बुहारी नबन्दै ‘सासू’को त्रास!

meropati

भर्खर स्नातक सकाएकी छिमेकी बहिनी आगामी माघको अन्तिम साता  बुहारी बन्दै छिन्। उनको सानैदेखिको आदत आजप्रयन्त निरन्तर छ, रातभरि पढ्ने, बिहान अबेरसम्म सुत्ने, दिउँसो क्याम्पस जाने। बिहेको कुरा छिनेदेखि उनकी आमाको भने चैन हराएको छ, कुरा टुंगिएको भोलिपल्ट बिहानै  काकीले बहिनीलाई चाँडै उठाउने जुक्ति निकालिछन् र ठुलै स्वरमा कराइन रे , ‘ए छोरी उठ् !’ ए कान्छी छिटो उठ्, कस्तो कुम्भकर्ण जस्ती ? छिटो उठ् नत्र पानी खन्याउन पर्ला नि विस्तारामा …..। यी कुरा सपना जस्तै लागे पनि बहिनी अर्धचेतमै फेरि निद्रामै मस्त….

यति ठूलो डाँकोमा कराउँदा पनि छोरी नउठेपछि काकीको रिसको पारो सीमाभन्दा माथि नपुग्ने कुरै भएन। एकैछिनपछि काकी फेरि कराउँदै उसको विस्तारामा पुगिछन् , फतफताउँदै कोठाको ढोका ठूलै आवाजमा खोलेपछि भने बहिनीको निद्रा साँच्चिकै खुलेछ।



आँखा मिच्दै छोरी उठ्न खोज्दै थिइन् उता आमा भने एक्लै कराउन थालिन् रे, ‘हेर छोरी अहिले जे गर्छेस् नि बिहे गरेसी थाहा पाउलिस्, आमाले भन्थी ठीकै भनेकी रहिछ भन्लिस्, अहिले राम्रो अर्ती पनि तिमीहरूलाइ तीतो हुन्छ। आमाको घरजस्तो  लोग्नेको घर हुन्न बाबै। उस्तै सासू परे भने त यतिन्जेल सुतिरहँदा तेरो सातो लिन्छन्, छिमेकीसम्म कस्ती अल्छी बुहारी रहिछ भन्ने कुरा फैलिन्छ। घर गरेर खालिस् जस्तो पनि लाग्दैन, आमाले कस्तो संस्कार सिकाइछ भन्ने नपारेस बाबै , तँ अब बच्चा होइनस्, केही थाहा नपाएकी अबुझ पनि होइनस्।’

दुई चार अध्याय सकाएर काकी बहिनीसँग रिसाएर आफ्नो काममा गइछन्।

आमा जतिसुकै रिसाए पनि बहिनी भने आफ्नो  नियमित तालिका अनुसार  उठेर काममा लागिन्। आमाले सधैं आफ्नो पालाका कुरा गरेर, बिहेको कुरा टुंगिएको एक मिनेट भएको छैन होला यस्तो र उस्तो कुरा निकालेर अनावश्यक तनाव दिइरहेको कुरा बहिनीले बेलीविस्तार नै  सुनाइन्।

बिहे हुन २ महिना बाँकी छ, आमाका दुई हजार कुराले दिमाग भारी भइसक्यो आमाको सधैं एकैखाले प्रश्न हुन्छन् ममाथि, ‘सासु कस्ती पर्छिन? अलि कडा सासू परिन् भने तैले कसरी रिझाउन सक्लिस्? सहरमा बसे पनि चाडवाडमा गाउँमा जानुपर्छ, घरभित्रको काम कसरी गर्नेहोस? घरको दलान लिप्न पोत्न तँलाई आउँदैन, दुना टपरी गाँस्न आउँदैन, नाङ्लोमा चामल कसरी केलाउने, निफन्ने केही थाहा छैन। बुहारी भएपछि धेरै कुरा सोच्नुपर्छ, घरका आफन्त र पाहुनाहरूलाई खुवाइसकेपछि मात्रै खानुपर्छ, अहिले जस्तो कान्छी छोरी भएर कहाँ पुग्छ र ’ ?

आमा मात्रै होइन फुपु दिदी, काकीहरू पनि यस्तै कुरा सोधेर हैरान बनाउँछन्, तेरो ससुरा कस्तो पर्लान्, देवर, जेठाजुको बारेमा कसैले केही चाँसो राख्दैनन् तर सासूसँग किन यति त्रास छ?

‘जस्ती सासू परे पनि म आफ्नो व्यवहारले रिझाउँछु भएन?’  एकदिन बहिनीले आफन्तलाई मुखैभरिको जवाफ फर्काइछन् तै पनि आफन्तको मन शान्त भए पो? उल्टै जवाफ फर्काए रे, हेरौंला , हाम्ले कस्ता कस्ता सासू व्यहोर्‍यौं?’

मैले कतिपटक मेरा आफन्तलाई भने, ‘सासू पनि तपाई जस्तै कसैकी आमा हुन्, उनी पनि महिला हुन् अर्को ग्रहको प्राणी त पक्कै होइनन्, चिन्नु न जान्नुको मान्छेको बारेमा कति नकारात्मक धारणा? मेरा आमा, अन्य आफन्तको सोच देखेर दिक्क लाग्छ’ बहिनीले कुरैकुरामा दुखेसो पोखिन्।

केही दिन अगाडि काकीसँग भेट भयो, भेटमा अरु कुरा भन्दा पनि बहिनीकै चिन्ता बढी सुनाइन्।

काकीलाई ढाड्स दिँदै भने, ‘बहिनी स्नातक पढेकी छ, सरकारी जागिर खाने तयारीमा जुटेकी छ, सहरमै हुर्के पनि केही न केही त आमा, काकीहरूले गरेको देखेर पनि गर्न जानिहाल्छे नि सधैं कति कराउनुहुन्छ? आफूमाथि परेपछि जस्तोकाम पनि गर्न जानिन्छ, गर्भबाट कोही सिकेर आउँदैन नि’।

मेरो कुरामा सहमति जनाए पनि काकी सन्तुष्ट भइनन्, अगाडि थप्दै गइन्, ‘तैले घर गरेर खाइसकिस् र यस्ता कुरा गर्छेस् नि , सबैका सासू कहाँ तेरा जस्ता हुन्छन र? सासू रिझाउन सकिएन भने घर गरी खान भाँती पुगेन भनेर जाने हुन्छ’।

बहिनीले त सबै कुरा पहिले नै सुनाइसकेकी थिइन् तै पनि काकीलाई हुनेवाला ज्वाइँको बारेमा सोधें, सरकारी अधिकृत रहेछन् आफ्नै मामा ससुराले बिहेको कुरा चलाएका रे, तीन दाजुभाइ मध्येका माइला, एक दिदी र एक जना बहिनीसहितको परिवार।

आफन्तजति गाउँमा छन, काठमाडौंमा दाजु बहिनी र एउटी भान्जी बस्छन रे।

यहाँ बसुन्जेल त केही गाह्रो नहोला तर गाउँमा गएपछि कसरी घरधन्दा गर्ली भन्ने मात्र चिन्ता हो। काठमाडौंमा बिहे गरेर बेहुली भित्राउन गाउँकै घरमा लैजाने भनेका छन्।

गाउँमा आफन्तहरू जम्मा हुन्छन्, नयाँ बुहारीको उठाइ, बसाइ, खुवाइ, हिँडाइ , बोलाइ सबै कुराको मापदण्ड बनाएका हुन्छन्। मेरी छोरी सधैं लाडे पल्टिरही , उसलाई केही थाहा छैन कसरी गर्छे खै? यसकै चिन्ता छ। राम्रो भए आफ्नो छोराले ठीकै केटी रोजेछ भन्छन्, नराम्रो हुनासाथ आमा गुनका छोरी, आमाले केही सिकाएको भए पो गर्न जान्छन् भन्न बेर लाउँदैनन्। अहिले हाम्रा पालामा जस्तो छैन, मैले टपरी गाँस्न नजान्दा सासूले लोहोराले हातमा हानेको डाम अझै गएको छैन’ काकीले हात देखाउँदै भनिन्।

‘हाम्रा पालामा जस्तो कुटानी, पिसानीको सास्ती छैन, अहिले गोठभरि गाइभैंसी पाल्दैनन्, घाँस दाउराको चटारो पनि छैन। खेतीपाती उतिसाह्रो गर्दैनन् मेलापातको चटारो पनि छैन, चाडवाडमा गाउँमा गएको बेलामा आफन्तको अगाडि इज्जत राखिदिए हुन्थ्यो यति पिर छ।’

काकीलाई हुनेवाला ज्वाइँको बारेमा खासै चिन्ता छैन।

कुरैकुरामा सोधें, हुनेवाला ज्वाइँ कस्तो लाग्यो त काकी? कतिपटक भेटघाट भयो?’

काकीले उज्यालो मुख बनाइन्।

‘तीन चारपटक भेट भयो, बिहेको कुरा छिनेपछि भेट भएको छैन।  सरकारी जागिर खा’छन्, बहिनी पनि जागिर खाने तयारी गर्दैरैछन्, भान्जी स्कुल पढ्छिन रे। दाजु नपढेका, भाइ विदेशमा, घर व्यवहार सबै आफैंले हेर्दारहेछन्। बोलीवचन राम्रो छ, छोरीलाई पाल्छन् यत्तिका केटाले भनेर टुंगो गरियो।’

काकीलाई ज्वाइँको आदत कस्तो छ? अरु केटीसँग सम्बन्ध छ कि छैन? जागिरमा कुनै दाग लागेको छ कि छैन? बानी व्यहोरा कस्तो छ ? गाह्रोसाह्रो पर्दा ससुरालीको मान गर्छन कि गर्दैनन? आफ्नो छोरा छैनन् बुढेसकालमा छोराको दायित्व निर्वाह गर्लान कि नर्गलान ? यस्ता कुरामा कुनै चिन्ता छैन बस् सरकारी जागिरे छन्, छोरी पाल्छन् भन्नेचाहीँ ढुक्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: