बम विस्फोट : शंकास्पद झोला लट्ठीले सार्न खोज्दा पड्कियो

Avatar
२८ मंसिर २०७६, शनिबार १४:०१

जनकपुर, २८ मंसिर । धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलस्थित औषधि व्यावसायीको घरमा शुक्रबार राति भएको बम विस्फोटमा ३ जनाको मृत्यु भयो । घटनामा घरधनी ४५ वर्षीय राजेश साह, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाे हो ।

घटनामा ४ जना घाइते भएका छन् । महेन्द्रनगर बजारमा मेडिकल स्टोर तथा डेरी उद्योग संचालन गर्दै आएका मृतक साहको घरमा राती शंकास्पद वस्तु देखिएपछि उनिहरुले महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिए । सूचना पाएलगत्तै निरीक्षक दाहालको नेतृत्वमा सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए । दाहालले शंकास्पद वस्तु हटाउन खोज्दा पड्किएको थियो । विष्फोटमा मृतक राजेशका पिता ७० वर्षीय भिखारी साह, छोरी अन्दाजी १९ वर्षीया निकी कुमारी, कान्छो छोरा १२ वर्षीय प्रकाश साह तथा प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
राती सौच गर्न निस्केकी मृतक राजेशकी श्रीमतिले दुई तल्ले घरतर्फ जाने मूल ढोकामा रातो कपडामा बेरिएको शंकास्पद वस्तु देखेपछि श्रीमानलाई जगाएकी थिइन । श्रीमान् श्रीमतिले टाढैबाट हेर्दा झोलामा प्रेसर कुकर रहेको देखेपछि त्यही ढोकाबाट भित्र छिरेर घरमा सुतिरहेका छोरा छोरीहरुलाई घर बाहिर निकालेर प्रहरीलाई सूचना दिएका थिए । प्रहरीलाई सूचना दिएपछि उनीहरु पुरानो घरमा गएर बसे । मृतक राजेशको करीव एक सय मिटरको दूरीमा अर्को घर पनि छ । त्यो घरमा औषधी पसल, डेरी उद्योगलगायत व्यवसायिक कारोवार हुन्छ । राजेशका आमा बुवा पुरानै घरमा बस्छन् । प्रहरी घरमा पुगेपछि राजेशले शंकास्पद वस्तु देखाई दिए । निरीक्षक दाहालले घरका सदस्यहरु पटक– पटक ओहोर दोहोर गरेको देखेर शंकास्पद झोलामा वम नरहेको आकलन गरे । त्यसपछि, लट्ठीले झोलालाई अन्त सार्न खोज्दा पड्किएको मृतकका घाइते पिता भिखारीले जानकारी दिए ।
उपचारार्थ प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका भिखारीले विष्फोट पछि आफू वेहोस भएको बताए । विष्फोटमा उनको एउटा आँखा नदेखिने भएको छ । प्राथमिक उपचार पश्चात घाइतेहरुलाई राति नै थप उपचारको लागि धरान लगिएको छ । राजेशको घरमा विष्फोटक पदार्थ कसले र किन राख्यो भन्ने विषयमा हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो । मृतक साह औषधी र डेरी उद्योगसंगै व्याजमा ऋण लगाउथे । घटना सूचना पाए लगत्तै हेटौडा कार्यक्रममा सहभागि हुन गएका क्षीरेश्वर नगरपालिकामा मेयर योगी पंजियार शनिवार विहानै नगर फर्केका छन् । उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कार्यवाहीको माग गरेका छन् ।
यो पनि पढ्नु होस 
https://khabarkhurak.com/2019/12/24951.html
प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार १४:०१

प्रतिक्रिया दिनुहोस्