अन्नबालीको विकल्प खोज्दै हात्ती पीडित

meropati

धनगढी,३० मंसिर ।कञ्‍चनपुरको दक्षिणी क्षेत्रका स्थानीय अन्नबालीको विकल्प खोज्न थालेका छन् । भारतको दुधुवा नेशनलपार्क र शुक्लाफाँटा बन्यजन्तु आरक्षसँग सीमा जोडिएका स्थानीय हरेक वर्ष हात्तीले खन्नबाली सखाप पारिदिन थालेपछि त्यसको विकल्पको खोजीमा लागेका हुन् । अन्नबाली, धान, गहुँ, मकै, दलहन बाली, चना, मुसुरोलगायत बाली हात्तीले बर्षेनी सखाप पारिदिन थालेपछि उनीहरुले विकल्पमा नगदे बाली क्यामोमाइल र मेन्था खेती गर्न थालेका छन् ।

कञ्‍चनपुरको पुर्नवास नगरपालिका-११ अमरवस्तीमा रहेको अमर गोकुल सामुदायिक वनमा जडिबुटी प्रशोधन केन्द्र स्थापना भएपछि क्यामोमाइल र मेन्था खेतीमा लागेको किसानले बताए । प्रशोधन केन्द्र खोलिएपछि क्यामोमाइल र मेन्था खेतीबाट पनि अन्नबाली बराबरको नगद पाउन सकिने भएकाले किसान जंगलको आसपासमा यसको खेती गर्न थालेको स्थानीय कृषक भरतबहादुर चन्दले बताए । अन्नबाली लगाए हात्तीले नोक्सान गरिदिन्छ, उनले भने, ‘क्यामोमाइल र मेन्थाजस्ता बास्नादार जडिबुटी भने हात्तीले मुखमै राख्दैन।’



कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका, कष्णपुर नगरपालिकाको दक्षिणी क्षेत्र, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका धेरै वडाहरु शुक्लाफाँटा बन्यजन्तु आरक्ष र भारतको दुधवा नेशनल पार्कसँग जोडिएका छन्।

यी स्थानीय तहका अधिकांश गाउँमा हात्तीले बारम्बार दु:ख दिने गर्छ। हात्तीले बाली नाली नोक्सानी गर्न थालेपछि नगदे बालीतर्फ लागेको किसानले बताए। सो क्षेत्रमा खाद्यान्न बाली मात्र होइन जंगली हात्तीले मानवीय क्षति समेत गर्दै आएको छ। अन्न लगाएमा हात्तीले सखाप पारिदिन थालेपछि स्थानीय सामुदायिक वन र तराई भू-परिधि कार्यक्रमको सहयोगमा प्रशोधन केन्द्र खोलिएको हो।

प्रशोधन केन्द्र खोलिएपछि किसान सुरुमा ३ देखि ५ कठ्ठासम्म जडिबुटी खेती सुरु गर्ने गरेका छन् । ३ कठ्ठामा क्यामोमाइल खेती सुरु गरेको पुर्नवास-११ का किसान शेरबहादुर सिंहले बताए । ‘क्यामोमाइल लगाएपछि धान, गहुँ भन्दा दोब्बर फाइदा हुने रहेछ,’ उनले भने । ‘त्यसैले यस वर्षदेखि सुरु गरेको हो । एक किलो क्यामोमाइलको २ हजार ६ सय देखि ५ हजारसम्म मूल्य पर्ने गरेको छ।’

जंगली जनावरले क्यामोमाइल, मेन्थाजस्ता जडिबुटीहरु नखाने भएकाले पुर्नवास नगरपालिका मात्र ३३ घर परिवार यसको खेती गर्दै आएका छन् । क्यामोमाइल मंसिर महिनामा लगाएपछि फागुनमा तयार हुन्छ भने मेन्था चैतमा लगाएपछि असारमा काट्ने बेला हुन्छ ।

प्रशोधन केन्द्र खोलिएपछि क्यामोमाइल र मेन्था खेती गर्नेको संख्या बढेको जडिबुटी प्रशोधन समूहका अध्यक्ष मानबहादुर चौधरीले बताए । ‘कञ्चनपुरको लालझाडी, पुर्नवास र बेलौरी सबैभन्दा हात्ती पीडित क्षेत्रमा पर्दछ, उनले भने, ‘यी क्षेत्रमा अब जडिबुटीको विकल्प छैन्।’

घर आगँनमै क्यामामाइल र मेन्थाको प्रसोधन गरेर तेल निकाल्न थालिए पछि स्थानीय अन्नको विकल्पका रुपमा यसको खेती गर्न थालेका चौधरीले बताए । अघिल्लो वर्ष १० घरपरिवाले क्यामोमाइलको खेती गरेकोमा यस वर्ष ३३ घर परिवारले गरेको उनले बताए । जंगली जनावरले किसानको बारीमा लगाएको अन्नबाली नोक्सान गर्न थालेपछि प्रशोधन केन्द्र खोलिएको अमर गोकुल सामुदायिक वनका अध्यक्ष दत्तनाथ सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: