नागरिकका मौलिक हक खोसीदै

meropati

बुटवल,१६ पुस । हाम्राे देशमा सरकारले एक पछि अर्काे गर्दै नागरिकका मौलिक हक खोस्न सुरु गरेको भन्दै विरोध चर्कन सुरु भएकाे छ । पुस १५ गते मंगलबार देखी समाजिक सञ्जालमा अभद्र टिप्पणी गरेमा  पाँच वर्ष जेल र १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने गरी सूचना प्रविधि विधेयक संसदीय समितिबाट बहुमतले पारित गराइएकाे थियो ।

त्यसको दोस्रो दिन आज फोनमा गरेका सबै कुरा सुन्न सक्ने प्रावधान सहितको विशेष सेवा विधेयक राष्ट्रिय सभामा पेश गरे पछी विरोध चर्कन थालेको छ। यो विधेयकले नागरिकको व्यक्तिगत जीवन र गोपनीयता भंग हुने भन्दै प्रमुख विपक्षी कांग्रेसले गम्भीर विमत्ति प्रकट गरेको छ ।



सामाजिक जीवनलाई अनशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक व्यवस्था गर्दै विधेयक ल्याइएको सरकारले बताएको छ । तर नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विशेष सेवा विधेयक २०७६ ले नागरिकको स्वतन्त्रता हनन् गर्ने र गोपनियताको हक भंग गर्ने भन्दै यसलाई ‘ज्यानमारा’ को संज्ञा दिनु भयो ।

उता मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले भने कडा सजायको कानुन बनाएर सामाजिक सञ्जाललाई मर्यादामा राख्न नसकिने बताएका छन् । मानवअधिकारकर्मी गौरी प्रधाननले सामाजिक सञ्जाल व्यवस्थित पार्न नीति आवश्यक भए पनि पाँच वर्ष जेल र १५ लाख जरिवाना उचित नहुने बताउनुभयो ।

फरक विचार र फरक दललाई ठाउँको ठाउँ समाप्त पार्ने नियतले यो विधेयक ल्याइएको भन्दै उहाँले यो विधेयक फरक विचार राख्ने सत्तारुढ दलका नेताहरुका लागि पनि खतरापूर्ण रहेको दाबी गर्नु भयो । यदि यो विधेयक लागु भए श्रीमान श्रीमतीसहित घरपरिवारले पनि एकअर्कासँग खुलेर कुरा गर्न नपाउने उहाँले जिकिर गर्नु भयो ।

उहाँले राज्यप्रति नागरिकमा छाएको उकुसमुकुस व्यक्त गर्न माध्यम बनेको सामाजिक सञ्जालको प्रयोगलाई कठोर पार्न खोजे त्यो सरकारकै लागि खतरनाक बन्न सक्ने टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: