सत्तापक्षकै सांसदको समर्थनमा प्रदेशसभा बैठक अवरुद्ध गरीयाे

meropati

जनकपुरधाम,१४ पुस । गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी माग्दै प्रदेश २ मा प्रदेशसभा बैठक अवरुद्ध गरिएको छ। डेढ महिनापछि सोमबार बसेको प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश गर्नु अगावै विशेष समय लिएर सत्तापक्षका सांसदको समर्थनमै विपक्षी दल नेकपा र काँग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।

 गत वर्षका योजनाहरूको भुक्तानी हालसम्म पनि नहुँदा प्रदेशकै बेइज्जती भइरहेको नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले आरोप लगाए । विशेष समयमा बोलेका नेकपा र काँग्रेसका सांसदले सरकारसँग यस विषयमा भरपर्दो जवाफ मागे । बैठकमा काँग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले भुक्तानी सन्दर्भमा सरकारका तर्फबाट भरपर्दो जवाफ नआएसम्म सदन अवरुद्ध रह्ने जानकारी गराए ।



यसै क्रममा सत्तासाझेदार राजपा नेपालका सांसद उपेन्द्र महतोले विपक्षी दलको अवरोधलाई समर्थन जनाउँदै सरकारसँग जवाफको माग गरे । विपक्षी दल र सत्तापक्षबाटै पनि अवरोध भएपछि २० मिनेट मात्र बसेर प्रदेशसभा बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार १ बजेका लागि निर्धारण गरिएको र त्यसमा मुख्यमन्त्री राउतले सरकारको तर्फबाट जवाफ दिने सभामुख सरोजकुमार यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: