प्रदेश २ : भ्रमण वर्षमा पर्यटकलाइ निशुल्क उपचार गरीने घोषणा

meropati

जनकपुरधाम, १७ पुस ।  प्रदेश २ मा भ्रमण वर्ष २०२० को आरम्भ भव्यताका साथ गरिएको छ । जानकी मन्दिरमा बेलुन उडाएर दिपावली मनाउँदै भ्रमण वर्षको सुरुवात गरिएको हो । यस अघि काठमाडौंबाट जनकपुर आएका पाहुनालाई जनकपुर विमानस्थलमा फूलको माला लगाउँदै स्वागत गरिएको थियो ।

भ्रमण वर्षको पहिलो दिन जनकपुर आएका पाहुनालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश २ का सचिव डाक्टर प्रेम नारायण कंडेलले स्वागत गरे । भ्रमण वर्ष प्रदेश २ समन्वय समितिले जनकपुरको दुधमती पोखरी किनारमा वृक्षारोपण गर्दै पाहुनालाई स्वागत गरेको छ ।प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको प्रदेश समन्वय समितिका संयोजक मनीष झाले बताए ।



पर्यटकको निशुल्क उपचारको घोषणा

वीरगन्जमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकहरु बिरामी परे निशुल्क औषधी उपचार गरिदिने घोषणा गरेको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी पर्यटकहरु कुनै कारणले बिरामी परे उनीहरुको निशुल्क औषधी उपचार गरिने जानकारी गराएको हो । अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्रदेश २ मा पनि सफल पार्न अस्पतालले यो वर्षमा घुम्न आउने पर्यटकको निशुल्क उपचार गरिदिने योजना ल्याएको जानकारी गराए ।

भ्रमण वर्ष २०२० भरी पर्यटक भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकको आकस्मिक उपचार खर्च सबै निशुल्क गरिने जानकारी दिँदै डाक्टर अन्सारीले भने ,‘ पहिलो कुरा त हामी कहाँ आउने पाहुना सकेसम्म बिरामी नै नहोऊन् भन्ने कामना गर्छौँ , यदि अचानक बिरामी भइहालेमा अस्पतालले उपचार खर्च सबै निशुल्क गरिदिन्छ । घुम्न आउने विदेशी पर्यटकको निशुल्क उपचार गरिदिने अस्पतालको यो योजनाले भ्रमण वर्षको प्रवर्धनमा थोरै भए पनि योगदान पुर्‍याउने विश्वास आफुले लिएको अध्यक्ष अन्सारीले बताए ।

सिरहामा पर्यटकलाई स्वागत

भ्रमण वर्ष २०२० को पहिलो दिनमा सिरहाका भारतीय सीमाहरुमा पर्यटकलाई स्वागत गरिएको छ । उनीहरुलाई माला र खादासहित स्वागत गरिएको हो । माडर नाकामा भ्रमण वर्ष २०२० का सिरहा जिल्ला समन्वय समितिको संयोजक अशोक अमात्य, बरियारपट्टी नाकामा भ्रमण वर्ष प्रदेश २ का सदस्य मागैन कामैत र अर्का सदस्य राकेश गुप्ता रोशनले ठाडीमा नाकामा भारतीय पर्यटकलाई स्वागत गरेका थिए ।

भ्रमणमा आउनेलाई यहाँका पर्यटकीय स्थलबारे पनि जानकारी गराइएको जिल्ला संयोजक अमात्यले जानकारी गराए । उद्घाटनको एकदिन अघि मंगलबार लहान नगरपालिकामा दिपावली मनाइएको थियो । पर्यटकलाई प्रत्येक शुक्रबार होटलमा भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिइने योजना बनाएको अमात्यले जानकारी दिए ।

पाहुँनाका लागि लोक नृत्य

भ्रमण वर्ष २०२० अवसरमा बुधबार बिहान महोत्तरीको बर्दिबासमा प्रभात फेरी निकालियो । बिहान १० बजे भ्रमण वर्ष २०२० को जिल्ला समन्वय समिति महोत्तरी सहितका सरोकारवलाले भारतबाट नेपाल आउने पर्यकटहरुलाई सीमा नाका भिठ्ठामोडमा स्वागत सम्मान गरेका थिए ।

महोत्तरी आएका पर्यटकहरुलाई होटल पुगेपछि पाहुनाको रुपमा फूलमाला, अविर, खादा लगाएर भित्र्याइएको थियो । साँझ भ्रमण वर्षको खुशियालीमा बर्दिबास चोकमा मैनबत्ति प्रज्वलन गरी दिपावली मनाइएको होटल तथा पर्यटन व्यवसायी प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए । साँझ होटलमा आएका पर्यटकहरु बर्दिबास सेवा समितिको हलमा मैथिली लोक नाच झिझियाँ नाच सहितको साँस्कृतिक कार्यक्रममा पर्यटकहरु रमाएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: