अर्थ खबर

जनता बैंक औपचारिक रुपमा विलय, ग्लोवल आइएमई बैंकबाट संयुक्त कारोबार

काठमान्डौै, २० मंसिर । नेपाली बैंकिङ क्षेत्रमा एउटा शक्तिशाली मर्जर पुरा भएको छ । दुई ठुला वाणिज्य बैंक आपसमा मर्जर भएर ‘विग मर्जर’ सम्पन्न गरेका छन् ।

शुक्रबारबाट जनता बैंक र ग्लोवल आइएमई बैंक औपचारिक रुपमा मर्जरमा गएका हुन् । अब ग्लोवल आइएमई बैंकका नामबाट संयुक्त कारोबार भएको छ भने जनता बैंकको नाम अब वाणिज्य बैंकको सूचिबाट पूर्ण रुपमा विलय भएको छ । नेपालका वाणिज्य बैंकहरुको संख्या २८ बाट २७ मा झरेको छ ।


advertisement

 जनता बैंकको सेयर रेसीयो मर्जरको आधारमा भएपनि जनता बैंकले आफ्नो नाम निशाना पूर्ण रुपमा मेटेर ग्लोवल आइएमई बैंकको नामबाट कारोबार सुरु गरेको छ । जनता बैंकमा कार्यरत सबै कर्मचारीले ग्लोवल आइएमई बैंकको परिचय पत्र प्राप्त गरेका छन् । उनीहरु स्वतह ग्लोवल आइएमई बैंकको कर्मचारी बनेका छन् ।

कतिपय कर्मचारी भने समायोजनमा विदेभ भएको भन्दै बैंंक छाड्ने मनस्तिथिमा पुगेका छन् । कर्मचारी समायोजन बैंक मर्जरको ठुलो समस्याको रुपमा देखिएको छ । मुलुकमा वाणिज्य बैंकहरु यस अघि पनि गाभिएका थिए । तर यस अघि गाभिएका बैंकहरु कम्जोर भएका कारण नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्थ सूचिमा थिए ।

 प्रभु विकास बैंकले किष्ट बैंक र ग्राण्ड बैंक गरी दुई वाणिज्य बैंकलाई मर्जरमा ल्याएको थियो । त्यतिवेला वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब थियो, अहिले वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब छ । जनता बैंक ग्लोवल आइएमई बैंकका मर्जर भएपछि ग्लोवल आइएमई बैंक चुक्ता पुँजी, एटीएम, शाखा गरेर मुलुककै ठुलो बैंक बनेको छ । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा लगेर संख्या घटाउने उपाय खोजेको छ । जसकारण विकास बैंकहरु पनि धमाधम मर्जरमा गएका छन् । अरु वाणिज्य बैंकहरुले पनि मर्जरको अभ्यास गरिरहेका छन् । तथापि ठुला बैंकहरुको मर्जर पछिल्लो समयमा यो नै सबैभन्दा ठुलो इतिहास बन्न पुगेको छ ।

मर्जरपछि ग्लोवल आइएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुगेको छ ।

त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी पुगेको छ । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा बैदेशिक सम्पर्क कार्यालय रहेका छन् । बैंकमा झन्डै साढे तीन हजार कर्मचारीहरु र झन्डै २० लाख ग्राहक रहेको बैंकले जनाएको छ ।

 बैंकमा अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर रहने व्यबस्था यस अघि नै टुंगोमा पुगेको थियो । प्रमुख कार्यकारी अधिकृत कुँवर यसअघि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका थिए । ढकाल भने ग्लोवल आइएमई बैंकका अध्यक्ष हुन् । नेपाल राष्ट्र बैंकमा डा. चिरंजीवि नेपाल गभर्नर भएपछि उनले बैंक मर्जर र पुँजीबृद्धिको विषयलाई प्राथमिकतामा राखेका हुन् । बैंकहरुको संख्या घटाउने उदैश्य स्वरुप राष्ट्र बैंकले विग मर्जरको अबधारणा लिएको हो । मर्जरको विषयलाई सबैजसो बैंकले आत्मसाथ गरेका छन् । कतिपय बैंकहरु मर्जरको नयाँ रणनीतिमा छन् । विकास बैंकहरु र फाइनान्स कम्पनीहरुको संख्या भने मर्जरबाट अत्याधिक कम भएको छ ।

विकास बैंकमा मर्जरको झन् तिब्रता

विकास बैंकहरु मर्जरका कारण ठूलो संख्यामा घटिसकेका छन् । अझै पनि घट्दै छन् । साना विकास बैंकहरु मात्र नभएर राष्ट्रिय स्तरकै विकास बैंकहरु पनि धमाधम मर्जरमा गइरहेका छन् ।

 ओम डेभलपमेन्ट बैंक केहीसमय अघि नै एनएमबि बैंकमा गाभिएको छ । गण्डकी विकास बैंक मेगा बैंकमा गाभिँदै छ । महालक्ष्मी विकास बैंकले गत कात्तिकमा सम्पन्न १८ औँ वार्षिक साधारणसभाबाट मर्जर तथा प्राप्तीका लागि बाटो खुला गरिसकेको छ । गरिमा विकास बैंकले पनि मर्जरका लागि बाटो खुला गर्न लागेको छ । मंसिर २७ गते हुन लागेको १३ औँ वार्षिक साधारणसभामार्फत गरिमाले राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकले पनि मंसिर ३० गते हुन लागेको १३ औँ साधारणसभाबाट मर्जर तथा प्राप्तीको बाटो खुला गर्न लागेको छ । क्षेत्रीय स्तरका विकास बैंकहरु पनि मर्जरकै क्रममा रहेका छन् । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरु असोज मसान्तसम्ममा २५ वटा मात्रै बाँकी छन् । जसमा साना विकास बैंकहरु १५ वटा छन् । तीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार यही मंसिर २२ गतेदेखि हुँदैछ । त्यस्तै, सहयोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिँदैछ । यसबाहेक, अन्य विकास बैंकहरु पनि विस्तारै अन्य संस्थामा गाभिँदै जाने अवस्था देखिन्छ । बैंकिङ खबरबाट

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: