मुख्य समाचार

धनुषा बम विस्फोट : केही छैन भन्दै इन्सपेक्टर अघि अघि जवान पछि पछि

काठमाण्डौ, २८ मंसिर । गए राती धनुषामा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक इन्स्पेक्टर अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ । बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।

यस्तै बम विस्फोटमा परेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरुमाराजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह रहेका छन् । यस्तै प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


advertisement

यसरी घट्यो घटना

राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा एउटा झोला झुन्ड्याइएको थियो । मध्यरातमा राजेशकी श्रीमती शौचका लागि उठिन् । ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई पनि उठाइन् । राजेशले तत्कालै झोला झुन्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ आफै घटनास्थल पुगे ।

ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर छोएर हेर्न खोज्दा बम विस्फोट भएको हो । बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य चारजना घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो । बम विस्फोटबाट साहको बन्दै गरेको घरका झ्यालका सिसा, शौचालयका ढोका, घरको छानोलगायतमा पनि क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार विप्लव नेतृत्वको नेकपाले बम झुन्ड्याएको हुनसक्ने आशंका छ । डीएसपी कार्कीले भने, ‘अहिलेसम्म घटनाको कसैले जिम्मा लिएको छैन् । मृतक साह विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ । घटना कसले, किन घटायो भन्ने विषयमा अनुसन्धान गर्न सुरक्षा समितिको बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: