महिनावारी, हामी सबैको जिम्मेवारी

meropati

लैंङ्गिक हिंसा विरुद्व १६ दिने विश्वव्यापी अभियान समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारामा आधारित रहेर अभियान केन्द्रित छ । यो अभियानको रुपमा नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध हुने सबै किसिमका विभेद विरुद्धको आवाजको प्रतिनिधित्व गर्दछ । सिड महासन्धिमा पारित महिला भएकै कारण हिंसा परिभाषित भए पनि संयुक्त राष्टसंघले लैङ्गिकतामा आधारित हिंसाको परिभाषामा ‘मानसिक, शारिरिक, यौनिक र मनोवैज्ञानिक असर र स्वतन्त्रता’ लाई लैङ्गिक हिंसा परिभाषित गरेको छ । महिलाको इच्छा विपरित गरिने सबै कार्य हिंसा हो भनेर पनि प्रष्ट रुपमा लेखिएको छ । महिला हिंसा शक्ति संरचनामा आधारित छ । यस सन्दर्भमा हामी मर्यादित महिनावारीबारे कुरा गरिरहेका छौँ ।

अहिलेको युगमा पनि महिलाहरु महिनावारीको समस्या ज्यूँकात्यूँ छन । यसलाई महिलाको लाजको विषय बनाएर लुकाइने मात्र नभएर महिनावारी बार्ने क्रममा मृत्युवहन गर्नुपर्ने बाध्यतामा समेत पारिएको घामजत्तिकै छर्लङ्ेग छ । महिनावारी पाप हुँदै हैन । यो त शक्ति निर्माणको प्रक्रिया हो । शक्ति गतिशिल छ । परिस्थिति अनुसार बाहिर प्रकट भए पनि शक्ति निर्माण गर्न महिनावारी अभ्यास प्रमुख रहन्छ । यस धर्तीका आधा आकास महिला महिनावारी हुन्छन र मानपको सृष्टि भई शक्ति निर्माण हुने बैज्ञानिक कुरा हो । यो जति सत्य छ त्यति नै सत्य विश्वभर महिनावारी भएको समय गरिने हिंसाको रहेको छ । नेपालका सरोकारवाला र संचारले समेत यो विषयबारे थोरैमात्र कुरा उठाएको देखिन्छ । धर्म, गरिबी, अन्धविश्वास , अचेतना, भ्रमपूर्ण यथार्थता यसका मूल कारक छन । आखिर जे भए पनि केटी मान्छेमा शक्ति निर्माण गर्न महिनावारीले विशेष भूमिका निर्वाह गर्दछ यसरी हेर्दा महिनावारीको रगत अपवित्र होइन, पवित्र रगत हो । कुनै आमा महिनावारी हुँदैनथे भने मानव सृष्टि नै हुँदैनथ्यो ।



हामी जुन रगत बहने प्रक्रियालाई बार्नुपर्ने भनिरहेका छौँ, त्यही रगतको डल्लाबाट चोखा मानिस निर्माण भएको बैज्ञानिक प्रमाण हो । तर, कतिपय देश र नेपाली समाजमा अध्ययन र अभियान गर्दा बिटुलो रगतको दृष्टिकोण पढेलेखेकाहरुमा समेत निख्रिएको रहेनछ । नेपालजस्ता गरिब देशहरुका लागि डरलाग्दो समस्या यही भएको छ । मानव जीवनचक्र लैङ्गिकता स्वास्थ्य जीवन र मानव गरीमाको यो सवाल ओझेलमा परेको छ । यसैले डिसेम्बर ८ लाई म‍र्यादित महिनावारी दिवसका रुपमा मनाउन लागिएको छ । यो अभियानमा ऐक्यबद्धता प्रकट गर्ने देशहरु युगान्डा,इन्डोनेसियालगायतबाट प्रतिनिधिहरु यसका लागि आउँदै छन् । नेपालमा ८ डिसेम्बर मात्र नभएर १६ दिने अभियानको अवसरमा राष्ट्रियस्तरमा राधा पौडेल फाउन्डेसन, सरकारले र केही जिल्लामा नागरिक संस्थाहरुले कार्यक्रम आयोजना गर्दैछन् । महिनावारीले महिला सधै पीडित छन् र पुरुष पीडक भएका छन् ।

पुरुषको दाह्री जुँगा आउँछ त्यसमा त कसैले विषय बनाउँदैँनन् । महिलाको मासिक चक्र पनि दारी जुँगा आउने जस्तै मानवीय स्वभाविक प्रक्रियाका रुपमा बुझ्न र बुझाउन नसक्नु हामी सबैको कमजोरी हो । मानव सृष्टिको नयाँ जीवन दिने मासिक चक्रको रगत हो भनेर शिक्षित गर्ने नयाँ संस्कृति निर्माणमा जुट्नु आवश्यक छ । किनकि, मानव अधिकार घोषणापत्रहुँदै महिलामैत्री संविधान, नीति–निमार्णको बहस सुरु भए पनि विभेद कायम छ ।संविधानमा लिपिबद्व गरेको कुराहरुलाई व्यवहारमुखी बनाउनु सबैको दायित्व हुन्छ । महिनावारी बार्ने बाध्यताले महिलाको मर्यादित जीवनमा बाधा उत्पन्न भएको छ । छाउगोठ भत्काउने भन्दा मनको गोठ, भ्रम र मानसिकता परिर्वतनका लागि अध्ययन अभियान गर्न ढिला भएको छ । महिनावारी एक स्वभाविक प्रक्रिया हो भन्ने कुरा न हाम्रा पाठ्यपुस्तकले बुझाउन सकेको छ न सरोकारवाला निकायले यसलाई स्वभाविक प्रक्रिया हो भनेर बुझाउन सकेका छन् । यही कारण यो समस्याले हिंसात्मक रुप ग्रहण गरेको छ । महिनावारी बारे अनभिज्ञतामा किशोरीहरु हुर्किएका छन् ।

महिलालाई महिनावारी भएकै कारण घर, बासस्थान, भान्सा सबै ठाउँबाट निकाल्नु मानव अधिकारबाट उसलाई बञ्चित गर्नु हो । स्वतन्त्र रुपमा बस्न, खान पाउने हक हुने तर आफनै घरमा एउटा कोठामा बस्न नदिएर महिलालाई सजाय दिनु मानवीयता हैन ।यो समाज भावी पुस्ताका किशोरीहरुलाई पनि डर कै बिचमा हुर्काउँदै छ । महिनावारी हुँदा ५ दिन अलग्गै बस् भनेर गरिएको व्यवहार कसरी समान हक हुन्छ भन्ने जटिल प्रश्न उठाउनु जरुरी छ । समाज परिवर्तनसँगै हुने सबै सुधारसँगै यसमा सामान्य केही सुधार भए पनि यो विभेद नेपाल जस्तो देशमा बढी नै छ । महिनावारी हँदा विगतमा नरम कपडा प्याडको रुपमा प्रयोगमा आउँथ्यो, आज आधुनिक प्याड आउनु स्वभाविक परिर्वतन हुन भनेर लिन सकिन्छ । अर्को कुरा महिनावारी बार्ने परम्परा सुदुरपश्चिममा मात्र हो भन्ने भ्रम कायम छ । तर, नेपालभर छ भनेर बेवास्ता गरिएको छ । महिनावारीमा प्रयोग गरिने प्याड हामी नै उत्पादन गरौं । त्यसले रोजगारी पनि बढ्छ । यसैले पनि ८ डिसेम्बर र १६ दिने अभियानमा यस वर्षबाट निरन्तर लागौँ । मानव मर्यादा कायम गर्न सघाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: