हाँसीहाँसी नाचीनाची पढाउने स्कुल

meropati

आज हामी (मदनकृष्ण दाइ र म) जुन अवस्थामा छौं, यो सबै नेपाली दर्शकले दिएका मायाले नै हो। यहाँसम्म आइपुग्छौं भनी मैले कहिल्यै सोचेको पनि थिइनँ। अनि नेपालको कलाकारिता क्षेत्रमा म यति माथि पुग्न सक्छु र यसलाई पेसा बनाउँछु भन्ने त झन् कल्पनै गरेको थिइनँ। मैले बुझेको एउटा कुरा के हो भने भाग्य र कर्ममा अलिकति भए पनि विश्वास गर्नुपर्ने रहेछ। आज हामी जुन ठाउँमा आइपुगेका छौं, यसका लागि म कर्मलाई त धन्यवाद दिन चाहन्छु। तर, भाग्यलाई पनि धन्यवाद किन दिन चाहन्छु भने सही समयमा जन्मिने र काम गर्ने अवसर मान्छेले सितिमिति पाउँदैन। तर हामीले पायौं।

हुन त विगतमा हामीभन्दा प्रतिभाशाली अग्रजहरू पनि हुनुहुन्थ्यो। त्यसैगरी हामीभन्दा पछिल्लो पुस्ताका भाइबहिनी पनि त्यति नै भाग्यमानी छन्। अझै पनि थुप्रै प्रेरणादायक मान्छेहरू छन्।



हामीले यस्तो बेलामा कलाकारिता पेसा अगाडि बढायौं, जतिबेला म सानो थिएँ, अर्कै स्वभावको थिएँ। ममा चञ्चलता अलि बढी थिए। स्कुलमा पढ्दा साथीहरू मसँगै झुम्मिएर बस्थे। मैले केही बोल्दा पनि खुब हाँस्थे। उनीहरू ‘हँसा न हँसा’ भनिरहन्थे। म पनि जानीनजानी हँसाइदिन्थें। पछि गएर यही मेरोे पेसा बन्न पुग्यो।

एकचोटिको कुरा हो, काठमाडौंको जयनेपाल सिनेमा हलमा एक दिन मात्र ‘फर्ज’नामक हिन्दी फिल्म प्रदर्शन भयो। त्यो चलचित्रमा एक चिनियाँ नागरिकलाई ‘भिलेन’ बनाइएको रहेछ भने नायक थिए जितेन्द्र। फिल्ममा चिनियाँ नागरिकलाई भिलेन बनाएको आरोपमा चाइनिज एम्बेसीले त्यो फिल्म बन्द गर्न लगायो।

त्यतिबेला ममा फिल्म हेर्ने लत बसिसकेको थियो। जुनसुकै फिल्मको पहिलो दिनको पहिलो शो हेर्ने मेरो उद्देश्य हुन्थ्यो। त्यतिबेला सायद म आठ कक्षामा पढ्थें, तर पढाइ भनेपछि दिक्क लाग्थ्यो। किनभने पढाइमा कमजोर थिएँ। मलाई आमाबुवाले संस्कृत विद्यालयमा भर्ना गरिदिनुभएको थियो। त्यतिबेला पढ्न नजान्ने विद्यार्थीलाई कुट्ने चलन थियो। यसले जान्दैन भनी सरहरू पनि मलाई नै धेरै प्रश्न सोध्थे। नजानेपछि कुट्थे। त्यसपछि मलाई सरहरूको कुटाइ खानुभन्दा भाग्नु बेस लाग्थ्यो। भागेर जय नेपाल माध्यमिक विद्यालय, विश्व ज्योति माध्यमिक विद्यालय, रञ्जना माध्यमिक विद्यालय, अशोक माध्यमिक विद्यालयजस्ता फिल्म विद्यालयहरूमा माध्यमिक कक्षा पढ्न थालें।

यता स्कुलमा टाइ–सुट, पाइन्ट–सट र कमिज–सुरुवाल लगाएका सरहरू र साडी लगाएका मिसहरूले पढाउँथे भने उता सिनेमा माध्यमिक विद्यालयहरूमा जितेन्द्र सरहरू पढाउँथे। हेमा मालिनी र हेलेन मिसहरूले हाँसीहाँसी, नाचीनाची पढाउँथे। त्यसैले मलाई पढ्ने स्कुलको कक्षाभन्दा सिनेमा हलको कक्षा मन पर्न थाल्यो। म त्यहाँ जान्थें। मैले ‘मनको बाँध’ चलचित्र २२ पटक हेरेको छु। मलाई हेरेका फिलिमका संवाद लगभग सबै याद हुन्थ्यो।

‘फर्ज’ फिल्म बन्द भएपछि यसको चर्चा चुलिएको थियो। त्यो फिल्मबारे सबैमा चासो पनि थियो। त्यतिबेला जसले त्यो फिल्म हेरेको हुन्थ्यो, उसको बेग्लै सान हुन्थ्यो। भाग्यवश मैले त्यो फिल्म हेर्ने मौका पाएँ। बाटोमा हिँड्दा सबैले ‘यो त फर्ज हेर्‍या मान्छे हो, फर्ज हेर्‍या’ भन्थे। पछि–पछि लागेर त्यो फिल्मको कथा सुनाउन आग्रह गर्थे।

स्कुलका साथीहरू पनि त्यो फिल्मका कथा सुनाउन निकै कर गर्थे। ‘म त सित्तैमा कथा भन्दिनँ, कथा सुन्ने भए एक रुपैयाँ दिनुपर्छ’ भन्थें। साथीहरू खाजा खान भनी ल्याएको ५–१० पैसा संकलन गरेर एक रुपैयाँ पुर्‍याउँथे र मलाई दिन्थे।

खासमा मैले त्यो फिल्म राम्ररी बुझेकै थिइनँ। अलिअलि संवाद र गीत भने कण्ठ थियो। आफैं कथा र संवाद बनाएर हिन्दी भाषामा सुनाइदिन्थें। तर आज सुनाएका कथा भोलि बिर्सन्थें। भोलि सुनाएका कथा पर्सि बिर्सन्थें। जतिपटक कथा सुनाउँथें, त्यतिपटक फरक–फरक हुन्थे। त्यो सम्झेर मनमनै हाँस्थें। सबै रमाउँथे पनि। पछि मलाई महसुस भयो– मैले कलाकारिता त्यही दिन सुरु गरिसकेको रहेछु, जुन दिन कथा सुनाएर दैनिक तीनचार रुपैयाँ कमाउन थालिसकेको थिएँ।

मलाई लाग्छ– कुनै मानिसको जीवनमा असफलतासँगसँगै सफलता पनि जोडिएर आउँदो रहेछ। म पटकपटक असफल भएको छु। मेरो पढाइ डामाडोल भयो। दुईपटक एसएलसी दिएँ पास गर्न सकिनँ। त्यसपछि अब कटाउन सक्दिनँ भनेर दुई वर्ष ग्याप गरें। फेरि परीक्षा दिएँ। बल्लतल्ल चारपटकमा एसएलसी गरें। ती चार वर्षको अन्तरालमा मलाई जागिर नखाइनहुने, पैसा आर्जन नगरिनहुने पारिवारिक अवस्था थियो।

रेडियो नेपालका एकजना जितेन्द्र ‘अभिलाषी’ दाइ हुनुहुन्थ्यो। त्यतिबेला रूपक नाटक चलिरहेको थियो। त्यसमा काम गर्न पाउँछु कि भनी दाइको पछिपछि हिँड्थें। खासमा दाइलाई रातका बेला सँगसँगै हिँड्ने एकजना साथी चाहिन्थ्यो। उहाँ भित्रभित्रै कतै जानुहुन्थ्यो। तर सुन्दरी होइन सुराका निम्ति। म जहिले पनि पर्खेर बस्थें। मैले त्यति ड्युटी गरेवाफत उहाँले मलाई रेडियो नेपालमा लगेर रेडियो नाटक खेलाउनुभयो। त्यसबाट मैले पनि पारि श्रमिक पाउन थालें।

केही समयपछि राष्ट्रिय नाचघरमा मलाई हरिप्रसाद रिमालज्युले अमरसिंह नाटक खेल्ने अवसर दिनुभयो। नाटक खेल्दा मैले एउटा सिपाहीको सानो रोल पाएँ। त्यसमा मैले एउटा संवाद बोलेर मर्नुपर्ने थियो। नाटक एक महिनासम्म लगातार हाउसफुल भएर चल्यो। तर रमाइलो कुरा के भने मञ्चको एउटा कुनामा मर्ने दृश्य थियो। राष्ट्रिय नाचघरको सरसफाइ पनि त्यति राम्रो थिएन। लामखुट्टे एकदमै हुन्थे। नाटकमा मर्ने दृश्यमा मर्दा गालामा मच्छरले खुब टोक्थे। मरेको मान्छे चल्ने कुरा भएन। बल्लबल्ल फुकेर उडाउँथें। फेरि कानमा गएर टोक्थे। त्यतिबेला मच्छरको टोकाइ खुब सहनुपर्‍यो।

सँगै मर्ने एकजना साथी हुन्थ्यो, उसलाई मच्छर भगाउन इसारा दिन्थें। उसले पनि वास्तै गर्थेन। बल्लबल्ल एउटा पात्र ‘वीर सहिदहरू, तिमीहरू मर्‍यौ। म पनि देशका लागि तिमीहरूसँगै मर्छु’ भनेर चक्कु लिँदै संवाद बोल्थ्यो। त्यतिबेला सबैको ध्यान त्यो चक्कुमा हुन्थ्यो। यही मौकामा मच्छरले टोकेको ठाउँमा खुब कन्याउँथें। नाटक हेर्ने ससाना भाइबहिनी मैले कन्याएको देखेर ‘ए मरेको मान्छे चल्यो’ भनेर जोडले कराउँथे।

एकपटक राजा वीरेन्द्र र रानी ऐश्वर्य नाटक हेर्न आउनुभएको थियो। उहाँका सचिव नारायणप्रसाद श्रेष्ठ पनि थिए। उहाँले मलाई देखाएर ‘यो केटा को रैछ ? निकै राम्रो अभिनय गर्दाे रहेछ’ भनेका थिए। यति के भन्नुभएको थियो, मेरो महिनाको सय रुपैयाँ तलब बढ्यो। त्यसपछि म नाचघरमा करारमा जागिरे भएँ। अर्कोपटक फेरि राजारानी नाटक हेर्न आउनुभयो। त्यसबेला रानी खुब हाँस्नुभएछ। रानी हाँस्नुभएकाले फेरि मेरो सय रुपैयाँ तलब बढ्यो। त्यो बेलामा नारायण गोपाल दाइहरूले ३५० रुपैयाँ तलब खानुहुन्थ्यो। मलाई पनि उहाँहरूको हाराहारी पुग्न सकेकोमा खुसी लाग्थ्यो।

गाईजात्राको समय आयो। गाईजात्रामा मदन दाइले एउटा ‘यहाँ बाँच्न कठिन भो’ गीत गाउनुभएको थियो। साथै प्रहसन पनि देखाउनुभएको थियो। उहाँहरूलाई देखेर म पनि गर्न सक्छु जस्तो लाग्यो। अर्को वर्ष २०३४ सालमा ‘आधुनिक श्राद्ध’ नामक एउटा प्रहसन हास्यव्यंग्य तयार गरेर मञ्चन गरें। नभन्दै मैले उत्कृष्ट भएर नौ हजार इनामसहित गोल्डमेडल पाएँ। राम्रो काम गरे पैसा पनि आउँदो रहेछ भन्ने थाहा भयो। त्यतिबेला मलाई पैसाको पनि खाँचो थियो। यसरी म प्रत्येक वर्ष भाग लिन थालें। सबैमा सफल पनि भएँ।

एकपटक गाईजात्राको बेलामा रुबी जोशी जो नेपालकी आदरणीय गायक तथा संगीतकार पनि हुनुहुन्छ। उहाँले हामीसँग ‘९० मिनेट मात्र समय छ। तपाईंहरू दुवैजना सँगै काम गर्नुस् न’ भन्नुभयो। त्यसपछि दुवैजना मिलेर एउटा हास्यव्यंग्य प्रहसन बनायौं। मलाई मदन दाइको शालीनता र सहिष्णुता देखेर एकदमै राम्रो लाग्यो। उहाँले पनि मलाई राम्रो नै मान्नुभयो। यसरी हामी जोडियौं।

मदन दाइले ‘फेरि अर्को कार्यक्रम मिलेर बनाऔं न त’ भन्ने प्रस्ताव ल्याउनुभयो। ‘यमलोक’ भन्ने प्रहसन बनायौं। त्यतिबेला विजयबहादुर मल्ल पनि त्यहाँको सदस्य हुनुहुन्थ्यो। उहाँले कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यकार भएकाले हाम्रो कार्यक्रममा बोलाउनुभयो भने गणेशमानलाई बोलाउनुभएन। बीपीले पनि ‘यी दुईजना त राम्रा कलाकार रहेछन्’ भनेर हामीलाई औंल्याउनुभएको रहेछ।

राष्ट्रिय नाचघरमा अमरसिंह नाटक मञ्चन हुँदा मैले सिपाहीको रोल पाएको थिएँ। मैले एउटा संवाद बोलेर मर्नुपर्ने थियो। त्यो दृश्यमा मर्दा गालामा मच्छरले खुब टोक्थे। मरेको मान्छे चल्ने कुरा भएन। बल्लबल्ल फुकेर उडाउँथें। फेरि कानमा गएर टोक्थे। त्यतिबेला मच्छरको टोकाइ खुब सहनुपर्‍यो।

हामीले ‘यमलोक’ र ‘प्यारालाइसिस’ नामक प्रहसन रेकर्ड गरेर बजारमा ल्यायौं। यसले हामीलाई आर्थिकका साथै ख्यातिका हिसाबले पनि निकै माथि पुर्‍यायो। समयले हामीलाई यस्तो बेलामा जन्माइदियो कि जतिबेला दलहरू प्रतिबन्धित र तत्कालीन शासनका विरोधी थिए। दलहरू डेमोक्रेटिक मुभमेन्टतिर लागिरहेका थिए। हामी पनि त्यो मुभमेन्टमा जाने एउटा साथ पायौं। त्यो बेलामा केही नयाँ कार्यक्रम गर्नुपरेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरू कुनै न कुनै कार्यक्रम गर्दा हामीलाई सम्झिनुहुन्थ्यो। यसरी हाम्रो हास्यव्यंग्यमार्फत राजनीतिक आन्दोलनलाई सहयोग पुगिरहेको थियो। हाम्रा हास्यव्यंग्यका अनगिन्ती क्यासेट बजारमा आउन थाले। हाम्रो आवाज सबैले सुन्न पाए।

केही समयपछि नेपालमा टेलिभिजनको युग सुरु भयो। टेलिभिजनको सुरुवात हुँदा हामीले ‘फिप्टी–फिप्टी’ भन्ने कार्यक्रम बनायौं। ‘१५ गते’ नामको चलचित्र बनायौं। यसमा उल्टै हम्रो ६५० रुपैयाँ खर्च भएको थियो। त्यो बेला हामी टुटा परेका थियौं। त्यसपछि ‘लालपुर्जा’, ‘चिरञ्जीवी’, ‘वनपाले’ जस्ता टिलिसिरियल बनायौं। तर पारि श्रमिक पाउँदैनथ्यौं। कुरा यति हो कि आज ती चीजले हामीलाई जिउँदो राखेको छ। युट्युबमा महसञ्चार भनेर हेर्ने हो भने अनगिन्ती टेलिफिल्म हेर्न पाइन्छ। आवाजले मात्र चिन्ने दर्शकसामु टेलिभिजनले हाम्रो अनुहार पनि चिनायो।

यो संसारमा जबसम्म सेटेलाइट बाँच्छ तबसम्म हामी बाँच्नेछौं। युट्युब नभएको भए सायद हाम्रो सबै अस्तित्व वा काम मेटिइसक्थ्यो। कुनै पनि डकुमेन्टको रेकर्ड रहँदैनथ्यो। त्यसमाथि नेपालमा ‘डकुमेन्टसन सिस्टम’ त्यति राम्रो छैन।

हाँस्यव्यंग्य क्षेत्रमा छवि बनाएका हामीजस्ता कलाकारलाई अग्रज तथा जनगायक रामेश श्रेष्ठले निकै सहयोग र हौसला प्रदान गर्नुभएको छ। बलिदान चलचित्रमा अभिनयका लागि उहाँले भन्नुभएको थियो, ‘तपाईंहरू खेल्न सक्नुहुन्छ, अभिनय भनेको आँखाले हुन्छ।’ उहाँको यस्तो हौसलाले अन्ततः हामीले बलिदान चलचित्रमा अभिनय गर्ने मौका पायौं र राम्रो पनि भयो।

त्यस्तै विभिन्न संघसंस्थाले पनि हामीलाई बोलाएर विभिन्न कार्यक्रम गर्न लगाउनुभयो। पारि श्रमिक दिनुभयो। त्यस्ता कार्यक्रम वा संस्थाबाट आएको रकमलाई ठाउँठाउँमा शौचालय बनाउने, खेलकुदका सामग्री दिने, पुस्तकालय खोल्नेजस्ता सामाजिक काम गर्न थाल्यौं। यसरी समाजसेवामा लाग्नुपर्छ भन्ने नयाँ बाटो पत्ता लगायौं। यस्ता कामले गर्दा धेरैले सहयोग पनि गरे। यसरी हामी निरन्तर कला, संस्कृति, भाषा र समाजका लागि काम गर्दै आइरहेका छौं।

लेखन कलाकारिताको जेठो विधा हो। आफूले अभिनय गरेका प्रायः सबै टेलिसिरियल आफैंले लेखेका हौं। सबभन्दा पहिला हामीले कापीमा लेख्यौं, रिहर्सल गर्‍यौं अनि बल्ल रंगमञ्च वा टेलिसिरियलमा प्रस्तुत गर्‍यौं। जुन कार्य हामी गर्दै आइरहेका छौं। तर यहाँ टेलिसिरियल, नाटक, प्रहसन लेखेर लेखकको दर्जा नपाइने रहेछ। लेखक हुनका लागि बजारमा किताब नै ल्याउनुपर्ने अवस्था छ।

त्यसैले मेरो लेखन अस्तित्व नमेटियोस् भनेर आत्मकथा ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ उपन्यास लेखेँ। मदन दाइले पनि ‘महको म’ किताब लेख्नुभयो। कतिपयले मलाई ‘अरूलाई लेखाएर लेखक बन्यो’ भन्ने आरोप लगाए। तर म के कुरा स्पष्ट पार्नु चाहन्छु भने हामीले लेखन रंगमन्चमा पाइला टेक्दादेखि नै गरेका हौं। हाम्रो कलाकारिताको पहिलो र जेठो विधा लेखन हो।

(रेडियो अन्नपूर्ण नेपालले बिहीबार आयोजना गरेको ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रेटी’ कार्यक्रममा सम्मानितपछि उनले सुनाएको विचार)

प्रस्तुति : इन्द्र चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: