समाचार

आज लगातार पानी नपर्ने : यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमान्डौं, २८ मंसिर । मौसमविदहरुले आज हिजो शुक्रबारको जस्तो लगातार पानी नपर्ने बताएका छन् ।

हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।


advertisement

मध्य र पूर्वका एक/दुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने उहाँले बताउनुभयो । आज मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने हुने भएकाले पूर्वको मौसम भने खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै धनगढीमा ६४ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी र हिउँसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

यो यामकै पहिलो हिमपात भएकाले बालीनाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसीर २८ गते (शनिबार)

दिउँसो: देशका मध्य र पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

केहि उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले उच्च पहाडी सहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: