ज्यान मारेकाे मुद्दामा गाउँपालिका अध्यक्ष जेल चलान

meropati

बारा, ६ पाैषा । सवारी ज्यान मुद्दामा बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउतलाई जेल चलान गरिएको छ । डेढ दशक अघिको फैसलालाई कार्यान्वयन गर्दै बारा जिल्ला अदालतले आइतबार गाउँपालिका अध्यक्ष राउतलाई जेल पठाएको हो ।

२०६२ सालमा भएको सवारी ज्यान मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध २९ दिन कैद र दुई हजार जरिवाना फैसला गरेको थियो । फैसला अनुसार कैद भुक्तान नगरी बसेका राउतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर अदालतमा पेश गरेको थियो । अदालतले पुरानो फैसलालाई कार्यान्यवन गर्ने क्रममा राउतलाई कारागार चलान गर्न आदेश दिएको हो ।



आदेशसंगै प्रहरीले राउतलाई वीरगन्ज कारागार पठाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले दिनु भयो । प्रहरी उपरीक्षक खनालका अनुसार २०६२ सालमा राउतले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाइकलले बाराको छातापिपरामा ६५ वर्षीया हसियादेवि चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

चौधरीको मृत्यु भएपछि पीडित परिवारले राउतविरुद्ध अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते राउतविरुद्ध फैसला सुनाएको थियो । अदालतको फैसलापछि राउत कैद भुक्तान नगरी फरार रहेको देखिएकाले पक्राउ गरेर अदालतमा पेश गरेको प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।

अदालतबाट कैद फैसला सुनाइएका राउत २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । राउत नेपाल लोकतान्त्रित फोरमबाट उम्मेदवार बन्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: