युरुग्वे : करिब साढे चार टन कोकिन बरामद

meropati

युरुग्वेका अधिकारीहरूले झन्डै साढे चार टन लागुपदार्थ कोकिन बरामद गरेर तस्करहरूलाई त्यहाँको इतिहासमै सबभन्दा ठूलो धक्का पुर्‍याइदिएका छन् । मन्टेभिडिओको बन्दरगाहमा जलसेना तथा भन्सार अधिकारीहरूले गरेको संयुक्त कारबाहीमार्फत् उक्त कोकिन बरामद गरिएको थियो । बरामद गरिएको कोकिनको बजारमूल्य करिब एक अर्ब अमेरिकी डलर रहेको अधिकारीहरूले बताएका छन् ।

पीठोका कन्टेनरमा कोकिन



ती कोकिन अफ्रिकी देश टोगोको राजधानी लोममा लैजान ठिक्क पारिएका भटमासको पीठोका डब्बाहरूमा लुकाइएका थिए । ल्याटिन अमेरिकाबाट लागुपदार्थ अफ्रिका तथा युरोप ओसारपसार गर्न युरुग्वेलाई ‘ट्रान्जीट’ विन्दुको रूपमा उपयोग गर्ने क्रम बढ्दो छ । यो भन्दा अगाडि युरुग्वेमा सब भन्दा धेरै परिमाणमा कोकिन बरामद गरिएको घटना गत नोभेम्बरमा भएको थियो । त्यति खेर करिब तीन टन कोकिन बरामद गरिएको थियो ।

कसरी भेट्टियो ?

अहिले बरामद गरिएको ४.४ टन परिमाणको कोकिनबारे मन्टेभिडिओका अधिकारीहरूलाई त्यतिखेर कन्टेनरभित्रका सामग्रीबारे अमिल्दा कुरा भेटिएपछि शङ्का लागेको थियो । जलसेनाका प्रवक्ता डियगो पेरोनाले पत्रकारहरूलाई पहिलो कन्टेनरभित्र इँटा आकारका तीन हजारवटा कोकिनका टुक्रा भेटिएको र ती प्रत्येक इँटा १.१ किलोग्राम तौलको भएको बताए । ती कन्टेनर इटलीमा दर्ता गरिएको एउटा पानीजहाजमा ‘लोड’ गर्न लागिएका थिए । युरुग्वेका भन्सार निर्देशक जाइमे बोर्गियानीले कोकिन कहाँबाट आएको भन्ने प्रस्ट भइनसकेको बताएका छन् । तर तिनलाई मङ्गलवार मन्टेभिडिओभन्दा २९० किलोमिटर दक्षिणपश्चिममा रहेको सोरियानोस्थित एउटा ‘र्‍यान्च’ मा ट्रकहरूमा राखेर पठाइएको जानकारी प्राप्त भएको बताइएको छ ।

आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले ट्विटरमा उक्त स्थानमा प्रहरीले छापा मारेको र त्यसको मालिक र उनका छोरा पक्राउ परेको जनाएको छ । त्यहाँबाट नखुलाइएको परिमाणमा अन्य लागुपदार्थ पनि बरामद गरिएको जनाइएको छ । बोर्गियानीले भने, “महत्त्वपूर्ण कुरा के हो भने विश्वलाई अनि तस्करहरूलाई युरुग्वेको भन्सारसँग खेलाँची गर्न हुँदैन भन्ने सन्देश दिनु हो । हामीले देशलाई यस्ता चीजबाट मुक्त गराउन आवश्यक कदम चालेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *