खेलकुद

‘आफैंले स्वर्ण जितेजस्तो भयो’

 काठमाडौं,२३ मंसिर । मंगलबार काजल श्रेष्ठ तेक्वान्दोको रिंगमा उत्रिनुअघि हतास थिइन् । भारतीय खेलाडीलाई सेमिफाइनलबाटै घर पठाउँदा पनि आत्मविश्वास आइसकेको थिएन । फाइनलमा पाकिस्तानी खेलाडीको सामना गर्न डर मानिरहेकी थिइन् । उनी डराउनुका दुईवटा कारण थिए । पहिलो, उनको दुवै खुट्टाको जोर्नी अभ्यासको क्रममा नमज्जाले ‘फ्याक्चर’ भएको थियो । दोस्रो, पाकिस्तानी खेलाडी उनीभन्दा अग्ली थिइन् ।

उनी गुरु संगीना वैद्यलाई बारम्बार भनिरहन्थिन्, ‘पाकिस्तानको खेलाडी मभन्दा खत्रा छ, कसरी फाइट गर्ने ?’


advertisement

संगीना सम्झाउँथिन्, ‘वर्षौंदेखिको तपस्या यही स्वर्णका लागि हो । अहिले नजिते कहिले जित्छौ ?’

काजलको लक्ष्य पनि त ‘गोल्ड’ नै थियो । तर गोल्डका लागि जित्नैपर्थ्यो । जित्न एकदम फिट रहनुपर्थ्यो । तर दुर्भाग्य उनलाई उचाइले मात्रै होइन, खुट्टाले पनि धोका दिइरहेको थियो ।

‘मैले गोल्ड जित्दा मेरो खुट्टामा स्टिल थियो, तिमीले पनि सक्छौ,’ संगीनाले काजलमा आत्मविश्वास भरिन्, ‘उसले एक हान्छ भने तिमी दुई हान, उसले जत्ति पावर हान्छ, तिमी त्यसको डबल पावर हान । यो गोल्ड तिम्रै हो ।’

‘हस्’ भन्दै काजल रिंगमा उत्रिइन् ।

४६ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्न आएकी पाकिस्तानी खेलाडी सायेद जादी सिद्रा बटुलको पनि आत्मविश्वास कम थिएन । तर काजलको टेक्निकल खेलका अगाडि उनको हाइटको केही लागेन । काजलले पहिलो सेट १४-९ ले आफ्नो पोल्टामा परिन् । दोस्रो सेटमा लगातार किक प्रहार गर्दै २३-१ को स्कोर बनाइन् । उनको आत्मविश्वास बढ्दै गयो । र, तेस्रो सेटमा १३-४ को स्कोर बनाएकी उनले समग्रमा ५०-१४ को फराकिलो अन्तरमा स्वर्ण पदक जितिन् ।

स्वर्ण जित्नासाथ काजल रुँदै संगीनालाई अंकमाल गरिन् । त्यो बेला न संगीनाको मुखबाट केही शब्द झर्यो, न त काजलको मुखबाट ।

त्यो क्षण सम्झदै संगीना भन्छिन्, ‘आफैंले स्वर्ण जितेजस्तो भयो । त्यो क्षण खै कसरी बयान गरुँ ।’

एसियन च्याम्पियनसिप । लगातार सागमा २ स्वर्ण र ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली खेलाडी । यही कारण संगीनालाई ‘तेक्वान्दो क्विन’ पनि भनिन्छ । सक्रिय खेल जीवनबाट सन्यास लिएर तेक्वान्दो प्रशिक्षक बनेकी संगीना १३ औं सागमा आफ्ना खेलाडीहरुको प्रदर्शनबाट एकदम सन्तुष्ट छिन् ।

यो पटक तेक्वान्दोमा कुल ३४ नेपाली खेलाडी सहभागी भए, जसमध्ये १२ खेलाडीले स्वर्ण जिते भने ५ खेलाडीले रजत । त्यस्तै ११ खेलाडीले कास्य पदक हात पारे । नेपाली खेलाडीहरुलाई लामो समय बन्द प्रशिक्षणमा राखेर तिखार्ने ५ प्रशिक्षकमध्ये एक हुन् संगीना । भन्छिन्, ‘यो नतिजा हाम्रोलागि ऐतिहासिक हो किनकी तेक्वान्दोमा यो पटक कोही खेलाडी पनि पदकविहीन भएनन् ।’

सन् १९९६ मा एसियन गेममा कास्य पदक जितेपछि संगीना खेल जगतमा चिनिइसकेकी थिइन् ।

एसियन गेममा नेपालका लागि पदक जिताउनु ठूलो कुरा थियो । उनी सागको तयारी गरिरहेकी थिइन् । सागमा स्वर्ण उनको मात्रै होइन, देशकै ठूलो सपना थियो ।

साग हुनुअघि बैंककका एसियाड थियो । त्यहाँ खेल्न जाने तयारी चल्दै थियो । उनी बैंकक जानको लागि लगेज लिन घर जाँदै थिइन् । घर नपुग्दै बाटोमा गाडीले हानिदियो । उनका साथी बैंकक पुगे । उनी बी एण्ड बी अस्पतालको शय्यामा । दाहिने खुट्टामा स्टिल हाल्नुपर्यो ।

‘खेल जीवन सुरु हुन नपाई सकियो,’ आफैंलाई मनमनै भनिन्, ‘सागमा स्वर्ण जित्ने सपना चकनाचूर भयो ।’

अस्पतालकै बेडमा भएको बेला प्रशिक्षकले भने, ‘तिमी सक्छौ, हिम्मत नहार ।’

डाक्टरले प्रोत्साहन गर्दै थपे- तिमी जत्तिको खेलाडीका लागि ‘कमब्याक’ हुन गाह्रो छैन ।

साथीहरुले आत्मविश्वास दिए, ‘तिमीले सक्दैनौं भने कसले सक्छ ? तिमी तेक्वान्दो खेल्नलाई नै जन्मिएकी हौ ।’

परिवारका सदस्यहरु चुप बसे ।

सागमा स्वर्ण जित्नु त्यो समयको एकमात्र सपना थियो ।

गुरु र डाक्टरले नै आश्वस्त पारेपछि किन हार मान्नु ?

उनी साग सुरु हुन २ महिनाअघि अभ्यासमा जुटिन् । स्टिल हालेको खुट्टा लिएर अभ्यास गर्दा सहन नसक्ने गरि दुख्थ्यो । तर स्वर्ण सपनाका अगाडि शारीरिक चोट सामान्य लाग्थ्यो ।

मन र मष्तिष्क एउटै कुरामा दृढ थियो, ‘स्वर्ण पदकको लागि जस्तोसुकै चोट सहन सक्छु ।’

नभन्दै उनी फाइनलमा पुगिन् । प्रतिद्वन्द्वी भारतका थिए । स्टिल हालेको खुट्टा फाइनलमा पुग्दासम्म लाटो भएर चलाउन गाह्रो भइसकेको थियो । विपक्षीले खुट्टाको अवस्था थाहा पाउँदा मात्रै पनि उनले हार्ने निश्चित जस्तै थियो । तर उनी चनाखो भएर खेलिन् र भारतलाई हराउँदै सागमा स्वर्ण जित्न सफल भइन् ।

त्यो दिन सम्झिँदै संगीना भन्छिन्, ‘त्यो क्षण सम्झँदा अहिले जिउमा काँडा उम्रन्छ, त्यो बेला के गरेँ, के भयो, अहिले भन्न सक्दिनँ ।’

लगत्तै उनको खातामा अस्ट्रेलियामा सम्पन्न एसिया तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक र एसियाली च्याम्पियनसिपको उपाधि थपियो । नेपालका तर्फबाट छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागी हुने पहिलो खेलाडी पनि भइन् । उनी भन्छिन्, ‘खुट्टामा स्टिल राखेर सन् २००४ को एथेन्स ओलम्पिकमा भाग लिने अवसर मिल्ला भन्ने त झन् सोचेकै थिइनँ।’

अहिले यो स्थानमा आएर आफ्नो विगतमा फर्किंदा धेरै अप्रत्यासित घटना भएको सम्झन्छिन् संगीना । चोटका बाबजुद २ स्वर्ण जितेको क्षणले अहिले पनि रोमाञ्चक बनाउँछ । तर दुर्घटनाकै कारण आफूले सक्नेजति स्वर्ण जित्न नसकेको भन्दै खिन्न हुन्छिन् ।

उनलाई लागिरहन्छ, त्यो दुर्घटना नभइदिएको भए…।

संगीनाले श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेर खेल जीबन बिट मार्ने सोच बनाएकी थिइन् । तर फेरि अर्को दुर्भाग्य आइलाग्यो । श्रीलंका जानु केहीदिन अघि पत्थरीको अप्रेसन गर्नु पर्‍यो, जिउ एकदम गलेको थियो । शरीरमा शक्ति थिएन ।

उनलाई लाग्यो, ‘अब सागमा खेल्न सक्दिनँ ।’

गुरुहरुले हौस्याउँदै भने, ‘तिमी तेक्वान्दो खेल्नकै लागि जन्मिएकी हौं, तिमीले सक्छ्यौ ।’

गुरुहरुको कुरा काट्न सकिनन् । उनी एकहप्ता अभ्यास गरेकै भरमा श्रीलंका गइन् । खेलमा आँखाले टार्गेट देख्थ्यो । तर हान्ने तागत थिएन । उनी सेमिफाइनलमै हारिन् । सागमा स्वर्णको हृयाटि्रक गर्ने सपना चकनाचुर भयो । त्यो दिन सम्झँदै भन्छिन्, ‘मेरो जीवनको सबैभन्दा खराब दिन थियो त्यो । यस्ता घटना नभएको भए मैले देशका लागि अझै धेरै मेडलहरु दिन सक्थेँ ।’

२५ वर्षे सक्रिय खेल जीवनबाट सन्यास लिएकी संगीनालाई अहिले खेलेर पदक जित्नुपर्ने कुनै दबाब छैन । बरु, राम्रा खेलाडी उत्पादन गराउने ध्याउन्न छ । प्रशिक्षक बन्दा अपार आत्मसन्तुष्टि मिलेको बताउने संगीनाले खेल जीवनबाट सन्यास लिँदै गर्दा भनेकी थिइन्, ‘एउटा सफल प्रशिक्षक बन्न सकुँ…।’

र, काजलहरुको सफलतासँगै सफल प्रशिक्षक बन्ने उनको सपना १३औं सागमा पूरा भएको छ । भन्छिन्, ‘अब खेलाडीलाई अर्को लेभलमा पुर्‍याउन मेहनत गर्छु ।’

संगीना सानो छदाँ ब्रुस लीका फिल्महरु धेरै नै हेर्थिन् । ब्रुस लीकै अभिनय हेरेर मार्सल आर्ट्समा लोभिएकी थिइन् । त्यतिबेला लाग्थ्यो, ‘ब्रुस ली जस्तै बन्न पाए…।’

तर नुवाकोटको गाउँमा जन्मिएकी, हुर्किएकी उनले कहाँबाट मार्सल आर्ट सिक्न पाउनु ! स्कुलमा हुने फुटबल, हाइजम्पमा भने भाग लिन्थिन् ।

घरकाले भन्थे, ‘पढेदेखि ठूली मान्छे बन्थिस्…खेलेर बिग्रने भइस्…।’ तर, यस्ता कुराको उनलाई के मतलब ? मार्सल आर्ट खेल्ने सपना देख्न थालेकी उनी खेलमा लागिरहिन् ।

स्कुल सक्नासाथ संगीना काठमाडौं आइन् । दशरथ रंगशालामा मार्सल आर्ट सिक्न थालेको तीन महिनामै पहिलो राष्ट्रिय तेक्वान्दो च्याम्पियसिपमा स्वर्ण पदक हात पारिन् । लगत्तै अर्को वर्ष भारतको आसाममा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएपछि उनको चर्चा बढ्न थाल्यो ।

त्यो समयमा नेपालमा खेलकुदलाई हेर्ने दृष्टि नै राम्रो थिएन । अझ महिला भएर खेलकुदमा लाग्नु गलत भन्ने बुझाई थियो । त्यसबेला मार्सल आर्ट भनेको गुण्डागर्दी गर्ने खेल भनिन्थ्यो । खेलेर स्थापित हुन गाह्रो थियो । त्यो अवस्थामा खेलेर नेपालका लागि सनसनीपूर्ण प्रदर्शन गरेकी उनलाई अहिले आफ्नो विगत कथा जस्तै लाग्छ । विगतको संघर्ष र वर्तमानको उपलब्धी सम्झँदा अझै ‘नोस्टाल्जिक’ हुन्छिन् । आफ्ना खेलाडीलाई आफूले गरेको गल्ती सुनाउँदै पाठ सिकाउँछिन् ।

अहिलेका खेलाडी अझै धेरै उपलब्धी हात पार्न सक्षम छन् भन्ने महसुस गरेर उनीहरुलाई निखार्ने काममा जुटेकी छिन् । भन्छिन्, ‘मैले खेलाडीका रुपमा पूरा गर्न नसकेको सपना मेरा खेलाडीहरुले पूरा गर्छन् भन्नेमा ढुक्क छु ।’

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: