थारु बस्तीमा माघीको रौनक

meropati

बाँके ,पुस २९ ।“माघी लइली सिखार खेली
सखिय हो, माघकी पिली गुडी जाँड…!” 

पश्चिम क्षेत्रका थारु समुदायको महत्त्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरुको घरआँगन तथा गाउँबस्तीमा छाएको छ । वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघीले छपक्कै छोपेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङलगायत २४ जिल्लामा थारुहरुको घर-आँगनमा यतिबेला ‘माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…!’भन्ने गीत सबैको मुखमा झुन्डिएको छ । यो गीत थारू फिल्म कमैयाको हो । यो थारु लोकभाका पनि हो । माघी पर्वमा विशेषगरी पाहुनाले खाने मदिरा र बंगुरको मासु हो । जति मीठो बनायो, उति पाहुना खुसी हुन्छन् । माघीमा बंगुरको मासु, दारु, तरुल, ढिक्री, घुंगी, गन्जी (सखरखण्ड) थारु समुदायको विशेष परिकार हो । माघीमा रक्सी नखाए देउता रिसाउने कथन छ । बच्चादेखि बूढाबुढीले समेत चाख्नैपर्ने थारु अगुवाको भनाइ छ ।



विधिवत् रुपमा पुस २९ बाटै सुरु हुने यो पर्वको तयारी थारु बस्तीमा सुरु भइसकेको छ । माघी तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन् ।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् । माघे संक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । माघीको अवसरमा विवाहीत छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसारलगायत खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

थारू समुदायमा यो पर्वमा विशेष गरी अनदी चामलको भात, रोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गँगटालगायत परिकारलाई महत्त्व दिने गर्छन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघभर चल्ने भए पनि पछिल्लो समय भने एक-दुई दिनमा सीमित हुन थालेको छ ।

कामको सिलसिलामा युवाहरुले गाउँ छाड्नुपर्ने बाध्यताका कारण यो पर्व दुईचार दिनमै सीमित हुने गरेको बताइएको छ । थारु समुदायमा माघी पर्व र नयाँ वर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भएदेखि १०-१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदर्शनी गर्ने परम्पराभन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ । मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । यस वर्ष पनि बर्दियाका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव र रमाइलो मेला आयोजना गरिएका छन् । मेलामा युवाको आकर्षण समेत राम्रो देखिन्छ ।

नयाँ वर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोस्रो दिन अर्थात् माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा र गुरुवा भनिन्छ । उनीहरुले गाउँको रक्षा गर्ने, अफ्ठ्यारो परिस्थितिमा उचित निर्णय दिने, न्याय दिनेलगायत काम गर्छन् । भलमन्सालाई नेतृत्वका रुपमा लिइन्छ भने गुरुवालाई पुजारीका रुपमा लिइन्छ । यति मात्र होइन, राजनीतिमा पनि उनीहरुको महत्त्वपूर्ण भूमिका हुन्छ । निर्वाचनका क्रममा थारु समुदायका भलमन्सा र गुरुवाहरुले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सबै दलले गुरुवा र भलमन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र संवर्द्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे सङ्क्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनीय विषय छ । थारुहरुले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलोपटक होइन । थारुहरुको मौलिक शब्दका गाउँका नाम परिवर्तन गरिने पुरानै परिपाटी छ । जस्तो थारुगाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनुजस्ता थुप्रै उदाहरण छन् । त्यस्तै थारुहरुको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो ।

त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । थारुका ठेट र मौलिक शब्द परिवर्तित हुँदै जानु थारु भाषामाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारुका पहिचानसँग जोडिएका विषय हुन् । यी शब्दसँग थारुको इतिहास जोडिएको छ । थारु मात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्त्व, आफ्नै पहिचान र इतिहास हुन्छ । कसैको पनि पहिचान र इतिहास मेटाउनभन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: