तानसेनमा जारी सिद्धार्थ लोकमार्ग अन्तर्गका स्थानीय तहहरुको भेला सकियो

meropati

पाल्पा १६ मंसिर ।
दश बुँदे तानसेन घोषणापत्र जारी गर्दै सिद्धार्थ लोकमार्ग अन्तर्गका स्थानीय तहहरुको तानसेनमा जारी भेला सकिएको छ ।

आइतबार र सोमबार भेला चलेको थियो । सिद्धार्थ लोकमार्ग अन्तर्गत पर्ने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।



भेलाले जारी गरेको घोषणापत्रमा करिडोरका अवसर र चुनौती तथा नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारीलाई मिलान गरी आर्थिक विकासका अवसरहरुको उच्चतम सदुपयोग गर्न र साँचो समन्वय एवम् सहकार्यमा प्रतिफलको पारदर्शीरुपमा स्थानीय नागरिकसम्म पु¥याउने प्रतिवद्धता जनाइएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीका अनुसार घोषणापत्रमा सिद्धार्थ लोकमार्ग स्तारोन्नतीको लागि राम्दीको पुल नयाँ निर्माण वा पुननिर्माण र सडक फराकिलो बनाउने कार्य तत्काल अगाडि बढाउन माग गर्दै उक्त कार्यबाट यस क्षेत्रमा पर्ने सकारात्मक प्रभाव अभिवृद्धिमा जोड दिदै नकारात्मक असर न्यूनीकरण र प्रभावितहरुका लागि वैकल्पिक अवसर सिर्जना तथा व्यवस्थापनमा एकवद्ध भएर लाग्ने उल्लेख छ ।

सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकासमार्फत समृद्धिका लागि अवसरहरु पहिचान गरी द्विपक्षीय र बहुपक्षीय सम्वादको माध्यमबाट निष्कर्षमा पुग्ने र साझा सवालमा समन्वय र सहकार्य गरिने छ ।

स्थानीय अवसरहरुको पहिचान, उपयोग र त्यसको व्यावसायीकरण तथा दीगोपनाको लागि समन्वय समितिको निर्माण, विज्ञ समुह तथा सचिवालयको गठन गरी सञ्जालको निर्णय कार्यान्वयमा लैजाने प्रतिवद्धता गरिएको उहाँले बताउनुभयो ।

विकास साझेदारहरुसँग स्थानीय, प्रदेश र संघीय सरकारको विकासको अवधारणको मर्म आत्मसात गर्दै यस क्षेत्रको विकासका लागि सार्वजनिक नीजि साझेदारी तथा वहुुआयामिक ढंगले समन्वय र सहकार्यमा जोड दिने छ ।

प्रमुख शाहीले भन्नुभयो स्थानीय सरकारको सवलीकरण, शक्ति सन्तुलन तथा समुन्नतिका लागि प्रदेश र संघीय सरकारसँग समन्वय, पैरवी गर्न एकतावद्ध भएर अगाडि बढ्ने समेत निष्कर्ष निकालिएको छ ।

यस क्षेत्रको विकासका लागि अन्तरपालिकास्तरमा कृषि, पशु, पर्यटन एवम् स्थानीय साधन, स्रोत र कच्चा पदार्थमा आधारित घरेलु उद्योगको सम्भाव्यता खोजी र उद्योग सञ्चालन, विकास योजनाहरुको छनोट, परियोजनाको विस्तृत योजना तयार लगायतको साझा हितका सवालमा राष्ट्रिय योजना आयोग लगायत सरोकारवाला निकायसँग समन्वय सहकार्य गरी समग्र पूर्वाधार विकासको योजना ल्याउने कुरामा जोड दिइने घोषणापत्रमा उल्लेखे छ ।

यस्तै यस क्षेत्रको सन्तुलित तथा दीगो विकास र युवा स्वरोजगार सिर्जनाका लागि नीजि क्षेत्रलाई विकासका सवालमा साझेदार बनाउन आवश्यक नीति निर्माण गरिने छ ।

दीगो विकास लक्ष्य प्राप्तिको लागि समावेशी तथा दीगो आर्थिक विकासलाई सहयोग पुग्ने गरी रोजगारीको सिर्जना साथै युवालाई उत्पादनशील तथा सम्मानको काम गर्ने अवसरहको सिर्जना गर्ने भेलामा सहभागिको प्रतिवद्धता छ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्रमा सीमा अतिक्रमण भएकोमा ध्यानाकर्षण भएको छ। तत्काल अतिक्रमित भूमि फिर्ता गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं घोषणापत्रमा उल्लेख छ।

भेलाले सिद्धार्थ करिडोर क्षेत्रमा रहेका स्थानीय तहहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) संलग्न रहेको सिद्धार्थ आर्थिक करिडोरका लागि सञ्जाल गठन गरेको छ ।

सञ्जालको संयोजकमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीलाई चयन गरिएको स्याङ्गजाको गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले बताउनुभयो ।

सञ्जालको बैठक हरेक तीन महिनामा बस्ने छ र बैठकको अध्यक्षता आयोजक स्थानीय तहले गर्ने छ ।

यस्तै करिडोरमा पर्ने कास्की, स्याङ्गजा, पाल्पा र रुपन्देही जिल्लाको संघीय र प्रदेश सांसदहरु, दुवै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरु समेत रहेको सल्लाहकार समिति समेत गठन गरिने उहाँले बताउनुभयो ।

तानसेन नगरपालिका उपप्रमुख लक्ष्मी पाठकले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन मधुसुदन घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: