मुख्य समाचार

सन् २०१९ मा अमेरिकाको इतिहासमै सबै भन्दा बढी सामुहिक हत्याकाण्ड

वासिङ्टन,१३ पुस । सन् २०१९ मा अमेरिकाको इतिहासमै सबैभन्दा बढी सामुहिक हत्याकाण्डका घटनाहरु भएको एक अनुसन्धानले देखाएको छ । एसोसिएटेड प्रेस, युएसए टुडे र नर्थइस्टर्न युनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा अमेरिकामा यो वर्ष ४१ वटा घटनामा २ सय ११ जनाले ज्यान गुमाएका छन् । सामुहिक हत्याकाण्ड भनेर आरोपीबाहेक एउटै घटनामा चार वा सोभन्दा बढी व्यक्ति मारिएको घटनालाई लिइएको थियो । सन् २०१९ को मे महिनामा भर्जिनियाको तटमा भएको सामुहिक हत्याकाण्डमा १२ जनाले ज्यान गुमाएका थिए भने अगस्तमा एल पासोमा २२ जनाले ज्यान गुमाएका थिए ।

यस वर्ष भएका ४१ घटनामध्ये ३३ मा बन्दुकको प्रयोग भएको थियो । यस तथ्याङ्कमा सन् २००६ देखिको सामुहिक हत्याकाण्डका तथ्याङ्कहरु समावेश गरिएको छ । सन् २०१९ पछि सबै भन्दा बढी सामुहिक हत्याकाण्डका घटना सन् २००६ मा भएको थियो । त्यतिबेला ३८ वटा त्यस्ता घटनाहरु भएका थिए । सन् २०१९ मा सबैभन्दा धेरै घटनाहरु भए पनि सन् २०१७ मा सबैभन्दा बढी २२४ जनाले ज्यान गुमाएका थिए । सो वर्ष लास भेगासको महोत्सवमा भएको गोलीबारीको एउटै घटनामा ५९ जनाले ज्यान गुमाएका थिए । अनुसन्धानकर्ताहरुले यस्ता धेरै सामुहिक हत्याकाण्ड पारिवारिक र आपराधिक समूहबीच हुने गरेकाले चर्चा कम पाउने गरेको पनि बताएका छन् । अमेरिकामा हत्याको समग्र सङ्ख्यामा कमी आए पनि सामुहिक हत्याकाण्डको घटनामा भने बृद्धि भएको मिनिसोटास्थित मेट्रोपोलिटन स्टेट युनिभर्सिटीका प्राध्यापक तथा अपराध विज्ञ जेम्स डेन्सलीले बताए ।


advertisement

अमेरिकाको समाजमा ‘क्रोद्ध र नैराश्यता’ बढ्नु पनि यस्ता घटनाहरुमा बृद्धि हुनुको एक कारण रहेको प्राध्यापक डिन्सली बताउँछन् । ‘यो युग सामुहिक गोलीकाण्डको युग बनेको छ,’ उनले भने । अमेरिकामा गोलीकाण्डका घटनाहरुमा वृद्धि भए पनि अमेरिकी कानुननिर्माताहरुले हतियारको नियन्त्रणमा खासै चासो देखाएको पाइँदैन । डेयटन, ओहायो र एल पासोमा भएको गोलीकाण्डपछि गत अगस्तमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियारसम्बन्धि अधिकारी बारे सांसदहरुसँग गम्भीर छलफल भइरहेको बताएका थिए ।

 तर, यसको विरुद्धमा रहेको नेसनल राइफल एशोसिएसनका प्रमुख कार्यकारी वेयन लापेरीसँगको लामो फोन वार्तापछि ट्रम्प आफ्नो प्रतिबद्धताबाट पछि हटेका थिए । टेलिफोन वार्तापछि ट्रम्पले अमेरिकामा हतियार किन्न अघि किन्ने व्यक्तिबारे कडा अनुसन्धान हुने गरेको जिकिर गर्दै यस्ता सामुहिक हत्याकाण्ड ‘मानसिक समस्या’ भएको जिकिर गरेका थिए । यता, डेमोक्र्याटहरुले भने हतियार नियन्त्रणबारे कडा नियमहरु लागु गर्नुपर्ने माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: