भगवान बनाउने मान्छेको कथा

meropati

भगवानले मान्छेको रचना गर्‍यो हामीले यस्तै बुझ्यौं र बुझाउँदै आयौं । तर यो कथा भगवान बनाउने मान्छेहरुको हो ।एक हजार वटा हात, ११ वटा टाउको र दायाँ बायाँ दुई ताराहरुको तस्वीर । एकातिर भैषज्य बुद्धको आकृति त अर्काेतिर अमितावको ज्ञानको ज्योति बलिरहेको छ । साथमा भविष्यका बुद्धको पनि त्यस्तै सुन्दर चित्रण छ । यही एउटा तस्बिर भित्र लुकेको छ सम्पूर्ण बुद्धत्वको चक्र । यसैबाट सिक्न सकिन्छ बोधिसत्वको १० चरण । षडाक्षरी लोकेश्वरको ‘ओम मणि पद्मे हुँ’ को मन्त्रले पनि एउटा दर्शन जनाइरहेको छ । यसैमा लुकेको छ एउटा कलाकारको कला ।

एउटा कुशल कलाकारले आफ्नो कलालाई कसरी प्रस्तुत गर्नसक्छ ? भन्ने एउटा उदाहरण हो पाटनढोकामा रहेको सिमि्रक एटेलियर स्कूलका सञ्चालक लोक चित्रकारले बनाएको सहस्र भुज लोकेश्वरको चित्र । हामीहरु उनको स्कूलमा पुग्दा उनले सोही चित्रलाई अन्तिम रुप दिनको लागि तयारी गरिरहेका थिए । उनले त्यही चित्र तयार पार्नको लागि ९ महिना लगाए । यसमा कति श्रमको खर्च भयो त त्यसको कुनै हिसाब छैन ।



ज्ञानको एउटा तहमा पुगिसकेका उनलाई केवल गर्जाे टरे भयो । पैसाको लोभ मात्रै पनि छैन । व्यक्तिगत खर्चपनि धेरै नै लागेकै छ । तर, बजार उनको श्रम अनुसारको मूल्य दिन तयार छैन । उनको श्रमको सम्मान नभएको भएपनि आफ्नो परापूर्वकालदेखि चल्दै आएको मौलिक कला अर्काे पुस्तामा हस्तान्तरण गर्न पाएकोमा खुशी छन् चित्रकार ।

थान्का र पौभाबीचको फरक

सामान्यतया मानिसहरु थान्का र पौभालाई एउटै मान्ने गर्छन् । तर, चित्रकार यसमा ठूलो फरक रहेको बताउँछन् । हामीहरुको मौलिक र स्थानीय स्तरबाट नै राख्ने गरिएको चित्र पौभा हो भने गुम्बामा राख्नको लागि भिक्षुहरुले बनाउने चित्रकला थान्का हो ।

काठमाडौं उपत्यकामा पौभा र थान्काको प्रचलन धेरै पहिलेदेखि नै चल्दै आएको कुरा हो । थान्का विशेषगरी बोन धर्मकोलागि चर्चित छ भने पौभा चित्र काठमाडौं उपत्यकामा मानिने हिन्दु र बौद्ध धर्मका देवी देवताहरुको तस्बिर उतार्ने काममा चर्चित हुँदै आयो ।

थान्कामा केवल शैलीगत विशिष्टता धेरै हुने गर्छ भने पौभामा समग्र चित्रकलाको एउटा दार्शनिक पक्षको वर्णन चित्रबाट नै गरिएको हुन्छ । पौभाभित्र नै एउटा जीवनी समेटिन्छ । कसैको बंशबृक्ष होस् या त भगवानको तस्बिर । सबैको लागि समान छ पौभाको महत्व । यसैले अमूर्त ईश्वरलाई दृश्यमा ढाल्न सहयोग गर्‍यो । यसैबाट हामीले आँखामा भगवानको आकृति कोर्न सक्यौं । यसमा पहिलो त शिल्पको कुरा हो भने दोस्रो दर्शनको कुरा मुख्य रुपमा आउने गर्छ । पहिले पौभा चित्रहरु निश्चित घटनाको बारेमा जानकारी दिनको लागि लेख्ने गरिन्थ्यो ।  नेपालमा चित्रकलाको विकासको विषयमा कुरा गर्दा फाइयानले चौथो शताब्दीदेखि नै नेपालमा चित्रकलाको विकास भएको कुरालाई बताएका थिए । त्यसैले यसको इतिहास छोटो छैन ।

एउटै तस्वीरले बोलेको हजारौं शब्दको कथा

चित्रकारले बनाएको सहस्र भुज लोकेश्वरको एक हजार हात, ११ वटा टाउको लुकेको र दुई वटा ताराहरु देख्नको लागि सामान्य लाग्ने गर्छ । धेरैलाई त यो फोटो कसको हो ? भन्नेबारे पनि थाहा छैन । तर, यही तस्बिरको तीनवटा कुराले मात्रै पनि एउटा एउटा दर्शन लुकेको छ ।

एक जना लोकेश्वर थिए । उनले बौद्ध धर्ममा लागेर म बोधिसत्व बनेपछि सबैको हित गर्छु भन्ने संकल्प लिएर यो मार्गमा हिँडेकोमा यदि आफूले गर्ने काममा आफैंमाथि यदि कुनै समय शंकामात्रै उत्पन्न भयो भने पनि मेरो टाउको १० वटा बनोस् भनेर उनले संकल्प गरेका थिए । सोही तस्बिरमा तिनै लोकेश्वरको आधा कपाल तल र आधा माथि बनाइएको छ । त्यो कपालमध्ये तल रहेको कपालले मुक्ति पाउन बाँकी रहेका मानिसहरुको संकेत गरेको छ भने माथि भएकाहरुले उद्दार भइसकेकाहरुको विवरण जनाएको छ । यसरी उनले जतिधेरैलाई उद्दार गर्दै गए त्यो भन्दा धेरै मानिसहरु पापको घडामा डुबेर आउन थाले । सोही समयमा लोकेश्वरले कसरी यति धेरै मानिसको उद्दार गर्न सकिएला ? भन्ने शंका गरेकोले उनको टाउको १० वटा भएको भन्ने कथालाई जनाउनको लागि यस्तो बनाइएको हो ।

त्यस्तै, यो कल्पभरीमा कूल एक हजार वटा बुद्ध जन्मिन्छन् भन्ने बौद्ध ग्रन्थहरुमा उल्लेख छ । त्यसैको प्रतिकात्मक अर्थको रुपमा एक हजारवटा हात भएको लोकेश्वरको चित्र बनाइएको छ । पृथ्वीमा मानिसहरुकेा दुख देखेर लोकेश्वरको समेत आँखाबाट दुई थोपा आँशु आयो । आँखाबाट एउटा सेतो आँशु आयो । उनी श्वेत तारा भइन् । अर्की हरियो बनिन् उनी हरित तारा भइन् ।

भगवान बनाउनेहरुको नकोरिएको भाग्य

भगवान बनाउनेहरुको भाग्य कस्तो होला ? रातदिन मन्दिरमा पूजा गर्ने पुजारी होस् या त मूर्ति बनाउने मूर्तिकारदेखि चित्रमा भगवानको आकृति कोर्ने कलाकार समेत एउटा निस्काम कर्मका उदाहरणहरु हुन् । न त पुजारीले आफूले भने जस्तो भएन भनेर भगवानको सेवा गर्न छाड्न सक्छ । न त चित्रकारले चित्र र मूर्तिकारले मूर्तिको काम । केवल यो उनीहरुको काम हो । श्रद्धा छ भने त्यसैमा सन्तुष्टि छ, छैन त सन्तुष्टि पनि छैन ।

पाटनढोकाको बाहिरपट्टी नै एउटा सानो दुई तले घरको दोस्रो तल्लामा छ सिमि्रक एटेलियर स्कूल । यो कुनै शब्दको कखरा सिकाउने स्कूल होइन । बरु, रैथाने कलाको माध्यमबाट आफ्नो गुजारा चलाउन सिकाउने स्कूल हो त्यो । यो केवल स्कूल मात्रै पनि होइन, यो एउटा तस्बिरमा सिंगो दर्शन बोक्ने आकर्षक कला सिकाउने मन्दिर हो । यहीँबाट विश्वचर्चित पौभाहरुको कला कुँदिन्छन् । यसैले सिंगो ऐतिहासिक नेवारी संस्कृति सिकाउँछ । साथमा नेपालको मौलिकता जोगाउँदै आएको छ ।

त्यही स्कूलमा झण्डै आधा दर्जनको गुजारा चलाउने काम दिँदै आएका छन्, लोक चित्रकारले । उनको गुजारा पनि त्यही कलाको मन्दिरले चलाउन सिकाएको छ । उनी कलालाई भगवान मान्छन् । कला सिकाउने ठाउँलाई मन्दिर र विद्यार्थीलाई भक्त । कला नै उनको जीवनशैली बनेको छ । कलाले परिवार पालेको छ र परिवारले कलालाई । बस् यति नै पर्याप्त छ उनलाई आजभोलि ।

बदलिएको पौभा चित्र निर्माणको शैली

पहिले पहिले चित्रकार जातिले मात्रै यस्ता चित्रहरु बनाउने प्रचलन थियो । उनी त झनै जातैले पाएका चित्रकार नै परे । उनी आफ्नो जात अनुसारको पेशा चलाउनको लागि मात्रै यो पेशामा आएका भने होइनन् । अहिले केवल चित्रकार नामक एउटा जातिको परिधिमा मात्रै यो सीमित नभएकोमा उनी खुशी छन् ।

तर, अझैसम्म पनि औपचारिक शिक्षाको रुपमा यसको चर्चा धेरै नभएकोप्रति भने उनलाई दुख लाग्छ । उनलाई जीवन जिउने शैली पनि यही कलाले सिकायो । दुख पर्दा एक दुई पैसा दिएर सत् कर्ममा मन लगाउन पनि यसैले सिकायो । फगत उनको गुजारा चलाउने माध्यम बनेन कला । उनी यसमा चाहिने विधान, परम्परा, उद्देश्य र त्यसको फललाई नै मूल विषयबस्तु मानेर यसको व्यवहार गर्ने गर्छन् ।

पहिलेको त्यो पौभा र अहिलेको यो पौभा

कुरा धेरै पहिलेको हो । चित्रकारका बाबु बाजेको पालासम्म पौभा नित्तान्त धार्मिक कृयाकलापको लागि बनाइन्थ्यो । पूजाको लागि आवश्यक पर्ने देवी होस् या त अरु भगवानको तस्बिरहरु धेरै बनाइन्थे । त्यो बेला ‘गुथि गाना’ भन्ने थियो । त्यसैबाट जिविका चलाउन सक्ने अवस्था थियो । पछि त्यो प्रथा हरायो । योसँगै पेन्टिङ गर्ने मान्छे पनि कम हुँदै गए । पहिले तस्वीर बनाउनु भन्दा पहिले हस्त पूजा गर्ने र अभिषेक गर्ने गरिन्थ्यो । प्रायः तया काठको फ्रेममा सूतिको कपडामा यो बनाइन्छ । पहिलेकै कुरा गर्दा त कन्या केटीहरुले बुनेको सूतिको कपडामा नै यस्तो चित्र बनाउने गरिन्थ्यो । तर, अहिले त्यस्तो कपडा पाउन गाह्रो छ ।

पहिलेको पौभा केवल धार्मिक आवश्यकताको कारणले मात्रै छाप्ने गरिन्थ्यो । त्यसकारण माग कम थियो भने धर्मकै लागि पनि धेरै मानिसहरु आउने भएकोले यसमा पर्याप्त नाफा पनि हुन सक्ने अवस्था थिएन । तर, जतिबेला नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दै गयो । बिस्तारै पर्यटकीय रुपले यसको महत्व बढ्दै नगएको भए पौभा कलामा अहिलेको जति आकर्षण हुने थिएन होला । पर्यटकहरुको आगमन खुल्ला भएपछि सन् १९५१ देखि नै यसको विकास हुन थाल्यो । मानिसले धार्मिक रुपले मात्रै भन्दा पनि पर्यटकहरुलाई आकषिर्त गर्नको लागि पौभाको प्रयोग गर्न थाले । यसैले बदल्यो चित्रकारहरुको जीवनशैली ।

अहिलेसम्म आइपुग्दा यो पेशामा चित्रकारहरुको संख्या कम भएको चित्रकार बताउँछन् । गैर-चित्रकार कलाकारहरुको संलग्नता धेरै छ । पहिले पहिले बाबुबाट छोरालाई र गुरुबाट चेलालाई मात्रै सिकाउने परिपाटी थियो । अहिले यसको दायरा धेरै भइसकेको छ । धेरैलाई पौभा भन्ने कुरै थाहा थिएन । चित्रकार भन्छन् ‘पश्चिमी बस्तुस्थितिलाई त्यागेर यहीँको बस्तुस्थितिलाई हेर्नुपर्छ अनि देखिन्छ पौभाको वास्तविक महत्व । यसैले अन्तराष्टि्रय कलाको र्फममा पनि ठूलो महत्व राखेको छ ।’

अदृश्य दर्शनलाई मूर्त रुप दिनसक्ने क्षमता

दर्शनहरु सधैं अदृश्य हुन्छन् । त्यसलाई मूर्त रुप दिनसक्ने क्षमता कसैसँग छ भने त्यो एक कुशल चित्रकारसँग हुन्छ । करुणाको मूर्त रुप के हुन्छ ? मायाको मूर्त रुप के हुन्छ ? यी सबैको उत्तर अरुसँग पाउन सकिँदैन यो केवल एउटा कुशल कलाकारको कलामा मात्रै भेटिन्छ ।

सामान्यतया कुनैपनि देख्न नसक्ने कुरालाई महसुस गराउने र हेराईबाट नै अनुभूति सिर्जना गराउने क्षमता समेत केवल कलाले राख्छ । जस्तो कुनैपनि मानिसमा अरुप्रति गरिने करुणा हुन्छ । त्यो त अरुलाई देखाउन सकिँदैन । तर, त्यसैलाई तस्बिरमा ढाल्ने कला नै पौभा हो । पौभा केवल पुरानो तस्बिर सार्ने काम मात्रै होइन । त्यसमा आफ्नो विवेक प्रयोग गरेर नयाँ स्वरुप दिने काम पनि हो ।

‘पौभा हेरेर मात्रै पुग्दैन । पौभा बनाउने प्रक्रिया पनि बुझ्यो भने मात्रै त्यसले राम्रोसँग काम गर्न सकिन्छ ।’ चित्रकार भन्छन् ‘मेरो विचारमा एउटै पौभामा टाढाबाट हेर्दा आहा भन्ने सोचाई त्यसभित्रको दर्शन बुझ्न सक्ने स्वभावको बनाउन सक्ने क्षमताले नै एउटा कुशल कलाकारको परिभाषा दिने गर्छ । चित्रकार भन्छन् ‘अरुको लागि यो सामान्य आर्ट मात्रै हो । मेरोलागि यो पूरै जीवन हो ।’

के हो पौभा चित्र कोर्ने प्रक्रिया ?

हरेक कुराको आ-आफ्नै प्रक्रियाहरु हुन्छन् । पौभा बनाउने कलाकारहरुले सुरु गरेको काम पूरा गर्नको लागि धर्तीमातासँग स्वीकृति लिन क्यानभास तयार पार्छन् । त्यसपछि तयार पारिएको त्यो कपडामाथि ढुंगाका रंगहरुलाई कुटेर त्यसलाई छानेर घोल बनाउने गरिन्छ ।

पौभा बनाउनुपूर्व केको चित्र कुन् शैलीमा बनाउने ? भनेर स्पष्ट हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले त के विषयमा लेख्ने र कुन मुद्रा र आसनमा कुन भगवानको चित्र कोर्ने हो ? त्यसमा स्पष्ट हुनुपर्छ ।

आफैंले बनाउँदा प्रतिमा लक्षण विधानबारे स्पष्ट हुनुपर्छ । त्यसैको आधारमा रहेर पौभा चित्र बनाउने गरिन्छ । पूजा गर्नको लागि हो भने पूजा गर्न बनाउन लगाउनेको शैली अनुसार नै भगवानहरुको चित्र बनाउने गरिन्छ । अन्यथा आफूलाई आकर्षक लागेको शैलीमा यसको तयार पार्ने गरिन्छ । प्रतिमा लक्षण विधानलाई राम्रोसँग केलाएर त्यसलाई प्रस्तुत गर्ने गर्नुपर्छ ।

यो बनाउने बेलामा कुन भगवान या अरु कोही भए ऊ कस्तो प्रकारको हो । उसको मुद्रा कस्तो प्रकारको छ ? त्यसमा ध्यान दिनुपर्छ । किनभने उनीहरुको मुद्रा र उनीहरुको आसनको आधारमा नै उनीहरु कुन किसिमको देवी देवताहरु हुन् ? भन्ने यकीन हुन्छ ।

त्यसैले त्यसको लागि कलाकारहरुले मूलभूत रुपमा ४ कुरालाई ध्यान दिने गर्छन् । विधान, परम्परा, उद्देश्य र त्यसको फल । यसमा त्यसको विधान भनेको शैलीगत विधान, त्यसको सामग्री जस्ता विषयबस्तुहरु पर्ने गर्छ । त्यसको साथमा चित्र कसरी तयार पार्ने ? भन्ने कुरा नै यो विधान अन्तर्गत पर्दछ ।

पौभामा हरेक रेखाको पनि ठूलो महत्व हुन्छ । त्यसैले यसमा शैलीगत परम्परा र पूजाको परम्परा आवश्यक हुन्छ । यस्तो हरेक कर्ममा आफूले पुण्य पाइरहेको अनुभूति हुने भएकोले पनि यसलाई आफूले पूरै व्यवसायिक रुपमा नहेर्ने गरेको उनी बताउँछन् ।

त्यो पुण्यको फल आफूले मात्रै उपभोग गर्ने नभई त्यसको फल अरु सबै अनुप्राणीको लागि होस् भन्ने चाहिँ हुनुपर्छ ।’ चित्रकार भन्छन् । यो नेपाली कलाको विशेषता भनेको नै विभिन्न रंगका ढुंगाको प्रयोगबाट चित्र बनाउनु हो । जसले लामो समयसम्म चित्रको सौन्दर्यता जोगाइराख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: