बृहत यौनिकता शिक्षा किन ?

meropati

हाम्रो देशमा यौन र यौनिकताको सवालमा कुरा गर्न अझै पनि बर्जित छ, त्यसैले युवालाई यौनसम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चूनौतीपुर्ण छ। आफूलाई जतिसुकै यौनका विषयमा सिक्न र जान्न इच्छा भए पनि सामाजिक मनोविज्ञानका कारण उनीहरू यससम्बन्धी सूचना र ज्ञान प्राप्त गर्न हिचकिचाउँछन्। मानिसको यस्तो व्यवहारका कारणले शिक्षक तथा अभिभावकलाई बालबालिकासँग र बालबालिकालाई आफ्ना शिक्षक तथा अभिभावकसँग यौनका विषयमा खुलेर कुरा गर्न सहज छैन। समाजको सांस्कृतिक मूल्यमान्यता र धार्मिक आस्था र अभ्यासका कारणले गर्दा पनि मानिस यो विषय स्वीकार्न र छलफल गर्न अप्ठ्यारो मान्छन् ।

यौनिकता शिक्षा भनेको मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षको अध्ययन हो। यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउँछ। यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनोपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौती सामना गरिरहेका हुन्छन्। विविध जिज्ञासाउपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ। गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएका अध्ययनले बताएको छ। यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिन आवश्यक छ।



युनेस्कोका अनुसार ‘विश्वमा एचआईभीले प्रभाव पारिरहेको अवस्थामा बालबालिका तथा किशोरकिशोरीलाई आफ्ना यौनिक तथा सामाजिक सम्बन्धमा जिम्मेवारपूर्ण छनौट गर्न योग्य बनाउन यौन शिक्षासम्बन्धी मूल्यमान्यता, ज्ञान र सीप प्रदान गर्नु नै बृहत यौनिकता शिक्षाको आधारभूत लक्ष्य हो।’ आईपीपीएफको परिभाषा अनुसार, बृहत यौनिकता शिक्षाको अधिकारमुखी दृष्टिकोण भन्नाले ‘युवालाई व्यक्तिगत सम्बन्धमा, शारीरिक र संवेगात्मकरूपमा आफ्नो यौनिकातालाई निर्धारण गर्न तथा सुखमय बनाउन उनीहरूमा यौनसम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्नु हो।’

नेपालको सन्दर्भमा कक्षा ९ र १० मा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विद्यार्थीलाई अनिवार्य गरिएको विषय हो। यस विषयको पाठ्यपुस्तकमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई समावेश गरिएको भए पनि यौनिकतालाई प्रजनन स्वास्थ्य शिक्षाभित्र सीमित गरिएको छ। जसले गर्दा यौन शिक्षाले यौन स्वास्थ्यलाई पाठ्यपुस्तकमा जति समेटिनुपर्ने थियो, त्यो हुन सकेको छैन। नयाँ पाठ्यक्रममा यो विषयलाई खुम्च्याउने काम भएको छ। बृहत यौन शिक्षाका सबै तत्वलाई समावेश गरेको छैन। यसले एकातिर विद्यार्थी यस विषयमा पर्याप्त ज्ञान आर्जन गर्नबाट वञ्चित त हुने नै भए, साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई पनि सही तरिकाले परिभाषित गरिएको छैन। यौन शिक्षा र यौन स्वास्थ्यको विषय आफंैमा विस्तृत र व्यापक विषय हो। तर नयाँ पाठ्यक्रममा यसलाई पनि सीमित गरिएको छ। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका साथै यौन शिक्षाका मूलभूत विषयलाई पाठ्यक्रममा समावेश नगरिनुले राज्यको जिम्मेवार तहमा रहेका व्यक्तिको बुझाइको स्तरलाई प्रष्ट पार्छ। पाठ्यक्रमका विषयवस्तु सूचना र अधिकार भन्दा पनि स्वास्थ्यको वरिपरी बढी घुमेको पाइन्छ।

नेपालमा विभिन्न सामाजिक संघसंस्थाले गरेका कामका आधारमा नेपाल सरकारले पनि आईपीपीएफको ढाँचा अवलम्बन गर्न खोजेको देखिन्छ। विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा आईपीपीएफको ढाँचाअनुसार लैंगिकता, यौन तथा प्रजनन स्वास्थ्य, एचआईभी र एड्सका कुरा समावेश गरिएको छ, यद्यपि यो पाठ्यक्रमलाई बृहत यौन शिक्षा मान्न सकिन्न। यो पाठ्य पुस्तकले किशोरावस्था, यौनिकताको परिभाषा, यौन तथा प्रजनन स्वास्थ्यको अवधारणा र महत्व, महिला तथा पुरुषको प्रजनन अंग र प्रणाली, परिवार नियोजनका साधन र विधि, सुरक्षित गर्भपतन, यौन रोग, रजस्वला र किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा पनि उल्लेख गरिएको छ। जसबाट विद्यार्थीले यौन तथा प्रजनन स्वास्थ्य सेवाको बारेमा सूचना प्राप्त गर्छन्। यस पाठ्यक्रमले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा न्यूनतम सूचना त दिन्छ तर उपलब्ध सेवाको किसिम र सेवा पाइने स्थानका बारेमा सूचना दिँदैन। जसले गर्दा सरकारले स्थापना गरेका किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा केन्द्र तथा सुरक्षित गर्भपतन केन्द्रहरूको प्रयोग ओझेलमा परेको छ। सहमति वा स्वीकृतिसँग सम्बन्धित विषय वस्तु कहीं÷कतै समावेश गरिएको छैन।

बृहत यौनिकता शिक्षाले सन्तोषजनक यौन जीवनले सम्बन्धहरूलाई समेट्छ र साथसाथै विवाह गर्ने, आफ्नो साथी चुन्ने अधिकार र सहमतिका बारेमा शिक्षा दिन्छ। अर्को शब्दमा, ‘सुरक्षित’ व्यवहार समावेश छ तर अनावश्यक गर्भावस्था र यौन संक्रमण, जबर्जस्ती, दुरुपयोग र हिंसा रोकथाम गर्न सीमित छैन। तेस्रो लिंगी व्यक्तिको विवाहको सवालमा पनि पाठ्यक्रम मौन प्राय देखिन्छ। किशोरकिशोरीलाई भविष्यको योजना बनाउन पाठ्यक्रम असक्षम देखिन्छ।

पाठ्यक्रममा यौनिकतालाई मानव जीवन, लैंगिकता र विविधताको अधारभूत पक्ष मानेर समेटिनुपर्छ। बृहत यौनिकता शिक्षालाई जीवन उपयोगी सीपको आधारमा विकास गरिनुपर्छ जसले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई अभ्यासमा रुपान्तरण गरी सुरक्षित यौन तथा प्रजनन जीवनका लागि व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्न सकोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: