स्वास्थ्य

चीनमा कोरोना भाइरसको जोखिम बढ्दै, भयावह बन्दै भाइरस

काठमाडौं, ६ माघ । चीनमा केही दिनअघि देखिएको नयाँ भाइरस भयावह बन्दै गएको छ । सोमबार मात्रै बेइजिङले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएसँगै यो भयावहतर्फ उन्मुख देखिएको हो ।

वुहान सहरमा मात्रै देखिएको कोरोनाभाइरस संक्रमण राजधानी बेइजिङसम्म पुगेको छ। चीनमा लुनार नयाँ वर्ष आउँदै छ र यहीबीचमा चिनियाँ नागरिक एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने गर्छन्। यस्तोबेला नयाँ भाइरसको संक्रमण दिन दुईगुणा रात चौगुणा बढेपछि बेइजिङले यसबारे मुख खोलेको छ।


advertisement

भाइरल निमोनिया उत्पत्ति भएको ठानिएको वुहानका स्वास्थ्य अधिकारीहरुले थप १ सय ३६ जना नयाँ संक्रमित भेटिएको बताएका छन्। पछिल्लो तथ्यांकसहित कोरोनाभाइरसबाट वुहानमा मात्रै १ सय ९८ जना संक्रमित भेटिएको पुष्टि भएको छ भने ‘सार्स’ प्रकृतिको नयाँ भाइरसबाट आइतार थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।

नयाँ भाइरस अन्य सहरमा पनि पुगेको छ। बेइजिङमा दुई र दक्षिणी सहर सेन्झेनमा एक नयाँ कोरोनाभाइरस संक्रमित फेला परेको ती सहरका सम्बन्धित स्वास्थ्य आयोगहरुले सोमबार बताएका छन्। संक्रमित तीनै जना वुहान सहरबाट फर्किएका थिए।

चीनमा नयाँ भाइरस देखिएसँगै विश्वका अन्य देशले पनि सतर्कता अपनाएको समाचार बाहिरिएका छन्।

चिनियाँ नयाँ वर्ष नजिकिँदै गरेको र यो समयमा अधिकतम चिनियाँ पर्यटक घुम्न जाने भएकाले ती देशहरु सचेत भएका हुन्। जापान र थाइल्यान्डका अधिकारीहरुले कम्तीमा तीन जनामा नयाँ भाइरसको संक्रमण पाइएको बताइसकेका छन्। तीनै जना संक्रमित भर्खरै चिनियाँ सहर वुहानबाट फर्किएका थिए।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो देशमा कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएको सोमबार जनाएको छ। वुहानबाट सोलस्थित इन्चेन विमानस्थल आइपुगेकी एक ३५ वर्षीया चिनियाँ महिलालाई परीक्षण गर्दा सो भाइरसबाट संक्रमित पाइएको उसले बताएको छ। ती महिलालाई सोलबाट पश्चिममा रहेको इन्चेन सहर स्थित राज्य सञ्चालित अस्पतालमा अलग्गै राखेर निगरानी गरिएको रोग नियन्त्रण तथा रोकथामसम्बन्धी कोरियाली केन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नयाँ निमोनिया भाइरसको प्रकोप फैलन सक्ने भन्दै एसियाका कम्तीमा आधा दर्जन राष्ट्र र तीन अमेरिकी विमानस्थलले मध्ये चीनबाट आउने यात्रुलाई विमानस्थलमै ‘स्क्रिनिङ’ गर्न थालिसकेका छन्।

चीनका अन्य सहरमा पनि यात्रुहरुमाथि परीक्षण सुरु गरिसकिएको छ। अनलाइनमा राखिएको भिडियोमा प्रतिरक्षात्मक पहिरन लगाएका स्वास्थ्यकर्मीहरुले वुहानबाट मकाउ आएका विमानका यात्रुलाई एकएक गर्दै चेकिङ गरिरहेको देखिएको छ। मकाउ स्वास्थ्य ब्युरोमा कार्यरत याङ थर भएका एक मानिसले दक्षिणी चिनियाँ क्षेत्रमा यस्तो खालको परीक्षण भइरहेको फोनमार्फत पुष्टि गरेका छन्।

कोरोनाभाइरसबाट सुरुमा संक्रमित व्यक्ति वुहानस्थित ‘सीफुड’ पाइने बजारसँग सम्बन्धित रहेको पाइएको थियो। वुहानका ‘सीफुड’ पाइने बजारलाई सम्बन्धित निकायले हाल अनुसन्धान पनि गरिरहेका छन्।

नयाँ भाइरस संक्रमित मान्छेबाट अन्य मान्छेमा भने सरेको पाइएको छैन। वुहानको म्युनिसिपल हेल्थ कमिसनका अनुसार यो भाइरस मान्छेबाट मान्छेमा सजिलै सर्दैन। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार वर्तमान अवस्थालाई लिएर विज्ञहरुले नजिकबाट काम गरिरहेका छन् र उनीहरुका अनुसार ‘यो भाइरस रोकथाम गर्न सकिने र नियन्त्रण गर्न मिल्ने प्रकृतिको छ।’

‘यद्यपि नयाँ प्रकारको कोरोनाभाइरसको स्रोत के हो भन्नेबारे अझै पत्ता नलागिसकेकाले कसरी यो सर्‍यो भन्नेबारे हामीले पूर्ण रूपमा बुझिसकेका छैनौं र भाइरसको स्वरुप परिवर्तन भइरहेको बारे अझै नजिकबाट नियाल्न जरुरी छ,’ सो आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

कोरोनाभाइरस साधारण रुघाखोकीदेखि सार्ससम्म वा ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ को कारण बन्न सक्छ। सर्वप्रथम दक्षिणी चीनमा सन् २००२ मा देखिएको सार्स दुई दर्जनबढी देशमा फैलिएको थियो, जसका कारण कम्तीमा ८ सयको मृत्यु भएको थियो। चीन सरकारले सुरुमा सार्स महामारीलाई लुकाउन खोजेको थियो तर उच्च तहका फिजिसियनले यसलाई सार्वजनिक गरिदिएका थिए। ‘सार्सका सुरुका दिनमा प्रतिवेदन ढिला प्रकाशित गरिएको थियो र लुकाइएको थियो,’ ग्लोबल टाइम्सको सम्पादकीयमा भनिएको छ, ‘त्यस्तो काम चीनमा अब कहिल्यै हुनुहुँदैन।’ ‘सन् २००३ देखि हामीले औषधि, सामाजिक मामिला व्यवस्थापन र सार्वजनिक विचारमा ठूलो उपलब्धी हासिल गरिसकेका छौं,’ सम्पादकीयमा भनिएको छ।

‘वर्तमान अवस्थालाई समाधान गर्न चीनले उच्चतम प्रयास गरिरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुहाङले नयाँ भाइरसको संक्रमणको विषयमा सोमबार बताएका छन्।

सरकारले विश्व स्वास्थ्य संगठन, सम्बन्धित देशहरु र क्षेत्रलाई यसबारे जानकारी गराएको छ र नजिकको सम्बन्ध कायम गरिरहेको छ,’ गेङले बताएका छन्। उनका अनुसार वुहानले पनि सहर छोड्ने मानिसको संख्यालाई नियन्त्रण गर्न उपायहरु अवलम्बन गरेको छ।

‘वर्तमान अवस्था सिर्जना गर्ने भाइरस यसअघि पत्ता लागेकाभन्दा फरक हुन्,’ चिनियाँ वैज्ञानिकहरुले यसै महिनाको सुरुवातमा भनेको थिए। यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सोमबार नयाँ कोरोनाभाइरससँग लड्न अत्यन्तै आवश्यक भइसकेको बताएका छन्। ‘वुहानलगायतका अन्य सहरमा देखिएको नयाँ कोरोनाभाइरस निमोनियालाई गम्भीरताका साथ लिनुपर्छ,’ राज्य सञ्चालित सिसिटिभीले सीलाई उद्धृत गर्दै जनाएको छ, ‘पार्टी, सरकार र सम्बन्धित निकायले जनताको स्वास्थ्य र जीवनलाई पहिलो प्राथमिकता दिनुपर्छ।’

नयाँ कोरोनाभाइरसको सुरुवाती लक्षण:

ज्वरो आउनु, खोकी लाग्नु, छाती गह्रुंगो हुनु र सास फेर्न गाह्रो हुनु,चीनमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल विबोमा मानिसले नयाँ भाइरसबाट बच्ने उपाय पोस्ट गरेका छन्। जसमा, मास्क लगाउन र हात धुन भनिएका पोस्ट धेरै छन्। सीसीटीभीले पनि यसबाट बच्ने उपायबारे उल्लेख गरेको छ। जसमा, न्यानोसँग बस्ने, शारीरिक गतिविधि बढाउने, नरम खाना खाने र भीडभाडयुक्त ठाउँमा नजाने।
@kantipur

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: