नेविसङ्घकाे तदर्थ समितिमा आउने पदाधिकारी यी हुन्ः नाम सहित

meropati

काठमाडौँ, १३ माघ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)ले ११ महिना १५ दिनपछि नयाँ नेतृत्व पाउने भएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरुबीचको सहमतिअनुसार नयाँ कमिटी ल्याउन लागिएको हो । नेवि सङ्घको तदर्थ समिति १२७ सदस्यीय बन्ने सहमती शुक्रबार मात्रै बनिसकेको थियो ।



जसमा सभापति देउवा पक्षबाट सभापतिसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एउटा कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् । यता कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् ।

नेवि सङ्घका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ । आज अपराह्न नेविसङ्घको तदर्थ समितिको घोषणा गर्न लागिएको हो ।

नेवि सङ्घको नेतृत्व सम्हाल्ने तयारीमा रहेका राजीव ढुङ्गानाका अनुसार नेविसङ्घले पूर्ण कमिटी पाउने केही दिन लाग्ने छ । आज सभापति र महामन्त्रीसहितको कमिटी मात्र आउने छ ।

देउवा पक्षबाट सभापतिमा ढुङ्गाना, महामन्त्रीमा शुभराम बस्नेत, मनोज वैद्य र महेश्वरी कुँवरले नेवि सङ्घमा जिम्मेवारी पाउँदै छन् ।

ढुङ्गाना र वैद्य सभापति देउवाको रोजाइका व्यक्ति हुन् भने बस्नेत महामन्त्री पूर्णबहादुर खड्का र कुँवर देउवा पत्नी आरजु राणाकी ।

देउवा पक्षमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यको भने टुङ्गो लागेको छैन । यता वरिष्ठ नेता पौडेल पक्षले पनि महामन्त्रीको टुङ्गो लगाएको छ ।

वरिष्ठ नेता पौडेलले दीपक भट्टराई, पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रकाश राना मगर र महामन्त्री शशांक कोइरालाले उर्मिला थपलियालाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

उपाध्यक्ष र सहमहामन्त्रीमा रघु कार्की, जेनुका राना मगर, ममता महतो, हरिहर शर्मा, सोपाम बोहोरा, दीपक भण्डारी, आरसी भट्टराई, गोकुल सापकोटा, विश्व लामा, नितिकेन्द्र श्रेष्ठ र सुनिल शाहको नाम चर्चामा छ । कसलाई कुन जिम्मेवारी दिन भन्ने पौडेल पक्षले कुनै टुङ्गो लगाउन सकेको छैन ।

यता सिटौला पक्ष भने महामन्त्रीमा बलदेव तिमल्सिना र मुक्ति पौडेलको नाम टुङ्ग्याएको छ ।

जसमा तिमल्सिना गगन थापा र पौडेललाई प्रदीप पौडेलले सिफासिर गरेको बुझिएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको कुनै टुङ्गो लागेको छैन । साथै सिटौला समूहमा पूर्वमहामन्त्री कुन्दनराज काफ्ले टोलीलाई मनाउन निकै सकस परेको छ । काफ्ले टोली आमरण अनशनको तयारीमा जुटेको छ ।

४१ दिनदेखि पार्टी कार्यालय सानेपामा रिले अनशनमा रहेको सो समूहले विधानविपरीत तदर्थ समिति ल्याउन लागिको भन्दै रिले अनशनलाई आमरण अनशनमा रूपान्तरण गर्न लागेको हो । नेवि सङ्घको विधानमा ३२ वर्ष उमेर हदको व्यवस्था गरिएको छ ।

अनशनकारीलाई मनाउन सिटौला समूहले हिजो दिनभर प्रयास गरेका थियो । गगन, प्रदीप कुन्दनबीचको छलफलमा सहमति हुन सकेन ।

अनशनकारीलाई अनशन स्थगित गर्न वरिष्ठ नेता पौडेल, सिटौला र महामन्त्री खड्काले पनि आग्रह गरिरहेको बुझिएको छ । तर उनीहरु आमरण अनशनको तयारीमा पुगेका छन् ।

यता, ढुङ्गानाले नेताहरुसँग छलफल भइरहेको भन्दै समावेशी ढङ्गले कमिटी ल्याउने तयारी भइहरको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: