चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

meropati

मोरङ,१४ पुस । मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर सोमबार बिहान एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका ४ का ५४ वर्षीय सोमबहादुर रोक्‍काको चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । रोक्‍काको शव उर्लाबारी १ स्थित बक्राहा खोलाको बगरमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको उनको भनाइ छ । भतिजो विनोद रोक्‍काले पारिवारिक सम्बन्ध बिग्रिएपछि सोमबहादुर तीन वर्षदेखि एक्लै उर्लाबारीमा बस्दै आएको जानकारी प्रहरीलाई गराएको राईले बताए ।

उनका छोरा, श्रीमतीलगायत परिवारका सदस्य भने काठमाडौंमा बस्दै आएका छन्।उनकाअनुसार परिवारका सदस्यले छोडेपछि घरमा नबस्ने र मदिरा सेवन गरेर डुली हिंड्ने गरेको पाइएको छ । अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तव्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यही मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी राईले दिए । उनकाअनुसार स्थानीय बासिन्दाले पनि खोलाको छेउमै मदिरा सेवन गरेर अचेत भई ढलेको अवस्थामा आइतबार साँझ रोक्कालाई देखेको जानकारी प्रहरीलाई दिएका छन्। ‘मदिरा सेवन गरेर मान्छे ढले पनि कसैले वास्ता गरेनछन् राईले भने ।



शरीर भरी लगाउने कपडा पनि राम्रो नभएका कारण रातभरको चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको अवस्थामा शव भेटियो ।’ शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको उनले बताए । प्रहरीकाअनुसार यस वर्ष चिसोका कारण मोरङमा मानवीय क्षति भएको यो नै पहिलो घटना हो । लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थी बढी प्रभावित बनेका छन् ।  विराटनगरको न्यूनतम तापक्रम सोमबार ५.६ डिग्री मापन गरिएको छ । यो तापक्रम यस वर्षकै सबै भन्दा कम रहेको हावापानी फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले जानकारी दिए । उनकाअनुसार दुई सातादेखि तापक्रम निरन्तर ओरालो झर्ने क्रममा छ ।

बाक्लो हुस्सु, शीतलहर तथा चिसो हावाका कारण अत्यधिक जाडो महसुस भइरहेको छ,’ देउजाले भने, ‘तराईमा शीतलहर केही दिन जारी रहने अनुमान छ ।’ तापक्रम अस्थिर रहेकै कारण चिसो अत्यधिक बढ्दै गएकाले जनजीवन कष्टकर बनिरहेको उनको भनाइ छ । बाक्लो हुस्सु र चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । सडकमा सवारी साधनको चाप पनि कम हुँदै गएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चिसोबाट हुने मानवीय क्षति रोक्न सक्रियता बढाइएको बताए ।

चिसोबाट जोगिन सर्वसाधारणलाई सचेत गराउने, वन कार्यालयबाट आगो ताप्न दाउरा सहुलियतमा उपलब्ध गराउने, जोखिममा रहेकाहरुलाई लक्षित गरेर न्याना कपडा वितरण गर्ने, चिसोबाट बच्न स्वास्थ्य सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्ने काम भइरहेको उनको भनाइ छ ।  बलबालिका, वृद्धवृद्धा, विपन्न र सुकुम्बासी बस्तीहरुमा स्थानीय तहसँग समन्वय गरेर जोखिम न्यूनीकरणको काम भइरहेको प्रजिअ भुजेलको भनाइ छ । उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिले ठाउँठाउँमा न्याना कपडा वितरण गरिएरहेका छन् ।

त्यस्तै मानवीय क्षति हुन नदिन चिसो प्रभावितलाई आवश्यक सहयोग गर्न सबै पक्षलाई आह्वान गरिसकिएको जानकारी उनले दिए । मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले नगर भित्रका विपन्न बस्तीमा बालबालिकालाई लक्षित गर्दै न्याना कपडा वितरण गर्ने काम भइरहेको बताए । उनकाअनुसार वनसँग समन्वय गर्दै नगर क्षेत्रका बासिन्दालाई आगो ताप्न दाउराको पनि व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: