दुर्गा आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव मनाइयो

meropati

स्याङ्जा, १० पुस । दुर्गा आधारभूत विद्यालय कालिगण्डकी गाउँपालिका–४ मुड्कीना स्याङ्जाको ३१ औं वार्षिक उत्सव तथा ४० औं अभिभावक दिवश विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले गाउँपालिकाभित्र दुर्गा आधारभूत विद्यालय नमुना रहेको बताउनुभयो । उहाँले यहाँको विद्यार्थी संख्या र पढाइको गुणस्तरीयता राम्रो रहेको भन्दै विद्यालयको प्रशंसा समेत गर्नुभयो । विद्यालयको भौतिक विकास तथा शैक्षीक अवस्थालाई थप गुणस्तर बनाउनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभयो ।



कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले महिला शिक्षक बढी रहेको यस विद्यालयमा शैक्षीक गुणस्तर पनि राम्रो रहेको बताउनुभयो । महिलाले केहि गर्न सक्दैनन् भन्ने भ्रम रहेको कतिपय समाजमा यो विद्यालयको शैक्षीक अवस्था र व्यवस्थापकीय पक्षले राम्रो जवाफ दिएको उहाँले बताउनुभयो ।

कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चक्रपाणी पाण्डेले विद्यालयको आवश्यक संरचना निर्माणको लागि स्थानीय सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेकपा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष कृष्ण लामिछाने, नेपाल राष्ट्रिय शिक्षक महासंघ स्याङ्जाका अध्यक्ष पशुपति पाण्डे, विरेन्द्र माध्यमिक विद्यालय जैपतेका प्रधानाध्यापक टिबी राना, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, रुमटुरिड स्याङ्जाका प्रतिनिधि टेकबहादुर ढेंगा, विद्यालयका पूर्व विद्यार्थी नारायण पाण्डे लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमकला विश्वकर्माले करिब २९ लाख बराबरको वार्षिक आयव्याय प्रस्तुत गर्नुभएको थियो ।
शिक्षिका नमकला थापा, विद्यार्थी रोशनी राहादी र ममता विकले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक बुद्धिबल परियारले गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिक उत्सवको अवसरमा सदनात्मक हाजिरी जवाफ, लोकगित र दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । सोही अवसरमा चन्दादाता, जग्गादाता तथा अक्षयकोषदाता समेतलाई सम्मान गरिएको थियो । कार्यक्रमको बीचबिचमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

झण्डै एक सय विद्यार्थी रहेको यस विद्यालयमा कार्यालय सहयोगी सहित ८ जना कर्मचारी छन् । सात शिक्षक रहेको दुर्गा आधारभूत विद्यालयमा ६ जना महिला शिक्षक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: