दुई सैनिकबीच यौन ‘वर्जित’ अदालत सम्म

Avatar
१५ पुष २०७६, मंगलवार ०९:३१

काठमाडौ,१५ पुस । सर्वोच्च अदालतले सैन्य सेवा भित्र सहमतिमा पनि यौन सम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौन सम्पर्क यौन शोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्ता लगायतका सुविधा खोसिने भएको छ । दुई सैनिक बीच भएको यौन प्रकरणमा जंगी अड्डाले कारबाही गरे पछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो । फैसलाले यौन प्रकरणमा मुछिएका सैनिक विरुद्धको कारबाहीमा सेनाको इन्वायरी बोर्ड, सैनिक विशेष अदालत र समरी जनरल सैनिक अदालतको अधिकार क्षेत्रलाई थप बलियो पार्ने देखिएको छ ।

   

चण्डीदल गणका सहसेनानी भूपेन्द्र खड्का र एक महिला सैनिक कर्मचारी बीच अनुचित यौन सम्बन्धका कारण पद मुक्तिको कारबाही पछि विवाद सर्वोच्च पुगेको थियो । उनीहरूलाई जंगी अड्डाबाट बर्खास्तीको कारबाही पछि सैनिक अधिकृत खड्काले सहमतिमा यौन सम्पर्क भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए । यौन प्रकरणमा मुछिने सैनिक महिला वीरेन्द्र सैनिक अस्पतालमा तल्लो तहमा कार्यरत हुन् । मुलुकी ऐन, दण्ड सजायको १ नं. ले सहमतिमा भएको यौन सम्पर्कका विषयमा सजायको भागीदार नहुने व्यवस्था गरेको भनाइ खड्काको थियो । आफूलाई सुनवाइको मौका नदिई सजाय तोकिएकाले पद बहाली सहित भत्ता, सुविधा, पेन्सनलगायका सुविधा दिलाउन सर्वोच्च सँग माग थियो ।समरी सैनिक जनरल अदालतबाट २०६९ पुस ५ गते र सैनिक विशेष अदालतबाट २०७० असोज ४ गते खत्रीलाई पदमुक्त गर्ने फैसला भएको थियो ।

त्यस पछि उनी मुद्दा अवधि देखिकै तलब भत्ता पाउनु पर्ने र सहसेनानी पदमा बहाली हुनु पर्ने माग गर्दै सर्वोच्च पुगेका थिए । जंगी अड्डाले उक्त प्रकरणमा सर्वोच्चलाई लिखित जवाफ पठाउँदै सैनिक अदालत र सैनिक विशेष अदालतबाट गरिएका कारबाही उपर असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट सोमबार सार्वजनिक पूर्ण फैसलामा सैनिक संगठन एक कडा (फलामे) अनुशासनमा बस्नु पर्ने प्रकृतिको संगठन रहेको उल्लेख छ । आन्तरिक सुरक्षा कायम गर्न पनि सैनिकहरुलाई कडा अनुशासनमा राखिनु स्वाभाविकै हुन्छ । सैनिक संगठनलाई अनुशासनमा राख्ने उद्देश्यले नै सैनिक कसुर र सैनिक अनुशासन सम्बन्धी व्यवस्था गरिएको हुन्छ सर्वोच्चले भनेको छ, राज्यको सार्वभौम सत्ता र अखण्डता रक्षा गर्ने गहन जिम्मेवारी बोकेको राष्ट्रिय सेनामा यस प्रकारको सैनिक अनुशासन हुनुको विकल्प छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो ।

यस परिप्रेक्ष्यमा दुई सैनिक बीच भएको यौनजन्य क्रियाकलाप सैनिक आचरण अनुशासनकै विषय भित्र पर्ने देखिन्छ । माथिल्लो अधिकृतबाट तल्लो स्तरका सैनिक कर्मचारी दबाब र प्रभावमा यौन शोषणमा पर्न सक्ने आशंका समेत सर्वोच्चले उब्जाएको छ । आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले तल्लो तहको महिला सैनिक सँग यौन सम्बन्ध राख्‍ने सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने हुन्छ, सर्वोच्चले भनेको छ । सेनाले दुई सैनिक बीचको यौन सम्पर्कका बिषयमा इन्क्वायरी बोर्ड गठन मार्फत अनुसन्धान गरिएको थियो । सैनिक र प्रहरी अनुसन्धानले यौन सपर्कका कारण सैनिक महिलाले गर्भधारण गरेको प्रतिवेदन समेत दिएको थियो ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०९:३१

प्रतिक्रिया दिनुहोस्