स्वास्थ्य

शाकाहारी राम्रो कि मांसाहारी ?

मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।’ जीवन जिउने कला सिकाउने नाममा आयोजित गोष्ठीमा एक सहजकर्ताको खानासम्बन्धी यस्तै भ्रामक टिप्पणी सुनेपछि मैले पौष्टिकता र स्वास्थ्य विज्ञानको दृष्टिकोणले यसको आधार तथा वास्तविकतामा असहमति जनाए ।

अरूलाई खुसी हुने कला सिकाउनेको स्वभाव रिसालु र झर्किने त थियो नै, केही सहभागीको असहमति पछि उनी झनै आक्रामक देखिइन् । तर जो, जसरी प्रस्तुत भए पनि वास्तविकतालाई लत्याउन सकिँदैन । खानासम्बन्धी भ्रामक प्रचार भइरहँदा यही क्षेत्रमा संलग्न व्यक्ति चुप बस्नु भनेको गलतलाई प्र श्रय दिई भ्रम बढाउनु हो ।


advertisement

खानासम्बन्धी विषय व्यक्तिको जीवनमरणसँग जोडिएको हुँदा यसबारे अनुमान र सुनेका भरमा गरिने प्रचार खतरनाक हुन्छ । यस्ता खतरा कम गर्न दशकौं आधिकारिक अनुसन्धानले पुष्टि गरेका कुरालाई आधार बनाएर यस क्षेत्रका विज्ञहरूबाट मात्र खानासम्बन्धी सार्वजनिक टीकाटिप्पणी गर्ने संस्कारको विकास हुन जरुरी छ । विभिन्न बाबाहरू वा अरू कुनै नाममा प्राविधिक, यस विषयको चुरो नबुझेकाहरूले सोझा जनता माझ गरिरहेको भ्रामक प्रचार रोक्न जरुरी छ ।

मांसाहारी भोजन राम्रो कि शाकाहारी ? भन्ने विषय विवादमा आइरहने गर्छ । यसबारेमा सबैका आ–आफ्नै तर्क छन् । तर हामीले व्यक्तिको तर्कसँग होइन अनुसन्धानले पुष्टि गरेका वास्तविक र आधिकारिक कुराको आधार लिन जरुरी छ । विभिन्न अध्ययनअनुसार पूर्ण शाकाहारी भोजनका कारण भिटामिन बी १२ लगायतका भिटामिन, मिनरलजस्ता कतिपय पोषकतत्वको कमी हुन सक्छ । केही अनुसन्धानले पूर्ण शाकाहारी व्यक्तिहरूमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेका छन् ।

अनुसन्धानले पूर्ण शाकाहारी व्यक्तिहरूमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेको छ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ ।

मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने, रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि औंल्याएका छन् । अहिलेसम्मको अनुसन्धानलाई हेर्दा अति मांसाहारी र पूर्ण शाकाहारी दुवै गलत हो ।

शाकाहारी र मांसहारीका प्रकार

पहिलो : पूर्ण शाकाहारी अर्थात् भेगान जसले माछा, मासु, अन्डा, दूध तथा दुग्ध पदार्थ तथा जिलाटिन हालिएको खानासमेत खाँदैनन् ।

दोस्रो : ल्याक्टो भेजिटेरियन जसले माछा, मासु, अन्डा तथा जिलाटिन हालिएको खाना खाँदैनन् तर दूध तथा दुग्ध पदार्थ खान्छन् ।

तेस्रो : ल्याक्टो ओभो भेजिटेरियन जसले माछा, मासु खाँदैनन् तर अन्डा र दूध तथा दुग्ध पदार्थ खान्छन् ।

चौथो : खालको भेजिटेरियन आभो भेजिटेरियन हो र यस्तो भेजिटेरियनले माछा, मासु, दूध तथा दुग्ध पदार्थ खाँदैनन् तर अन्डा खान्छन् ।

पाँचौं : आंशिक भेजिटेरियन हुन र उनीहरूले मासु खाँदैनन् तर माछा खान्छन् । यस्ता भेजिटेरियनलाई पेस्काटारियन पनि भनिन्छ । केही आंशिक भेजिटेरियनहरू चारखुट्टे जनवारको मासु खाँदैनन् तर कुखुराको मासु खान्छन् जसलाई पोलो भेजिटेरियन भनिन्छ । स्वास्थ्यका दृष्टिकोणले पूर्ण भेजिटेरियन बाहेकका अन्य चार खालका भेजिटेरियन त्यसमा पनि माछा, अन्डा, सेतो मासु खाने खालका आंशिक भेजिटेरियन राम्रो हो ।

फाइदा बेफाइदा

मांसाहारी भोजन कम गर्ने र सन्तुलित शाकाहारी भोजनको सेवनले उच्च कोलेस्टेरोल, मुटु रोग, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याबाट बचिन्छ । मांसाहारी भोजन उच्च गुणस्तरको प्रोटिन तथा कतिपय भिटामिन र मिनरलको राम्रो स्रोत हो । यी पोषक तत्व शाकाहारी भोजनबाट नपाइने भन्ने होइन । तर जति सजिलैसँग मांसाहारी भोजनबाट पाइन्छ, तिनै तत्व त्यही मात्रामा शाकाहारी भोजनबाट पाउनका लागि धेरै खालका खानाको विविधता मिलाउन जरुरी हुन्छ । अत: स्वाद, सन्तुष्टि, पोषण, खर्च आदिका आधारमा पनि शाकाहारी भोजनलाई प्राथमिकता र नियमित सन्तुलित मात्रामा स्वच्छ माछा, मासु वा अन्डाको उपभोग नै स्वस्थ्यवद्र्धक हुन्छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: