स्थानीय तह : २० हजार कर्मचारी अभाव

meropati

काठमाडौँ , १३ मङ्सिर । बझाङको उत्तरी साइपाल गाउँपालिका, धुलीका १७ वर्षीय सरोज बोहरा नागरिकताको सिफारिस लिन दुई दिन हिँडेर कात्तिक अन्तिम साता सदरमुकाम चैनपुर आए । गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बस्दैनन् । कार्यालयमा कर्मचारी नभेटिएपछि चैनपुर आइपुगेका बोहराले सदरमुकाम आउजाउ गर्दा ३० हजार रुपैयाँ खर्च भयो । उनी भन्छन्, ‘स्थानीय सरकार आएपछि घरदैलोमै सेवासुविधा पाइएला भन्ने आस थियो तर एउटा सिफारिस लिन पनि सदरमुकाम धाउनुपर्‍यो ।’ साइपाल गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारी हुँदैनन् । कतिसम्म भने गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाममा खोलिएको छ । यसले गर्दा गाउँपालिकाले गर्ने सेवा प्रवाह सदरमुकाम केन्द्रित भएको छ । सदरमुकाम चैनपुरबाट तीनदेखि पाँच दिनको पैदल दूरीमा पर्छ साइपाल । गाउँपालिका अध्यक्ष राजेन्द्र धामी भन्छन्, ‘हामीलाई पनि गाउँमै बसेर सेवा दिने रहर छ तर पर्याप्त कर्मचारी छैनन्, बैंक छैन, इन्टरनेट छैन, हुलाक भए पनि टिकट छैन । त्यसैले सम्पर्क कार्यालय खोलेका हौं ।’

साइपाल गाउँपालिकाले अझै दरबन्दीअनुसार कर्मचारी पाएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा न्यूनतम १९ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । त्यहाँ अहिले जम्मा ८ कर्मचारी छन् । त्यहाँ अझै प्रमुख प्रशासकीय अधिकृत छैनन् । नायब सुब्बा राधाकृष्ण जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएका छन् । पाँच वडामध्ये दुई वडामा मात्र सचिव छन् । निमित्त प्रशासकीय प्रमुख जोशी भन्छन्, ‘पर्याप्त कर्मचारी नभएकाले करारका कर्मचारीले काम चलाउनुपरेको छ ।’



कर्मचारी अभावले साइपालमा सेवा प्रवाह मात्रै होइन, विकास निर्माणका काम प्रभावित भएका छन् । कतिपय योजनाको ६० प्रतिशत रकम जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारी सदरमुकाम आउजाउ गर्दा सकिने गरेको छ । गत आर्थिक वर्षमा सम्पन्न भएको वडा २, धलौनको भलकुलो निर्माण योजना बजेट बाटो खर्चमै सकिएको उपभोक्ता समितिका सदस्य वसन्त बोहरा बताउँछन् । कायाखोला लघु जलविद्युत् योजनाका अध्यक्ष मानबहादुर बोहराको अनुभव पनि यस्तै छ । बोहरा भन्छन्, ‘सबै योजनाको १० देखि २० प्रतिशत बजेट कर्मचारी भेट्न चैनपुर आउजाउ गर्दा सकिन्छ । अनि कसरी काम गर्ने ?’
मर्कामा निमुखा

हुम्लाको सदरमुकाम रहेकै सिमकोट गाउँपालिकामा समेत दरबन्दीअनुसार कर्मचारी छैनन् । प्रमुख प्रशासकीय अधिकृत र छैटौं तहका दुई अधिकृतले सिंगो गाउँपालिका चलाएका छन् । गाउँपालिकाका आठ वडामध्ये तीन वडामा मात्र सचिव छन् । कर्मचारी अभावकै कारण सिमकोटका स्थानीयले दसैंअघि पाउनुपर्ने लक्षित वर्ग सामाजिक सुरक्षा भत्ता अझै पाएका छैनन् । यसले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति मर्कामा परेका छन् ।

सिमकोटका ८ वटै वडाका बालबालिका, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले भत्ता पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी भन्छन्, ‘वडाध्यक्षले वडामा रहेका लक्षित वर्गको विवरण नियमित रूपमा नपठाउँदा र गाउँपालिकामा लेखापाल नहुँदा भत्ता वितरणको काम रोकिएको हो ।’

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोटसहित ७ गाउँपालिकाका ४४ वडामध्ये अधिकांश वडा सचिवविहीन छन् । अदानचुली गाउँपालिकाले पनि कर्मचारी अभावकै कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन । ६ वटै वडामा काम गर्ने एक जना मात्र सचिव हुँदा भत्ता वितरणमा समस्या भएको गाउँपालिका अध्यक्ष दल फडेरा बताउँछन् ।

कर्मचारी नभएकै कारण भोजपुरको रामप्रसादराई गाउँपालिका–७, बाँसिखोराकी सिलिहाङ्मा राईको जन्मदर्ता प्रमाणपत्र बन्न १७ दिन लाग्यो । २० असोज २०७६ मा जन्मेकी राईको जन्मदर्ताका लागि उनका बाबु सम्राटले २४ कात्तिकमा वडा कार्यालय पुगेर अनुसूची फारम भरेका थिए । तर, गाउँपालिकाका ‘असिस्टेन्ट सब–इन्जिनियर’ ज्ञानराज भट्टराईले १० मंसिरमा मात्र वडा कार्यालयबाट जन्मदर्ता बनाइदिए । उपभोक्ता समितिका पदाधिकारी र सदस्यलाई योजनाबारे अभिमुखीकरण गराउन त्यहाँ पुगेका बेला उनले पाँच जनाको जन्मदर्ता र अन्य दुईको मृत्युदर्ताको प्रमाणपत्र बनाइदिएका हुन् । ‘मेरो जिम्मेवारी योजना र प्राविधिक पाटो हेर्ने हो, वडा सचिव नभएपछि प्रमुखले तोक लगाएको आधारमा र कार्यालय सहयोगीले जम्मा गरिराखेको फाइलको विश्वासमा पञ्जीकरणको काम भ्याउनुपर्छ’, भट्टराईले भने ।

रामप्रसादराई गाउँपालिकामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि एक जना कर्मचारीमाथि धेरै जिम्मेवारी छ । गाउँपालिकामा दरबन्दी अनुसार १९ कर्मचारी हुनुपर्छ । अहिले चार जना मात्रै छन्– प्रमुख प्रशासकीय अधिकृत, छैटौं तहका एक अधिकृत, असिस्टेन्ट सब–इन्जिनियर र छैटौं तहकै आयुर्वेद अधिकृत । लेखापाल र सहायक–लेखापाल संघअन्तर्गतका स्थायी कर्मचारी हुन् । रामप्रसाद राईमा ८ वडामध्ये वडा नं. ५ र ६ हेर्ने एकमात्रै वडा सचिव छन् । वडा नं. ३ र ४ मा आयुर्वेद अधिकृत वडा सचिवका रूपमा खटिएका छन् । वडा नं. १, २, ७ र ८ वडाको काम तिहारयता ठप्पै छ । पञ्जीकरणको काममा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जंगम राई बताउँछन् । ‘योजनाका काम त करारका कर्मचारीबाट जसोतसो ठेलठाल भइराखेको छ, वडा सचिव नहुँदा पञ्जीकरणका काममा असर पुगेको छ,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन विकास शाखाका अधिकृत हरिनारायण शर्माले उपलब्ध गराएको तथ्यांकअनुसार अहिले मुलुकभरका ७ सय ५३ वटा स्थानीय तहमा २० हजार ९४ कर्मचारी दरबन्दी रिक्त छ । स्थानीय तहमा कायम ६६ हजार ९ सय ८ दरबन्दीमध्ये अहिलेसम्म ४६ हजार ८ सय १४ कर्मचारी मात्र समायोजन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बराल भने स्थानीय तहहरूमा २१ हजार कर्मचारी अभाव रहेको बताउँछन् ।

संघकै कर्मचारीको भर

कतिसम्म भने बाजुराको हिमाली गाउँपालिकाको प्रशासन फाँटमा स्थानीय तहका कर्मचारी नै छैनन् । संघबाट समायोजन भएका कर्मचारीले गाउँपालिका चलाएका छन् । स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार गाउँपालिकामा प्रमुख कार्यकारी अधिकृत आठौं तहको अधिकृत हुनुपर्छ । हिमाली गाउँपालिकामा भने संघअन्तर्गतका पाँचौं तहको नायब सुब्बा निमित्त प्रमुख कार्यकारी अधिकृत जनकबहादुर शाही छन् । उनी सूचना तथा सञ्चार मन्त्रालयबाट डेढ वर्षअघि हिमाली गाउँपालिका गएका हुन् । उनीसहित लेखापाल र खरिदार पनि संघ अन्तर्गतकै कर्मचारी हुन् । हिमाली गाउँपालिकामा ७ वडा छन्, सातै वडा सचिवविहीन छन् । पञ्जीकरणको काम गाउँपालिकाको प्रशासन फाँटले गर्छ ।

सबै वडा सचिवविहीन

सर्लाहीको रामनगर गाउँपालिका अढाइ वर्षदेखि प्रमुख प्रशासकीयविहीन छ । नायब सुब्बा धैर्यनाथ सिंहले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाउँदै आएका छन् । उनका अनुसार उनीसहित एक नायब सुब्बा, खरिदारस्तरका दुई प्राविधिक सहायकमात्रै छन् त्यहाँ । सातवटै वडा सचिवविहीन छन् । दुई प्राविधिक सहायकमध्ये एकले तीनवटा र अर्कोले चारवटा वडा हेर्छन् । करारमा राखिएका इन्जिनियर र सब–इन्जिनियरले योजना निर्माणको बाधा फुकाउने गरेका छन् । ‘पहिलो चौमासिकमा कम्तीमा ३० योजनाको सम्झौता गरेर काम थाल्ने लक्ष्य थियो, बल्लतल्ल २० वटाको सम्झौता गर्न सकियो’, उनले भने ।

वडाध्यक्ष नै ‘कर्मचारी’

लमजुङको दूधपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, छैटौं तहका एक अधिकृत र एक खरिदार गरी तीन जना मात्रै कर्मचारी छन् । ६ वटै वडा सचिवविहीन छन् । गाउँपालिकाको प्रशासनिक कामदेखि वडाका काम गाउँपालिकाका तीन कर्मचारीले भ्याउनुपर्छ । ‘कार्यालय प्रमुख पनि मै हुँ, वडा सचिव पनि मै हुँ’, प्रशासकीय अधिकृत ध्रुव खनाल भन्छन् ।

उनका अनुसार सेवाग्राहीहरू एक दिनको बाटो हिँडेर आउने भएको हुनाले तीन जना कर्मचारीले राति पनि काम गर्नुपरेको छ । त्यहाँ कर्मचारी अभाव भएका कारण गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङसमेत कर्मचारीले गर्ने कतिपय काम गर्छिन् । उनको भनाइ छ, ‘म आफैं पनि कर्मचारी जसरी काम गर्छु । कर्मचारी पठाइदिन नेतादेखि मन्त्रीसम्मलाई धेरै बिन्ती गरें तर कसैले सुनेनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: