जाडोलाई कसरी स्वागत गर्ने ?

meropati

तपाईंले महसुष गरिसक्नुभयो कि, हिजोभन्दा आज चिसो छ । अस्तिभन्दा हिजो चिसो थियो । यसरी दिनदिनै मौसमी तापमान ओह्रालो लाग्दैछ ।

मौसमी चक्र अनुसार कहिले गर्मी हुन्छ, कहिले चिसो । कहिले झरी पर्छ, कहिले तुसारो । कहिले प्रचन्ड चर्कन्छ, कहिले ठिहिर्‍याउने चिसो बढ्छ । अहिले चिसो मौसम सुरु भएको छ । र, धेरैलाई यो मौसम उति निको लाग्दैन ।



चिसोमा कठ्यागि्रएर बस्नुपर्ने हुन्छ । रात लामो र दिन छोटो हुने भएकाले धेरैको दैनिकी धपेडीमा बित्छ । यो मौसमले केही शारीरिक समस्या पनि लिएर आउँछ । जस्तो कि, दम, रुघा, खोकी, जोर्नीको दुखाई आदि । बालबच्चा, बुढाबुढी, रोगी, सुत्केरी आदिका लागि अरु कष्टकर बन्छ चिसो मौसम । त्यसैगरी यो मौसम डिप्रेसन वा मानसिक तनावको कारण पनि बन्नेगर्छ ।

यद्यपि चिसो मौसम हाम्रो लागि प्रतिकुल हुन्छ भन्नु पनि ठिक होइन । हरेक मौसमको आफ्नै गुण र दोष हुन्छन् । चिसो मौसमको पनि कतिपय गुण छन् । खासगरी शारीरिक गतिबिधी एवं काममा जाँगर चलाउनका लागि यो मौसम उपयुक्त हुन्छ । गर्मीमा जस्तो अल्छी लाग्दैन । सधै फ्रेस अनुभव हुन्छ ।

जाडो याममा हुनसक्ने संभावित समस्याबाट कसरी बच्ने, जाडो याममा कसरी रमाउने ? यो कुरा हामीले जान्नुपर्छ ।

जस्तो कि तपाईं कल्पना गर्नुहोस्, न्यानो सिरकमा गुटमुटिएर तात्तातो कफी पिउँदै घतलाग्दो उपन्यास पढ्न कति आनन्द हुन्छ ? तातो सुप खाँदै टेलिभिजनमा फिल्म हेर्न कति रमाइलो हुन्छ ? रेडियोमा गीत सुन्दै हिटर वा आगो ताप्न कति मज्जा हुन्छ ? पारिलो घाममा बसेर सुन्तला वा वादम खानुको कति स्वाद हुन्छ ?

शारीरिक क्रियाः भित्रैबाट न्यानो

ज्यान तताउने के गर्ने ?

यसको सबैभन्दा सरल र प्रभावकारी काइदा हो, व्यायाम । उफ्रिनुपर्छ, तन्कनुपर्छ, दौडनुपर्छ । यावत् क्रियाले शरीरलाई भित्रैबाट न्यानो दिलाउँछ । आगो वा हिटर तापेर, सिरकभित्र डल्ला परेर त क्षणिक रुपमा न्यानो प्राप्त गर्न सकिन्छ । यी न्यानोका वाहिरी स्रोत हुन् । भित्री स्रोत शरीरभित्रै छ ।

यतिबेला के पनि बुझ्नुपर्छ भने, हाम्रो शरीर-संरचना आफैमा अनमोल छ । न्यानो शरीरभित्र छ । सितल पनि शरीरभित्रै छ । यद्यपी हामी आफैसँग भएका यी स्रोतको उपयोग गर्दैनौं । नजानेर मात्र होइन, नचाहेर पनि ।

जब वाहिरी वातावरण चिसो हुँदै जान्छ, शरीरले भित्रैबाट स्वतस्फूर्त तापमान कायम राख्न खोज्छ । त्यही कारण त चिसो बढ्दै जाँदा छालामा काडा उम्रन्छ । कम्पन छुट्छ । कम्पन छुट्नु भनेको शरीर चलायमान बनाउनु हो । जब हामी थरथर काम्न थाल्छौं, त्यसले पनि तापमान पैदा गर्छ । यो शरीरले स्वतस्फूर्त गर्ने क्रिया हो ।

त्यसैगरी जब गर्मी हुन्छ । शरीरले स्वतः पसिना पैदा गर्छ । पसिना आउनु भनेको शरीरलाई शितलता कायम गर्नु हो ।

मौसमी तापमानसँग यसरी तालमेल मिलाउनका लागि शरीरभित्र नै यस्तो प्रणाली छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । चाहे जतिसुकै जाडो होस् । मौसम धुम्मिएको होस् । हिउँ परेको होस् । शारीरिक क्रिया गर्नुपर्छ, श्रम गर्नुपर्छ शरीर आफै न्यानो हुन्छ । शरीरलाई सक्रिय वा चलयामान बनाएर न्यानो पैदा गर्नका लागि व्यायाम सर्वोत्तम विकल्प हो ।

व्यायाम गरेपछि रक्तप्रवाह सहि ढंगले हुन्छ । श्वासप्रश्वास प्रक्रिया चुस्त हुन्छ । शरीरका अंग-प्रत्यंग सक्रिय हुन्छ । शरीरमा बेग्लै फूर्ति अनुभूत हुन्छ ।

जाडो याममा शरीरलाई न्यानो राख्ने काइदा भनेको दिनभर शारीरिक रुपमा सक्रिय रहने हो । खेती किसानी गर्ने वा शारीरिक काम गर्नेलाई त यस्तो जाडोले खासै असर गर्दैन । घरभित्र बसेर वा एकै स्थानमा बसेर काम गर्नेहरुले भने शरीरलाई सक्रिय राख्नुपर्छ ।

कार्यलयमा वा आफ्नो कार्यथलोमा रहँदा पनि हिँडडुल गर्ने, यताउता गर्ने गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: