समाज

ट्याक्टर मुनि उखु किसानकाे बास

सर्लाही,१६ पुस । मंगलबार मध्यरातमा हरिवन बजार सुतिसकेको थियो । तर, उद्योग परिसरमा चहल-पहल थियो । सर्लाही र आसपासका जिल्लाका किसानहरूले ट्याक्टरमा ल्याएको उखु रातारात कााटा गरेर उद्योगलाई बुझाउँदै थिए । कोही किसानहरू पालो पर्खेर चिसो रातमा ट्याक्टरमुनि उखुकै ओछ्यान लगाएर आराम गरिरहेका देखिन्थे भने कोही उखु बोक्ने ट्याक्टरमै निदाएका देखिन्थे । उनीहरू पातलो च्यादर ओढेर सुतेका देखिन्थे । कोही आफ्नै घरबाट ल्याएको परालको आगोमा शरीरलाई न्यानो बनाउने प्रयास गरिरहेका थिए । उखुको तौल गराउन घण्टौ लाइनमा बस्नु पर्दो रहेछ । उद्योग परिसरमा लाइन लागेका किसानहरू चिसो छल्न र रात कटाउन आगो ताप्दै गफमा व्यस्त देखिन्थे ।


advertisement

सर्लाहीको हरिवन बजार कटेर पूर्वतर्फ लाग्दै गर्दा दुर्गन्ध आउन थाल्छ । यो गन्ध ईन्दुशंकर चिनी उद्योगको हो । चिनी उद्योग चल्न थालेपछि पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्नेहरूको नाकले यो उद्योगको गन्ध थाहा पाइहाल्छ । राजमार्गबाट सय मिटर भित्र उद्योग छ । दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ् गर्ने क्षमताको उद्योग यो वर्ष पुस ११ गतेदेखि सञ्चालनमा आएको छ । मेसिनमा खराबी नआउँदा सिजनमा चाैबीसै घण्टा उद्योग चल्छ ।

लगानी नगदमा, बिक्री उधारोमा

उखु नगदेबालीका रुपमा चिनिन्छ । तर, उद्योगलाई उखु बुझाउँदा किसानले तत्कालै नगद पाउँदैनन् । यसका निम्ति कम्तीमा चार/पाँच महिना कुर्नैपर्ने हुन्छ । उद्योगले उखु क्रसिङ गरेर, चिनी बनाएर बिक्री गर्न थालेपछि मात्रै किसानको खातामा रकम जम्मा गर्न शुरु गर्छ । पुस माघमा उखु बुझाएका किसानले चैत वैशाखतिर भुक्तानी पाउँछन् ।समयमै बिक्री गर्न नसके उखु खेतमै सुक्ने डर किसानलाई हुन्छ । त्यसैले ऋण गरेरै भए पनि उखु काटेर मिलसम्म पुर्‍याउनुपर्ने बाध्यतामा आफूहरू रहेको किसानले सुनाए ।
चिसो मौसमको मध्यरातमा उखु लिएर मिलमा आएका बागमती नगरपालिका-४ का भुवन प्रसाईंले यस वर्ष ६ विगाहा जग्गामा उखु लगाएको सुनाए । उखु बेच्नका लागि कृषि विकास बैंकमा जग्गा धितो राखेर ३ लाख रुपैयाँ ऋण लिएको पनि उनले सुनाए ।

नगदेबाली हो, अरु खेतीमा जस्तो मेहनत पनि छैन भनेर उखु लगाउने गरेको छु’ प्रसाईं भने ‘तर मलखाद, मजदुरको पैसा नगदै तिर्नुपर्छ । उखु भने उधारोमा बिक्री गर्नुपर्छ । कम्तीमा ४/५ महिना लगानी फसाएर बैंकलाई ब्याज दिनुपर्छ ।’सरकारले दिने भनेको ६५ रुपैयाँ अनुदान अझै नपाएको उनको गुनासो छ । उद्योग परिसरमा फेला परेका अर्का किसान सर्लाहीकै बलरा नगरपालिका ३ का उमेश साह र बसबरियाका हुसनारायण राय पनि खेती गर्ने क्रममा शुरुदेखि नै हाताहाती लगानी गर्नुपर्ने बताउँछन् । उखु लगाउने समयदेखि नै गोडमेल, मल किन्न र मजदूरलाई नगदै रकम दिनुपरेको उनीहरूले सुनाए । शुरुमा ऋण गरेरै बाली लगाइए पनि उखु बेच्दा तत्कालै रकम पाउन नसकिएको उनीहरूको गुनासो छ । उमेश साहले मलखादको समस्या पनि धेरै झेल्नुपरेको बताए । उनले नेपालमा समयमा मल नपाउँदा भारतबाट झन्झट मोलेर ल्याउनुपर्ने बाध्यता सुनाए ।

चिनी मिलमा भेटिएका किसानहरूका अनुसार एक बिगाहा जग्गामा ४ सयदेखि ५ सय क्वीन्टलसम्म उखु उत्पादन हुन्छ । यसपालि सरकारले ५३६ रुपैयाँ ५६ पैसा प्रति क्वीन्टल मूल्य निर्धारण गरेको छ । इन्दुशंकर सुगर मिलले सरकारी अनुदान बाहेक ४७१ रुपैयाँ प्रतिक्वीन्टलमा चलान पूर्जी काटेको छ । सुनसरी, मोरङ, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारालगायत जिल्लामा गरी देशभर १४ वटा चिनी उद्योग सञ्चालनमा छन् । तराईका २२ जिल्लामध्ये १६ जिल्लामा यसको खेती हुने गरेको छ । उखुलाई रासायनिक परिवर्तन गरेर यसको रसबाट चिनी, मिश्री, सख्खर आदि गुलियो पदार्थको उत्पादन गर्ने गरिन्छ । तर, वर्षेनी गुलियो उखु बिक्रीका लागि किसानले खल्लो अनुभव बटुल्ने गरेका छन् ।

नजिकका चिनी उद्योगले पैसा नदिए पछि

सर्लाहीको गोडैता नगरपालिका- १० सिसौटियाका किसान राजकिशोर मण्डल मंगलबार मध्यराति चिसो छल्न उद्योग परिसरमा उखुका पात बालेर ताप्दै थिए । वरिपरि अन्य किसान पनि थिए । उनीहरूको भीडमा हामी अनलाइखबरकर्मी पनि मिसियौं । परिचय सकिएपछि सोध्यौं, ‘गोडैतादेखि किन यति टाढाको मिलमा उखु ल्याएको त ? नजिकै अरु मिल छैनन् र ? धनकौलमा दुई वर्षअघिकै ५० हजार जति र बगदहमा ३ लाख रुपैयाँ लिन बाँकी छ । चिनी बिकेपछि दिन्छु भनेको, अहिलेसम्म दिएका छैनन्म ण्डलले भने, ‘बाजेका पालादेखि उखु खेती गर्दै आएका छौ ।

गरुडा, रामनगर, धनकौल, बगदहका उद्योगमा उखु बेचिसकेका छौं । सबैले चिनी बिकेपछि पैसा दिन्छु भन्छन् । कत्तिले त नदिएरै झुलाउँछन् । इन्दुशंकरले ढिलै भए पनि भुक्तानी दिने गरेकाले ढुवानी खर्च र समय बढी लागे पनि यहीँ उखु ल्याएको मण्डलको भनाइ छ । ‘गाउँमा नजिकै उद्योग छ, त्यहाँ ४० रुपैयाँ प्रतिक्विन्टल खर्च गरेर १ घण्टामा उद्योगमा उखु पुर्‍याउन सकिन्छ । तर, पैसा नदिँदा त्यहाँ उखु दिएर के गर्ने ? मण्डलले अनलाइनखबरसँग भने, ‘त्यसैले ८० रुपैयाँ प्रतिक्वीन्टल ढुवानी खर्च गरेर ४ घण्टा समय लागे पनि यहीँ ल्याइयो । रासस

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: