राजनीति

पौडेल र सिटौला नआएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

काठमाडौं, २ पुस।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ।

बुधबार दिउँसो १ बजेलाई बोलाइएको बैठक आन्तरिक विवाद हल नभएका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हो।


advertisement

कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सहमति नजुटेपछि बैठक नै स्थगित गरिएको जानकारी दिए।

‘मिटिङ ४ गतेसम्मलाई स्थगित भयो, पौडेल समूहसँग कुरा मिलेन, तत्काल मिल्ने संभावना पनि देखिएन’, रिजालले नेपालखबरसँग भने।

पौडेल समूहले नयाँ–नयाँ माग अघि सारेपछि सहमति नभएको उनको भनाइ छ। ‘उहाँहरु कहिले के, कहिले के माग राखिरहनुभएको छ, अहिले फेरि नेविसंघ र तरुणदलको नेतृत्व मागिरहनुभएको छ’, उनले थपे।

तत्काल १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै पौडेल समूहले मंसिर २६ गतेदेखिको कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ।

पौडेल समूहलाई मनाउन सभापति शेरबहादुर देउवाले पटक–पटक गरेको प्रयास पनि सफल नभएपछि बुधबारको लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको नेता रिजालले जानकारी दिए।

बोहराटारमा पौडेल र सिटौला पक्षको छुट्टै भेला
यता केन्द्रय कार्यसमिति बैठक बहिष्कार गरेको पौडेल र सिटौला समूहको भने छुट्टै बैठक बसेको छ।

बुधबार दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै समयमा पौडेल निवास बोहराटारमा दुई पक्षको बैठक बसिरहेको छ।

भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता सहभागी भएको एक केन्द्रीय सदस्यले नेपालखबरलाई बताए।

मंगलबार बेलुका पौडेल समूहका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधिसहितको वार्ता भएपनि त्यसमा सहमति नजुटेपछि कांग्रेसको कार्यसमिति बैठक अनिश्चित बनेको थियो।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: