किंदै थिएँ । अगाडिको सिटमा थिएँ । नरपानी झर्नेजति अगाडि आउन भनिएपछि अगाडि सर्दै गर्दा बस खस्यो । म उछिट्टिएर भिरमा अड्किएँ । पछि, अरू आएर उद्धार गरे । अगाडि भएको गाडीलाई छलाउन खोज्दा दुर्घटना भएको हो ।

सबै मृतकको सनाखत 
सन्तबहादुर बस्नेत (गाडीधनी, ३८), सीतागंगा नपा–२
ओमबहादुर थापा ‘वसन्त’ (चालक, ३२), कपिलवस्तु
शिवलाल भट्टराई (५६), सन्धिखर्क नपा–७
माया पुरी (२२), सन्धिखर्क नपा–७
बलराम भट्टराई (५४), सन्धिखर्क नपा–७
शोभाखर पोख्रेल (३ महिना), वाणगंगा नपा–७, कपिलवस्तु
सीता बस्नेत (२७), वाणगंगा–८, कपिलवस्तु
छविलाल गैरे (५४), सन्धिखर्क नपा–१०
मोनिका खड्का (९), सन्धिखर्क नपा–७
शैलेस थापा (२२), भूमिकास्थान नपा–९
राजकुमार महत, (२७), धुर्कोट गापा–२ गुल्मी
सीताकुमारी सार्की (५९), सन्धिखर्क नपा–२
सीता घिमिरे (५०), भूमिकास्थान नपा–९
विष्णुमाया गैरे (५०), भूमिकास्थान नपा–९
मघनाथ जैसी भण्डारी (५१), भूमिकास्थान नपा–७
मञ्जु विक (१५), शीतगंगा नपा–१
कृष्णबहादुर सुनार (४२), छत्रदेव गापा–८
लोकबहादुर दर्जी (४८), शीतगंगा नपा–७
हरिबहादुर दर्जी (५५), शीतगंगा नपा–७

नरपानी दुर्घटनामा घाइते भएकामध्ये आठजनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र सातजनाको चौहारा अस्पताल बुटवलमा उपचार भइरहेको छ । एक घाइतेलाई काठमाडौं पठाइएको छ भने दुईजना उपचारपछि घर फर्किएका छन् । अघिकांश घाइतेको हातगोडा भाँचिएको छ । युनिभर्सलमा कृष्ण बिक र जीवन बिकलाई आइसियुमा राखेर उपचार भइरहेको छ ।

 चौराहा हस्पिटलका व्यवस्थापक कमल ज्ञवालीले पश्चिमाञ्चल यातायातले घाइतेको उपचारको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको बताए । उनका अनुसार अस्पतालमा उपचारका लागि आएकामध्ये गणेश पुरी उपचारपछि घर फर्केका छन् । हाल नन्दबहादुर विक र अमृता पौडेलको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, स्पर्श पोखरेललाई रेफर गरिएको छ । सपना कुँवर, लोकनाथ पाण्डे, विष्णुबहादुर अधिकारी, रिजन कुँवरको उपचार भइरहेको छ ।

जिल्लामै पहिलोपटक दुर्घटनामा यति धेरै संख्यामा मानवीय क्षती भएको हो । शोकमा बिहीबार उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मसले जिल्लाभरका उद्योग व्यवसाय बन्द गराएका छन् । समाचााार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: