नेपालीलाई कोरोना संक्रमणको आशंकाः सबै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

meropati

काठमाडौं, १२ माघ । चीनबाट फर्किएका थप दुई नेपालीलाई कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार ग्रान्डी अस्पतालबाट शुक्रबार (माघ १०) रिफर भएर आएका २८ वर्षीय पुरुष र शनिवार चीनको कार्यक्रममा सहभागी भएर आएकी ४८ वर्षीया महिला अस्पतालको ‘आइसोलेसन वार्ड’मा भर्ना गरेर राखिएको छ । उनीहरु दुबै जनामा कोरोना भाइरसका लक्षण ज्वरो आउने, रुघाखोकी र श्‍वासप्रश्‍वासमा समस्या देखिएको स्रोतले बाह्रखरीलाई बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले दुवैजना चीनबाट आएका कारण कोरोनाको भाइरसको भएको हुनसक्‍ने आशंकामा राखिएको बताए । प्रवक्ता श्रेष्ठले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ । सबै परीक्षण नेपालमै भएको छ ।” उनीहरुमा केही नदेखिएको दाबी प्रवक्ता श्रेष्ठले गरे । तर, दुवैजनाको स्वास्थ्य परीक्षण गर्दा कोइराना भाइरसको संक्रमण नदेखिएको भए पनि थप परीक्षणका लागि र्‍यालको नमुना हङकङ पठाइएको अस्पताल स्रोतको दाबी छ ।



यात्रुहरुको जाँचका लागि मन्त्रालयले विमानस्थलमा ‘थर्मल स्क्यानर’सहित आठजना चिकित्सक र स्वास्थयकर्मीसहितको ‘हेल्थ डेक्स’ सञ्‍चालनमा आएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी, गत पुषअन्तिम साता चीनमा अध्ययन गरेर फर्किएका एक ३५ वर्षीय नेपाली विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टी भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ‘हेल्थ डेस्क’ले कोरोनाको शंकास्पद भन्दै उनलाई थप उपचारका लागि टेकु रिफर गरेको थियो । टेकुमा सबै स्वास्थ्य चेकजाँच गर्दा कुनै समस्या नदेखिए पनि केही समस्या छ कि भनेर उनको र्‍यालको नमुना हङकङ पठाइएको थियो । तर, संक्रमित व्यक्ति भने माघ ३ गते नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए  ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेब पाण्डेले विश्व स्वास्थ्य संगठनका मापदण्ड अनुसार अस्पतालको ‘आइसोलेसन वार्ड’ नरहेको बताए । “ती पुरुषमा कोरोना भाइरसको लक्षण देखिन छोडेको थियो । तर केही दिन अझै बस्‍नुस् भन्दा मलाई डिस्चार्ज गरिदिनु भनेर जिद्दी गरेपछि हामीले डिस्चार्ज गरेका हौं, ती संक्रमित व्यक्ति अहिले पनि अस्पतालको निगरानीमा छन्,” उनले भने ।

नेपालमा नोबेल कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढ्दै गएको तर सरकारले यसका लागि प्रभावकारी उपायको अवलम्बन गर्न नसकेको स्वास्थ्य विज्ञहरु बताउँछन् । “नोबेल कोरोना भाइरसका बिरामीलाई आइसोलेसन वार्डमा भर्ना गरेर राख्नुपर्ने हुन्छ । तर सरकारसँग विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको आसोलेसन वार्ड नै छैन्”,मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने ।

कोरोना भाइरस हाल १२ देशमा फैलिएको छ । कोरोना भाइरस श्‍वासप्रश्‍वासको माध्यमबाट सर्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

अस्पताल तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले केन्द्रीय अस्पतालहरुहरुलाई तयारी अवस्थामा रहन  निर्देशन दिएको बताए । “वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामति अस्पताल-सिभिल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताललगायतलाई तयारी अवस्था रहन निर्देशन दिएका छौ,” उनले भने, “मन्त्रालयले शनिबार र आइतबार राखेको अस्पतालसँगको छलफलमा अस्पतालहरुलाई तयारी र अवस्थाबारे तीन दिनभित्र लिखित प्रतिवेदन बुझाउनसमेत  निर्देशन दिइएको छ ।”

एक साताभित्र नेपालमा नै कोरोना भाइरसको नमुना परीक्षण

करिब एक साताभित्रमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यसको परीक्षण गर्ने व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा शंकास्पद देखिएका बिरामीको भाइरस परीक्षणका लागि हङकङ पठाउने गरेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नयाँ कोरोना भाइरसको परीक्षण गर्ने ‘रिएजेन्ट केमिकल’ ल्याउने तयारी भइरहेको र एक साताभित्रै भारतबाट आइसक्ने बताए ।

“शंकास्पद देखिएका बिरामीको भाइरस परीक्षणका लागि हङकङ पठाउँदा करिब १० दिन लाग्‍ने समस्या थियो । त्यो अब एक साताभित्रमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यसको परीक्षण गर्ने व्यवस्था मिलाइने छ,” उनले भने ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले मेसिन भए पनि परीक्षण गर्ने ‘रिएजेन्ट केमिकल’ नभएकोले टेकुमा अहिलेसम्म नयाँ कोरोना भाइरसको परीक्षण गर्न नसकेको बताइन् ।

डिसेम्बर ३१ मा पहिलो पटक नयाँ कोरोना भाइरस देखिएको चीनमा सो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५६नाघेको छ भने दुई हजार बढी संक्रमित छन् । अहिले वुहान प्रान्तमा आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

अमेरिका, फ्रान्सलगायतका मुलुकहरुले चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई फिर्ता बोलाउने पहल गरेको छ । त्यहाँ थुप्रै नेपाली विद्यार्थीहरु पनि छन् । उनीहरुलाई फिर्ता ल्याउने विषयमा भने सरकारले कुनै पहल गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: