अपराधमा विदेशीको संलग्नता बर्दै

meropati

काठमाडौँ, १२ पुस  पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् ।पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ । यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँंगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्री विदेशी नागरिकको क्रियाकलापमाथि निगरानी आवश्यक रहेको बताउनुभयो । कतिपयले टे«किङ (पदयात्रा) का नाममा निषेधित क्षेत्रको तस्बिर तथा भिडियो खिच्ने, जासुसी गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने र अश्लील क्रियाकलापलाई निरुत्साहित पार्न सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने उहाँको सुझाव छ ।



कारागार व्यवस्थापन विभागका अनुसार हाल सञ्चालनमा रहेका ७४ वटा कारागारमध्ये ३१ वटा कारागारमा एक हजार २६९ जना विदेशी नागरिक कैदीबन्दी छन् । अधिकांश कैदीबन्दी जघन्य अपराध अन्तर्गत ज्यान मार्ने उद्योग, अपहरण तथा हत्या, बलात्कार, लागूऔषध, मानव बेचविखन, दुर्लभ वन्यजन्तुको चोरी शिकारी, बालयौन दुराचार, सङ्गठित अपराधमा संलग्न छन् । सबै भन्दा बढी केन्द्रीय कारागार जगनाथदेवलमा २१४, ललितपुरको नख्खुस्थित कारागारमा ११३, पर्सामा २२५, झापामा १११, मकवानपुरको भीमफेदीमा ६३, झुम्का (सुनसरी) मा ८५ र मोरङमा ५९ जना विदेशी कैदीबन्दी रहेका छन् । त्यस्तै, बाँकेमा ५२, महोत्तरीमा ३१, काठमाडौँ डिल्ली बजारमा २६, रौतहटमा २२, कपिलवस्तुमा २४, कास्कीमा ३१, पाल्पामा १६, रुपन्देहीमा १६, कैलालीमा ३१, कञ्चनपुरमा ११, बर्दियामा १४, चितवनमा १९ र दाङमा ११ जना कैदीबन्दी छन् ।

नेपालका कारागारमा २२ हजार ७२९ पुरुष, एक हजार ४९६ महिला र ९४ जना आश्रित बालबालिका गरी २३ हजार ८९६ जना स्वदेशी र एक हजार ६९ जना विदेशी गरी जम्मा २५ हजार १३८ जना कैदीबन्दी रहेका छन् । विभागका अनुसार, विदेशी कैदीबन्दीहरूमा करिब ५० प्रतिशत भारतीय नागरिक रहेका छन् । ती कैदीबन्दीका लागि वार्षिक करिब ८० करोड रुपियाँ खर्च हुने गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा आउने पर्यटकमाथि उच्च निगरानी बढाउनुपर्ने भएको छ । यसका लागि अध्यागमन विभाग र प्रहरीको महìवपूर्ण भूमिका आवश्यक छ । अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले शङ्कास्पद गतिविधिमा संलग्न विदेशी नागरिकको विषयमा सूचना पाएसम्म प्रचलित कानुनअनुसार कारबाही गरी धेरैलाई फिर्ता गर्ने गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: