निर्माण सुरक्षामा हेलचेक्र्याइँ

Avatar
३० मंसिर २०७६, सोमबार १४:२३

नेपालमा भौतिक पूर्वाधारमा खर्च वर्षेनि बढेसँंगै अग्ला, ठूला र जटिल प्रकृतिका निर्माणको क्रम पनि बढ्दै गइरहेको छ । योसँगै निर्माण सुरक्षामा भने अपेक्षित सुधार आउन सकेको छैन । निर्माण क्षेत्र असंगठित र निर्माण कार्य अन्यका तुलनामा बढी जोखिमपूर्ण हुने हुँदा सम्बद्ध मजदुरहरूको सुरक्षा स्थितिलाई बढी महत्त्व दिनुपर्ने हुन्छ ।  असुरक्षित तवरले काम गर्दा सामान्य चोट पटक लाग्ने मात्र नभई कामदारहरूको मृत्युसम्म हुन सक्छ ।

भनिन्छ, कार्यस्थलमा हुने ठूला दुर्घटनामध्ये २० प्रतिशत निर्माणसम्बद्ध हुन्छन् । अर्थात्, कार्यस्थलमा प्रत्येक कामदारको मृत्यु हुँदा तीमध्ये एक जनाको चाहिँ निर्माणसम्बन्धी काममा भएको हुन्छ । यस परिप्रेक्ष्यमा, लगभग १० लाख मानिसलाई रोजगारी दिएको भनिने नेपालको निर्माण क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको स्थितिप्रति समयमै सचेत कदम नचाले कामदारहरूको अवस्था झन्झन् भयावह बन्दै जानेछ ।

निर्माण श्रमिक बाहेकका सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने क्रममा वृद्धि हुँदै गएको देखिन्छ । उदाहरणका लागि, आ.व. २०७३–७४ मा ट्रक र टिपरका कारण २,२३० दुर्घटना भएका थिए भने आ.व. २०७४–७५ मा २,४३० र आ.व. २०७५–७६ मा २,७०९ । ट्रक र टिपरसम्बद्ध ८०५ दुर्घटना चालकको लापरबाहीका कारण भएको ठानिन्छ । यो पृष्ठभूमिमा निर्माण सुरक्षाको विषयलाई विशेष महत्त्वसाथ कार्यान्वयनमा ल्याउन सरोकारवालाको ध्यान जानु अत्यावश्यक भइसकेको छ ।

हाम्रो सन्दर्भमा निर्माणस्थलमा हुने दुर्घटनाका प्रमुख पाँच कारण छन् ।

१. अग्लो ठाउँबाट खस्नु वा माथिबाट खसेको वस्तुले लाग्नु : सुरक्षा कवच (सेफ्टी नेट) को प्रबन्ध नगरिकनै, सुरक्षा पेटी (सेफ्टी बेल्ट) नलगाई, भरपर्दो टेक्ने वा समाउने ठाउँको बन्दोबस्तबिना नै निर्माण कार्य गरे–गराएको हामीले जताततै देख्ने गरेका छौं । यही कारण घरको छतबाट खसेर निर्माण मजदुरको मृत्यु भएका समाचारहरू आइरहेकै हुन्छन् । उदाहरणका लागि, २०७६ वैशाखमा विराटनगरमा निर्माणाधीन घरको तीन तलाबाट खसेर २६ वर्षीय निर्माण मजदुरको मृत्यु भयो ।
 
२. निर्माण उपकरणबाट खस्नु वाकिचिनु : एक्साभेटर, लोडर, क्रेन, टिपर, ट्र्याक्टर जस्ता निर्माण उपकरणहरूलाई विशेष सुरक्षा व्यवस्थाबिनै निर्माण कार्यमा प्रयोग गर्दा र सडकमा ओहोरदोहोर गराउँदा हुने दुर्घटनाको संख्या बढ्दै गएको छ । उदाहरणका लागि, २०७६ भदौमा काठमाडौंको तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भयो । 

त्यस्तै, जेठमा पश्चिम रुकुममा डोजरले किच्नाले १२ वर्षीय बालकले दुइटै खुट्टा गुमाउनुपर्‍यो । महेन्द्रनगरमा एक्साभेटर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भयो । २०७० भदौमा रूपन्देहीमा रहेको सिद्धार्थ सिमेन्ट उद्योगमा डोजरले एक श्रमिकको ज्यान लियो । यस्ता निर्माण उपकरणहरू सामान्य सडकमा सामान्य तवरले गुडाउन नपाउनुपर्ने हो, तर हामीकहाँ यी कुरामा कसले ध्यान दिने ?

३. निर्माण सामग्री ओसारपसार गर्दापर्नु : मजदुरहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा दुवैमाथि उचित ध्यान दिनुपर्ने हुन्छ । तर हामीकहाँ सिमेन्ट पनि नछोपी सामान्य ट्र्याक्टरमा व्यस्त सडकमा ओसारिरहेको देख्नु एकदमै सामान्य भएको छ ।
अझ कामदारहरूसमेत त्यसैमा असुरक्षित तवरमा बसिरहेका हुन्छन् । मुस्ताङको स्याङ्बोचेमा २०७५ असारमा भएको टिपर दुर्घटनामा कालीगण्डकी कोरिडोरमा कार्यरत ६ महिला र १३ पुरुष गरी १९ श्रमिकको मृत्यु भयो । तथापि निर्माण सुरक्षाप्रति राज्य संवेदनशील भएको देखिएको छैन । यस्ता घटना सामान्य बन्नु र मानिनु थप चिन्ताको विषय हो ।

४. पहिरो वा खाल्डोमा पुरिनु र करेन्ट लाग्नु : पर्याप्त सुरक्षाको व्यवस्था नगरेका कारण पहिरो वा माटोको ढिस्को खसेर पुरिनु वा खाल्डाहरूमा खस्नु, गहिरो इनारमा निसासिनु, करेन्ट लाग्नु पनि निर्माणसम्बद्ध दुर्घटनाका प्रमुख कारण हुन् ।
उदाहरणका लागि, २०७६ साउनमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बालाजु चोकमा दुई मजदुरको मृत्यु भयो । असोजमा मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत खण्डमा सडक विस्तारको काम गरिरहेका २३ वर्षीय सब–ओभरसियर कमल राईको सडकमाथिबाट खसेको ढिस्कोले पुर्नाले मृत्यु भयो । जाजरकोटमा निर्माणाधीन भवनका लागि खनेको खाल्डोमा डुबेर एक मजदुरले ज्यान गुमाए ।

५. व्यक्तिगत सुरक्षा उपकरणको उचित प्रयोग नगर्नु : निर्माण श्रमिकलाई मात्र होइन, निर्माणस्थलमा प्रवेश गर्ने जोकोहीलाई समेत व्यक्तिगत सुरक्षाका उपकरणहरू (पीपीई) को प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ । तर हामीकहाँ त्यस्ता पीपीईलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सकिएको छैन ।
कामको प्रकृति अनुसार आवश्यक हुने हार्ड ह्याट, पन्जा, जुत्ता, एप्रोन, चस्माजस्ता व्यक्तिगत सुरक्षाका उपकरणहरू कडाइका साथ प्रयोगमा ल्याउनु अति जरुरी छ । कतिपय श्रमिकले हार्ड ह्याटलाई पानी उभाउने भाँडोका रूपमा प्रयोग गर्ने गरेको समेत देखिन्छ । व्यक्तिगत सुरक्षाका उपकरण प्रयोगको सन्दर्भमा हाम्रा ढलान श्रमिकहरूको अवस्था ज्यादै दयनीय छ ।

सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सदस्य बनेको नेपालले कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ जारी गरेसँंगै श्रमिकहरूको अवस्थामा सुधार ल्याउनुपर्छ भन्नेमा राज्य सचेत भएको मान्नुपर्छ । वि.सं. २०२८ मा श्रम विभागको स्थापना भएको थियो भने, २०४६ को राजनीतिक परिवर्तनसंँगै श्रम ऐन, २०४८ जारी भएको हो र यसले निर्माण व्यवसायलाई विशेष प्रतिष्ठानको रूपमा सम्बोधन गर्न खोजेको थियो ।
यस पछि २०६४ मा जारी भएको सार्वजनिक खरिद नियमावलीले पनि लागत अनुमान तयार गर्दा व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा विचार गर्नुपर्ने र छुट्टै आइटम बनाई लागत अनुमानमा समावेश गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको भए पनि सार्वजनिक क्षेत्रकै निर्माण कार्यमा पनि खासै सुधार आउन सकेको छैन । निजी आवासीय घरहरूको निर्माणतर्फको स्थिति त भयावह नै छ ।
जलविद्युत् लगायत केही ठूला निर्माण कार्यमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको स्थितिमा ध्यान दिएको देख्न सकिए पनि समग्रमा स्थिति ठीक छैन । मजदुरहरूको स्वास्थ्य र सुरक्षाप्रति राज्य सचेत भएको ६० वर्ष पुगिसक्दा पनि निर्माण श्रमिकहरूको कार्यस्थलको सुरक्षाको अवस्थामा खासै सुधारको संकेत देखा नपर्नु ज्यादै दु:खद छ ।

२०७४ मा नयाँ श्रम ऐन जारी भएको छ, जसमा पनि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था हुनुका साथै निर्माण श्रमिक सम्बन्धी विशेष व्यवस्था भएको पाइन्छ । अब नियमका लागि नियम बनाउनेभन्दा पनि भएका नियम प्रभावकारी कार्यान्वयन गर्नेतर्फ प्रतिबद्धताको खाँचो देखिन्छ । कार्यस्थलमा कुनै पनि श्रमिकले दुर्घटनाका कारण अंगभंग हुनुपर्ने वा ज्यानै गुमाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ एउटा आन्दोलन नै आवश्यक भएको महसुस हुन्छ ।
प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १४:२३

प्रतिक्रिया दिनुहोस्