सुचना मार्ग बनाउने जिम्मा टेलिकमले पायो

meropati

काठमाडौ, २१ मंसिर । सरकारले २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमलाई दिएको छ। ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्चेर निर्माण हुने उक्त सूचना महामार्ग निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार टेलिकम सँग समझदारी गरेको छ। स्मार्ट टेलिकमले काम नगरेपछि नेपाल टेलिकमलाई जिम्मा दिइएको हो । कर्णाली र सुदूर पश्चिम प्रदेशका २० वटा जिल्ला जोड्ने उक्त सूचना महामार्ग बनाउन सरकारले जिम्मा टेलिकमले पाएको हो ।

यस अघि प्रदेश १ देखि ३ सम्मको सोही प्रकारको सूचना महमार्ग बनाउने जिम्मेवारी पनि टेलिकमले नै पाएको छ। टेलिकमले विभिन्न प्याकेज बनाएर काम अगाडि बढाइसकेको छ। अहिले पाएको नयाँ जिम्मेवारी यस अघि स्मार्ट टेलिकमले करिब ४ अर्ब रुपैयाँमा गर्ने गरी उक्त ठेक्का दुई वर्ष अगाडि पाएको थियो । तर, दुई वर्ष भित्रमा नै निर्माण सक्ने गरी जिम्मा पाएको उक्त जिम्मेवारीमा स्मार्टले काम सम्पन्न गर्नुपर्ने समयसम्म पनि सुरु नगरेपछि सरकारले यसको ठेक्का तोडेको हो ।



स्मार्टले ३० भदौ २०७६ मा ब्रोडब्यान्ड इन्टरनेटको सञ्जाल विस्तारका लागि यस्तो सूचना महामार्ग बनाइसक्नुपर्ने थियो। निर्धारित समयमा काम नगरेपछि सरकारले स्मार्टसँग तोडेको उक्त ठेक्का अब नेपाल टेलिकममार्फत अगाडि बढाउन समझदारी भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार टेलिकमले एक महिनाभित्रै नयाँ जिम्मेवारी पाएको कर्णाली र सुदूरपश्चिम प्रदेशमा निर्माण हुने सूचना महामार्गको विस्तृत अध्ययन विवरणसहित सम्झौता गर्नुपर्नेछ। अबको एक महिनामा नै टेलिकमले यसको लागत, निर्माण मोडालिटीसहित विस्तृत विवरण पेस गरेर सम्झौता गर्ने गरी बिहीबार प्रारम्भिक सम्झौता मात्रै भएको हो ।

हाल आयोजना अगाडि बढाउन समझदारी मात्रै भएकाले अब टेलिकमले गर्ने विस्तृत अध्ययन पश्चात आयोजना निर्माणको सम्झौता पनि मात्रै आयोजना सम्पन्न गर्ने समय पनि उल्लेख हुनेछ। सूचना महामार्ग निर्माण अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम् ९६ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नुपर्नेछ। यही कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकामसम्म ४८ कोर र नगरपालिकासम्म न्यूनतम् २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नुपर्ने सर्त प्राधिकरणले तोकेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले समझदारीपत्रमा हस्ताक्ष गरेका छन्। समझदारी अनुसार दुई वर्षभित्र तोकिएको दूरीअनुसारको अप्टिकल फाइबर बिछ्याइसक्नुपर्नेछ ।

समझदारीपत्रमा हस्ताक्षरपछि प्राधिकरणका अध्यक्ष खनालले यो सूचना महामार्ग निर्माणले आर्थिक समृद्धिको आधारशीलाका रूपमा काम गर्ने बताए। उनले सूचना महामार्ग निर्माणलाई टेलिकमले निर्धारित समयमै सकेर विश्वासको वातावरण सिर्जना गर्ने बताए ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणमा यस्तो समझदारी महŒवपूर्ण हुने बताए। अधिकारीका अनुसार आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रूपान्तरण ल्याउन सक्ने पनि बताए। कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्ग, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्नेछ ।

टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ। बाँके र बर्दियासमेत जोडिएको यो सूचना महामार्ग ४ सय गिगाविट प्रति सेकेन्डको क्षमता अभिवृद्धि गर्न सकिने हुनुपर्ने समझदारी पत्रमा उल्लेख गरीएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: